नेपाल पत्रकार महासंघले तेस्रो चरणका सडक संर्घषका कार्यक्रम स्थगित गरेको छ।
सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसम्बन्धी विषय महासंघसँग छलफल गरी अघि बढाउने सत्तारूढ पार्टी(नेकपा)को संसदीय दलकै तर्फबाट लिखित प्रतिवद्धता आएपछि महासंघले तत्कालका लागि संघर्षका कार्यक्रम स्थगित गरेको हो।
मंगलबार दिउँसो नेकपा संसदीय दलको कार्यालयमा उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्मा, कानुनमन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभा सांसद योगेश भट्टराईलगायतले मिडियासँग सम्बन्धित विवादित विषयमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव तयार पारी महासंघले उठाउँदै आएको मिडिया काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्ड-जरिवानालगायतका सरोकारहरूलाई सम्बोधन गर्ने तथा सञ्चारसम्बन्धी अन्य विधेयकहरूमा पनि छलफल गरिने बताइएको छ।
संघीय संसद्को राष्ट्रियसभामा वैशाख २७ गते सरकारले मिडिया काउन्सिल विधेयकसहित सञ्चारसम्बन्धी विधेयक दर्ता गरेको थियो।
सो विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ।
साथै सो विधेयकविरूद्ध महासंघले दबाबमूलक आन्दोलन कार्यक्रम गर्दै आएको छ।