नेपाल विद्यार्थी संघले कोहलपुर घटनाको छानबिन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
कोहलपुरमा ट्रकको ठक्करले विद्यार्थी प्रकृति चन्द गम्भीर घाइते भएको र घटनापछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरी घाइते बनाएको घटनाको छानबिन गर्न माग गर्दै सोमबार नेविसंघले पुत्ला जलाएका हुन्।
आइतबार ट्रकले ठक्कर दिँदा चन्दको दुवै खुट्टा काट्नुपरेको थियो। अरू धेरै विद्यार्थी घटनामा घाइते छन्। शान्ति सुरक्षामा सरकार चुकेको र स्कुले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द लाठी र रबरका गोली हानेको भन्दै छानबिन गर्न नेविसंघले माग गरेको हो।
नेविसंघले सोमबार भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ आरआरका सचिव अनुराग शाहले जानकारी दिए।