काठमाडौंबाट निर्वाचित सांसद गगन थापाले विगतमा भएका गल्ती सच्याउँदै टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने अभियानमा आफ्नो ऐक्यबद्धता जनाएका छन्।
थापाले शुक्रबार फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिँदै नागरिक तहबाट सुरू ‘मुक्त टुँडिखेल’, अर्थात् 'अकुपाई टुँडिखेल' अभियानमा सहभागी हुन चाहेको बताएका हुन्। शनिबार बिहान ८ बजे टुँडिखेल गएर यो अभियानमा सहभागी हुने उनले जानकारी गराएका छन्।
‘सांस्कृतिक सहर काठमाडौंवासी भएकामा गौरव गरिरहँदा यहाँको अस्तव्यस्त अवस्थाले भने हामीलाई गिज्याइरहेको छ। यसको मुख्य कारण विकासको सन्दर्भमा हाम्रो गलत सोच र गलत काम नै हो। आधुनिक विकासका नाममा काठमाडौंसँग जे थियो, त्यसलाई हामीले खोस्यौं। बनाउने नाममा काठमाडौंलाई भत्कायौं,’ थापाले भनेका छन्, ‘अब यसलाई बदल्नुछ।’
‘काठमाडौंमा गाडी हिँड्ने सडक बनाउनुभन्दा पहिला मान्छे हिँड्ने सडकपेटी बनाउनुछ। साइकलको सहरका रूपमा काठमाडौंको परिचय स्थापित गर्नुछ। काठमाडौंलाई हेर्न मिल्ने, घुम्न मिल्ने सहर बनाउनुछ। सास फेर्न मिल्ने सहर बनाउनुछ। बस्न मिल्ने सहर बनाउनुछ,’ उनले भने।
यस निम्ति काठमाडौंका खुला स्थललाई खुलै छाड्नुपर्ने र हिजो भरिएका तथा खोसिएका स्थान खाली गराउनुपर्ने उनले बताए। टुँडिखेल मुक्त गर्ने अभियानलाई पनि आफूले यसैगरी बुझेको उनले उल्लेख गरे।
‘मैले यसलाई हिजोका गल्ती सच्याउने संकल्पका रूपमा बुझेको छु। काठमाडौंलाई बस्न योग्य बनाउने अभियानमा एउटा इँटा थप्ने प्रयत्नका रूपमा बुझेको छु,’ उनले भने, ‘तपाईं पनि टुँडिखेलमा जम्मा हुनुस् र हामी सबै मिलेर हिजो गरेका गल्ती सच्याउँदै टुँडिखेल मुक्त गराउने अभियानमा सहभागी हौं।’