नेकपा नेता भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनदेखि राष्ट्रपतिलाई राजनीति र मन्त्री चयनमा सहभागी गराइएको भन्दै असन्तुष्टि पोखेका छन्। नवनियुक्त मन्त्रीलाई ट्वीटरमा बधाइ भन्दै उनले विभिन्न चार वटा सवाल उठाएर असन्तुष्टि सार्वजनिक गरेका हुन्।
उनले संवैधानिक राष्ट्रपतिलाई विवादमा ल्याउने काम गरेको भन्दै इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर भएको उल्लेख गरेका छन्। ‘संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष) राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरेको?,’ उनले प्रश्न गरेका छन्।
यो पनि पढ्नुस् :
यस्तै, नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुने गरेर संविधान निर्माणमा अवरोध गर्ने र नेकपाको उछितो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन, कानुन मन्त्री बनाइएको आरोप उनले लगाएका छन्। ‘यस्ता मन्त्रालय उनीहरूलाई सुम्पिनुपर्ने के बाध्यता आइलाग्यो?,’ उनले प्रश्न गरेका छन्।
रावलले विगतमा कम्युनिस्ट पार्टीविरूद्ध क्रियाशील तथा धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई मन्त्री बनाउनुको औचित्य के हो भनी सोधेका छन्। उनले संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो? भन्दै पार्टी नेतृत्व र प्रधानमन्त्रीसँग असन्तुष्टि देखाएका छन्।
रावलले नाम उल्लेख नगरी हृदयेश त्रिपाठी, रामेश्वर राय र मोती दुगडलाई मन्त्री बनाइएकोमा असहमति राखेका छन्।
यो पनि पढ्नुस् :