बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ।
नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बनाउने निर्णय गरेको हो।
बैठकले विकासनिर्माणका सामग्रीको खरीदबिक्री सामाजिक दूरी कायम गरी खुला गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेकका फेन्सी, कपडा, स्टेशनरी र विद्युतीय सामग्रीको खरीदबिक्री बिहान १० बजेसम्म खोल्ने बताइएको छ।
त्यस्तै नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता र मिस्त्रीलाई साइकल र मोटरसाइकलमा हिँड्न दिने व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए।
उनका अनुसार हरेक पसलमा हात धुने व्यवस्था, स्यानिटाइजर, सामाजिक दूरी रेखासहित घेरा बनाई अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रालगायत कार्य भने पूर्ण बन्द गरेको सो बैठकले नगरपालिकामा सञ्चालित ब्युटीपार्लर, सैलुन, होटल, रेष्टुँरा, जिमखाना र क्लब खोल्न नपाइने निर्णय गरेको छ । सामूहिक हाट र सडक व्यापार जस्ता भीड हुने स्थल बन्द गर्ने नगरपालिकाले जनाएको छ।
बैठकले नगरमा स्थायी वा अस्थायी बसोबास गर्ने र विदेशमा अध्ययन, रोजगार तथा अन्य कामले रहेका व्यक्तिबारे सही विवरण बुझाउन र नगरपालिकाले तयार गरेको डिजिटल फाराम भर्न सम्बन्धित परिवारमा आग्रह गरेको छ ।