प्रहरीको कडा पहराबीच आज नेकपा (एमाले) ले संविधान दिवस मनायो।
एमालेका निम्ति यो संविधान दिवस बिझाउने प्रकृतिको किन पनि रह्यो भने गत २४ गतेको विध्वंशबाट खरानी बनेको पार्टी कार्यालको परिसरमा उसले संविधान दिवस मनाएको थियो।
पार्टी कार्यालय मात्रै होइन, आफ्नै श्रीसम्पत्तिसमेत खरानी बनाइएका एमालेका नेता–कार्यकर्ता मलिन अनुहार लिएर संविधान दिवस मनाउन सरिक थिए।
पार्टी आन्दोलनको कठिन मोडमा उभिएका एमालेजन संविधान दिवस मनाइरहेको मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली खोजिरहेका थिए।
‘पार्टी अध्यक्ष ओलीकै उपस्थितिमा संविधान दिवस मनाउन पाएको भए नेता–कार्यकर्ता उत्साहित हुन्थे, त्यसले देशव्यापी एउटा सन्देश पनि जान्थ्यो, तर त्यस्तो हुन पाएन,’ एमालेका एक पोलिटब्युरो सदस्यले भने।
एमालेले शुक्रबार पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा संविधान दिवस मनायो। कार्यक्रमको मुख्य वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भए। नेता–कार्यकर्ताको ध्यान भने पार्टी कार्यालयको भग्न अनुहारमै थियो।
प्राङ्गणमा संविधान दिवस चलिरहँदा कार्यकर्ताहरू भने भदौ २४ गते प्रदर्शनकारीले आगो झोसेर खण्डहर बनाएका भवनमा ओहोरदोहोर गरिरहेका थिए। ललितपुरस्थित च्यासलमा रहेका एमालेले प्रयोग गरेका सबै भवन खण्डहर छन्।
यो तुलसीलाल स्मृति प्रतिष्ठानको भवन हो। २०७२ वैशाख १२ गतेको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय क्षतिग्रस्त तुल्याएपछि एमालेले कार्यालय भाडामा लिँदै ठाउँ सर्दै बसिरहेको छ। केही समय धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर बस्यो। केही समय थापागाउँ हाइटमा रहेको व्यापारीको घर भाडामा लिएर पनि बस्यो। त्यसपछि एमाले च्यासल सरेको हो।
आगजनीबाट एमालेको पार्टी कार्यालय खरानीको थुप्रोमा परिणत भएको छ। त्यही थुप्रो नजिकै एमालेले पाल टाँगेर संविधान दिवस मनाएको हो।
संविधान दिवसको पूर्वसन्ध्यामा ओली नेपाली सेनाको ब्यारेकबाट फर्किएका थिए। बालकोटमा एउटै कम्पाउन्डभित्र रहेको दुईवटै घरमा आगजनी गरिएपछि ओलीको पनि डेराको बास भएको छ। एमाले नेताहरूका अनुसार उनी सूर्यबिनायक नगरपालिकास्थित गुण्डुमा एउटै कम्पाउण्डमा रहेको तीनवटा घरमा बस्न थालेका छन्।
गुण्डुमा बिहीबार पार्टीका नेताहरूसँग ओली।
संविधान दिवसका दिन ओली सार्वजनिक हुन्छन् भनेर उत्साहित एमालेका नेता–कार्यकर्ता बिहानै पार्टी कार्यालय पुगेका थिए। बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो। तर ओली आएनन्।
ओली नआएकोबारे हामीले उपमहासचिव प्रदीप ज्ञवालीलाई सोध्यौं। उनले अध्यक्ष ओली आउने तयारी नै नरहेको बताए।
‘अध्यक्षज्यू, हिजो साँझमात्रै आउनुभएको हो, उहाँ आउने भनेर हामीले तयारी गरेका थिएनौं,’ उनले भने।
केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओली उपयुक्त समयमा सार्वजनिक हुने जानकारी दिए। ‘अध्यक्षज्यू पार्टी काममा फर्किइसक्नुभएको छ। उपयुक्त समयमा सार्वजनिक हुनुहुन्छ,’ उनले भने।
नेताहरूका अनुसार एमालेले तत्काल कुनै बैठकको आयोजना गरेको छैन। दसैंअगाडि सचिवालय बैठकसम्म बस्ने सक्ने उनीहरू बताउँछन्।
‘केन्द्रीय कमिटी बैठक दसैंपछि मात्रै बस्छ, सचिवालय बैठक त्यसअघि बस्न सक्छ, त्यसबारे सल्लाह भइसकेको छैन,’ उनले भने।
पार्टीले मनाइरहेको संविधान दिवसमा आफू नआउने भएपछि अध्यक्ष ओलीले फेसबुकमा लामो स्ट्याटस लेख्दै शुभकामना सन्देश दिएका छन्।
फेसबुक स्ट्याटसमा उनले भदौ २३ र २४ गतेको आन्दोलनलाई षड्यन्त्रमूलक घटनाको रूपमा चित्रण गरेका छन्।
‘हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ। नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ,’ उनले भनेका छन्।
उनले यसका पछाडिको षड्यन्त्रबारे संविधान दिवसका दिन धेरै नभन्ने बताएका छन्। धेरै कुरा समयले आफै बयान दिने उनको भनाइ छ।
‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफै महसुस गर्ने छ। विदेश जाने÷आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ,’ उनले भनेका छन्।
उनको यो सन्देश शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पनि सुनाइएको थियो। पार्टी उमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीको सन्देश वाचन गरेर सुनाएका थिए।