स्थानीय प्रशासनले सिन्धुपाल्चोकको बाह्रबिसे बजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आइतबार बिहान एक आदेश जारी गर्दै हुलदंगा र अशान्ति हुन सक्ने देखिएकाले बाह्रबिसे बजारबाट ३ सय मिटर पूर्व, पश्चिमतर्फ भोटेकोसी खोला (पुल राम्चे) र दक्षिणतर्फ सुनकोसी चोक र उत्तरतर्फ इलाका प्रहरी कार्यालय बाह्रबिसे नगरपालिका ४ सम्म निषेधित क्षेत्र तोकेकी हुन्।
यसअघि माघ ३ गते नगरपालिकाले बाह्रबिसे -४ स्थित बजारमा सडक अतिक्रमित गरी निर्माण गरिएका घर टहराहरू भत्काएको थियो।
त्यसको विरोधमा स्थानीय शनिबार नाराजुलस गर्दै नगरपालिका कार्यालय गएका थिए। उनीहरूले कार्यालयमा रहेका केही गमलासमेत फुटाइदिएको प्रशासनले जनाएको छ।
‘हुलदंगा र अशान्ति हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम आइतबारबाट बिहान ८ देखि साँझ ५ बजेसम्म अर्को व्यवस्था नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला जम्मा हुन नपाउने गरी यो आदेश जारी भएको छ,’ आदेशमा भनिएको छ।