जेन–जी प्रदर्शनको भोलिपल्ट, भदौ २४ गते जुन विध्वंश गरियो, त्यसले नेपाली समाजको तन्तु हल्लाइदिएको छ। त्यो दिन राज्यको सम्पत्ति, व्यवसाय र व्यक्तिका निजी सम्पत्तिमाथि नियोजित हमला भयो।
यो स्तरको अराजकता हुँदा अरू मुलुकमा पनि मुख्य बजार वा सडक छेउमा भएका व्यवसायमाथि आक्रमण हुन्छन्। व्यवसायहरू अराजक प्रदर्शनका तारो बन्छन्।
तर नेपालमा भदौ २४ गते उद्यमशील नागरिक र उनीहरूका व्यवसायमाथि जसरी आक्रमण भयो, त्यो फरक छ। सुनियोजित छ।
त्यो दिन बजार वा सडक छेउका व्यवसायमाथि मात्र आक्रमण भएको होइन। खोजी खोजी र छानी छानी व्यवसायीका कर्पोरेट कार्यालय र निजी निवासमा गएर आक्रमण गरियो। त्यसरी आक्रमणमा परेका कैयन व्यवसायीका परिवारले भागेर ज्यान जोगाए।
अहिले कैयन नेपालीले व्यवसाय र व्यवसायीमाथि गरिएको यो सुनियोजित हमलाको व्यापक निन्दा गरेका छन्। यी हमलावरहरूलाई पक्रिएर कानुनको कठघरामा ल्याउनुपर्ने माग गरेका छन्।
कतिपयले भने नेपालका व्यवसायी ठीक छैनन्, नेपाली समाजमा अहिले जुन बेथिति छ, उनीहरू पनि त्यसका अंग हुन्, नेपाली समाजको अधोगतिमा व्यवसायी र राजनीतिज्ञबीचको गलत 'नेक्सस' को ठूलो भूमिका छ भनेका छन्।
खासमा यो समस्या बहुआयामिक छ। र, यसका सबै आयामबारे हामीले छलफल गर्नुपर्छ — व्यवसायीलाई हेर्ने नेपाली समाजको दृष्टिमा कति समस्या छ? व्यवसायीहरू आफै समस्याको कारक कति हुन्? यसमा व्यवसायी–राजनीतिज्ञ नेक्ससको दोष कति छ? नेपाली समाजमा उद्यमशील नागरिकहरू जसरी लगातार 'खलनायक' जसरी प्रस्तुत गरिन्छन्, त्यसमा नेपाली राजनीति र पत्रकारिताको भूमिका कति छ? र, नेपालमा व्यवसाय गर्न जुन अविश्वासको विषाक्त वातावरण छ, त्यसलाई बिस्तारै कसरी सङ्लो बनाउँदै लैजाने?
यो लेखमा म यिनै विषयहरूमा चर्चा गर्नेछु।
यसपालिको विध्वंशमा तोडफोड र आगजनी गरिएका सयौं व्यवसायमध्ये एउटा हो — पोखराको बरपिपल रिसोर्ट।
यसका सञ्चालक हुन्— जितु गुरूङ।
उनी लमजुङको श्रीभञ्ज्याङबाट ३० वर्षअघि एक हजार रूपैयाँ लिएर पोखरा झरेका थिए। गुरूङले सुरूआतमा मासिक ५ सय रूपैयाँ तलबमा सरसफाइ कर्मचारीका रूपमा काम गरे। त्यसपछि पर्यटक गाइड बने। केही पैसा जोगाए। घर भाडामा लिएर सानो होटल चलाए। र, तीस वर्षको लामो संघर्ष र दिनरातको मेहनतले बरपिपल रिसोर्ट खडा गरे।
यसमा उनको परिवार र बैंकको पैसा लगानी भएको छ।
'त्यसबाहेक अरू कसैको पैसा यो रिसोर्टमा लगानी भएको छैन,' गुरूङले भनेका छन्।
बिडम्बना, यो रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को लगानी छ भनेर आगो लगाइयो, लुटपाट गरियो।
'बरपिपल रिसोर्टमा माओवादी अध्यक्ष प्रचण्डको लगानी छ भनेर अफवाह फैलाइयो। निराधार र नियोजित प्रोपागान्डा गरियो। कसैसँग प्रमाण छ भने देखाउन खुला चुनौती दिन्छु,' गुरूङले भने।
नेपालमा व्यवसायीले मेहनत गरेर कमाएको र लगानी गरेको पैसा उसको होइन, कुनै राजनीतिज्ञको हो भन्ने अफवाह फैलाउने कुकर्म उहिल्यैदेखि चलिआएको हो। दुर्भाग्य, यो अहिलेसम्म जारी छ।
विनोद चौधरीले आफ्नो मेहनतले व्यावसायिक साम्राज्य फैलाएका होइनन्, त्यो राजा वीरेन्द्र शाहको सम्पत्ति हो; मीनबहादुर गुरूङले देशभर भाटभटेनी स्टोर खोलेका प्रचण्डको पैसाले हो; चन्द्र ढकाल विभिन्न राजनीतिज्ञको पैसा चलाउँछन् र उनले केबलकार लगायत व्यवसाय फैलाएको त्यही पैसाले हो; काठमाडौंमा बनेको नयाँ हिल्टन होटल शेरबहादुर देउवा परिवारको हो — काठमाडौंमा यस्ता हल्ला सदाबहार चलिरहेकै छन्।
यस्ता अफवाहहरूलाई प्रत्यक्ष वा परोक्ष रूपले प्रतिस्पर्धी व्यवसायी, राजनीतिज्ञ र पत्रकारले पनि फैलाउने काम गरेका छन्।
यस्तो हो कि भनेर शंका गर्न पाइयो, कहीँ त्यस्तो हो कि भनेर खोजीनिती गर्न पनि पाइयो। पत्रकारले त गर्नैपर्यो।
संसारमा राजनीतिज्ञ वा उनका परिवारले कतिपय व्यवसायमा पर्दापछि बसेर लगानी नगर्ने होइन। नेपालमा पनि कतिपय होलान्। तर प्रमाणबिना बोल्न भएन। लेख्न भएन। अफवाह फैलाउन भएन।
एउटाले मेहनत गरेर कमाएको सम्पत्ति बिनाप्रमाण र आधार अर्काको हो भनेर निजी बैठकमा, डिनर टेबलमा वा सार्वजनिक रूपमा भन्नु र पत्रकारिता मार्फत अफवाह फैलाउनु अक्षम्य कुरा हो। नेपाली समाज यस्तै भ्रम र अफवाहको सिकार भएको छ। त्यसमाथि दुर्गा प्रसाईं जस्ता मानिसले झनै कुनै खास व्यावसायिक समुदायलाई लक्षित गरेर अफवाह र घृणा फैलाउने काम गरेका छन्। यसपालि व्यवसायीहरूमाथि आक्रमण हुनुमा यी सबै कुरा जोडिएका छन्।
फेरि पनि उद्यमशील नागरिकलाई हेर्ने नेपाली समाजको दृष्टिदोष नै अहिलेको मूल समस्या हो।
नेपाली समाजले मूल रूपमा उद्यमशीलता भनेको ठगी हो भन्ने ठान्छ। व्यवसाय भनेको ठगेर, छलेर केही 'व्यापारी' लाई धनी बनाउने धन्दा मात्र हो भन्ने ठान्छ। तिनै व्यापारी र राजनीतिज्ञ मिलेर देश 'लुटिरहेका' छन् भन्ने ठान्छ। र, समाजमा व्यवसाय वा व्यवसायीको कुनै पनि योगदान हुँदैन, उनीहरूको काम छैन भन्ने ठान्छ!
व्यवसायीबारे यति विषाक्त र निकम्मा सोच नै अहिलेको नेपाली समाजको 'मेन–स्ट्रिम' सोच हो।
खासमा के हो समाजमा व्यवसायीको भूमिका? के हो उनीहरूले गर्ने योगदान?
व्यवसायीले तीन तरिकाबाट समाजमा योगदान गर्छन्।
हामीले आज घर वा कार्यालयमा प्रयोग गरिरहेका सामान वा सेवा कहाँबाट आएका हुन्? अझ सहरमा बस्छौं भने हामीले उपभोग गर्ने खाद्यान्न वा सामान र सेवा सतप्रतिशत नै बजारबाट ल्याउँछौं।
त्यो बजारमा, हाम्रो घर छेउको पसलमा वा हाम्रो घरसम्मै कसले सामान वा सेवा ल्याइदिन्छ?
व्यवसायीले।
खाद्यान्न, चिया, कफी, चामल, तरकारी, माछामासु, इन्टरनेट, पंखा, टिभी, कम्प्युटर, मोबाइल, मोटरसाइकल, गाडी, घर बनाउन चाहिने सामग्री जस्तै सिमेन्ट, डन्डी, इँटा, मार्बल, पार्केट, खाट, ओछ्याउने कपडा, हामीले लगाउने लुगा, सबै उद्यमशील नागरिकहरूले उत्पादन गरेका हुन्। उनीहरूले नै बजारमा र घरसम्म ल्याइदिने हुन्।
धेरै नेपालीलाई लाग्छ — त्यो कुन ठूलो कुरा भयो त? हामीले पैसा तिरेर किनेको हो।
पक्कै हो। हामीले पैसा नतिरी व्यवसायीले निःशुल्क त कसरी देओस्! ऊ आफै पनि लगानी गरेर उत्पादन गर्छ वा पैसा तिरेर किन्छ र बेच्छ।
तर एउटा कुरा हामी धेरै ख्याल गर्दैनौं — कुनै पनि व्यवसायीले हामीलाई घाँटी अँठ्याएर आफ्नो सामान वा सेवा किन्न लगाउँदैन। हामी आफैले बजार वा पसल चहारेर वा आजको दुनियाँमा इन्टरनेट चहारेर सामानको गुणस्तर र पैसा जोखेर किन्ने हो। चित्त बुझेपछि व्यवसायीले हामीलाई उपलब्ध गराउने सामान वा सेवासँग पैसा साट्ने हो।
हामीले कुनै व्यवसायीलाई गुन लगाइदिन उसको सामान वा सेवा किनेका होइनौं। बजारमा उपलब्ध विकल्पमध्ये हामीलाई राम्रो वा ठीक लागेको विकल्प छानेर किनेको हो।
त्यसैले उपभोक्ता वा व्यवसायीले एकअर्कालाई निगाह गरेर सामान वा सेवा किनेका वा बेचेका होइनन्। किन्ने र बेच्ने दुवैको स्वार्थ मिलेर त्यो विनिमय भएको हो। पैसा त्यो विनिमयको माध्यम मात्र हो।
आधुनिक समाज व्यवसायीबिना चल्न सम्भव छैन। हामीले हाम्रो जीवनस्तर जसरी बजारबाट किनेका सामान वा सेवाले सहज बनाउँदै, उकास्दै माथि लगेका छौं, त्यो गर्न व्यवसायीबिना सम्भव छैन।
व्यवसायीले समाजलाई लगाइरहेको सबभन्दा ठूलो गुण यही हो — उनीहरूले हामीलाई चाहिने सामान वा सेवा उपलब्ध गराउँछन्। प्रतिस्पर्धामा खरो उत्रिन आफ्नो सामान वा सेवाको गुणस्तर बढाउँदै लैजान्छन्। किनभने, कमसल सामान वा सेवा दिएर लामो समयसम्म टिक्न सकिँदैन भन्ने उनीहरूलाई थाहा छ।
व्यवसायीले समाजलाई लगाउने अर्को गुन हो — रोजगारी।
एकछिन कल्पना गरौं, हामीमध्ये कति जना जागिर खान्छौं, सरकारी वा निजी क्षेत्रमा?
जतिले जागिर खान्छौं र घरबार चलाएका छौं, परिवार धानेका छौं, सम्पत्ति जोडेका छौं, छोराछोरी पढाएका छौं, मोटरसाइकल वा गाडी चढेका छौं, आफ्नो उन्नति गरेका छौं, त्यो कसका कारण सम्भव भएको छ?
आफू असफल हुने खतरा मोलेर, अझ बैंकबाट ऋण लिएर, व्यवसाय गरिरहेका व्यवसायीहरूका कारण सम्भव भएको हो।
त्यसैले हामीले भुल्नु हुँदैन, कुनै समय जागिर खाएका वा अहिले पनि जागिर खाने हामी सबैको उन्नयनमा उद्यमशील नागरिकहरूको पनि हात छ।
फेरि बजारमा सामान र सेवा किनेजस्तै यो पनि दुईतर्फी हो। व्यवसायीले माया गरेर वा निगाह गरेर कसैलाई रोजगारी दिएका होइनन्। उसलाई आफ्नो सामान वा सेवा उत्पादन गर्न मानिस चाहिएर उसको श्रम, सीप र ज्ञान किनेको हो। श्रमिक वा कर्मचारीले पनि आफ्नो श्रम, सीप र ज्ञानको मूल्य तोकेर, मोलतोल गरेर व्यवसायीकहाँ जागिर खाएको हो।
यहाँ पनि कुनै पक्षको वा कसैको जोरजबरजस्ती होइन। दुवैले आ–आफ्नो हित हेरेर आफूसँग भएको श्रम, सीप, ज्ञान र पैसाको विनिमय गरेका हुन्। तर एउटा महत्त्वपूर्ण कुरा भने हामीले भुल्न हुँदैन।
व्यवसायीले ठूलो खतरा मोलेर व्यवसाय गर्छ। त्यो व्यवसाय डुब्यो भने त्यहाँ काम गर्ने मानिसको रोजगारी मात्र जान्छ। व्यवसायीको त घरबारै डुब्न सक्छ। बैंकबाट लिएको ऋण डुब्न सक्छ। व्यवसायी अर्को ऋण नपाउने गरी धराशायी हुन सक्छ।
व्यवसायीले गर्ने तेस्रो ठूलो काम भनेको राज्यलाई कर तिर्ने हो।
हामी सबै नेपालीले आफ्नो आय वा उपभोगमा धेरै, थोरै कर तिर्छौं। त्यसैले व्यवसायीले मात्र कर तिर्ने होइन। र, उसले तिरेको करले मात्र राज्य चलेको पनि होइन।
तर एउटा के कुरा पक्का हो भने, हामी आम नागरिक वा जागिर खाने मानिसभन्दा व्यवसायीले धेरै कर तिर्छन्। किनभने, उनीहरू हामीभन्दा धेरै कमाउँछन्। त्यो उनीहरूको कल्पनाशीलता, जाँगर, ऊर्जा, आँट, धैर्य र व्यवस्थापकीय कुशलताको कमाइ हो।
यी सबै तत्वको संयोजनबिना कोही पनि सफल व्यवसायी बन्न सक्दैन।
व्यवसायीमा जुन आँट, कल्पनाशीलता, ऊर्जा र हिम्मत नहार्ने धैर्य हुन्छ, त्यो अरू थोरै मानिससँग हुन्छ। उनीहरूको व्यावसायिक सफलताको राज यही हो।
राज्यलाई वर्षमा एक लाख वा दस लाख रूपैयाँ तिर्ने नागरिक र वर्षमा अर्ब रूपैयाँ वा त्योभन्दा धेरै तिर्ने उद्यमशील नागरिकबीच क्षमता र कल्पनाशीलताको फरक हुँदैन भन्ने हामीले मान्नुपर्छ। त्यसैले उनीहरूले समाजमा गर्ने योगदान र हामीले समाजमा गर्ने योगदानको आयाम र आकार पनि फरक हुन्छ।
उदाहरणका लागि, मीनबहादुर गुरूङले सञ्चालन गरेको भाटभटेनी सुपर मार्केटका चेनहरूबाट दैनिक एक लाख ५० हजार मानिसले भाटभटेनीबाट सामान किन्छन्। दस हजारभन्दा बढीले रोजगारी पाएका छन् र वार्षिक १५ अर्ब रूपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाउँछन्।
धेरै नेपालीलाई लाग्छ — व्यवसाय कुन ठूलो कुरा हो र! आफ्ना बाबुबाजेको सम्पत्ति लगायो, बैंकबाट अलिकति ऋण लियो, व्यवसाय खोल्यो, पैसा कमायो र कर तिर्यो। कतिले त कर पनि तिर्दैनन्।
व्यवसाय भनेको पैसा हुने वा पुँजी हुनेले गर्ने काम हो र आफ्ना लागि धन कमाउने हो।
पहिलो कुरा, पैसा भएर कोही व्यवसायी बन्दैन। पैसा छ तर व्यवसाय गर्न चाहिने अरू क्षमता छैन भने ऊ त डुब्यो, डुब्यो!
संसारभरिकै व्यवसायहरू असफल हुने दर धेरै छ।
संसारको औसत हेर्यो भने, नयाँ खुलेका २०–२५ प्रतिशत व्यवसायहरू एक वर्षभित्रै बन्द हुन्छन्। ४० प्रतिशत व्यवसाय तीन वर्षभित्र बन्द हुन्छन्। ५० प्रतिशत व्यवसाय पाँच वर्षभित्र बन्द भइसक्छन्। र, दस वर्षसम्म एक तिहाई व्यवसाय मात्रै जोगिन्छन्।
त्यसैले व्यवसाय सुरू गर्न सजिलो छ। तर त्यसलाई प्रत्येक वर्ष टिकाउँदै लैजान कठिन छ।
बजारमा टिकेर, उपभोक्ताको विश्वास जितेर आफ्नो व्यवसाय कायम राख्नु, मानिसहरूलाई रोजगारी दिनु, राज्य सञ्चालनका लागि कर तिर्नु चानचुने कुरा होइन। जोकोहीले गर्न सक्दैनन् व्यवसाय चलाउने काम।
यसरी एउटा व्यवसायी सफल भयो भने उसले समाजमा ठूलो योगदान गर्छ। तर ऊ असफल भयो भने त्यसको मार र पीडा ऊ एक्लैले बेहोर्छ। कैयन साना, ठूला व्यवसायीले घाटा खाएका छन्, टाट पल्टिएका छन्। आफ्नो घरबार गुमाएका छन्।
हामी असफल भएका हजारौं व्यवसायी देख्दैनौं। उनीहरूको पीडा हामी सामु आइपुग्दैन। सफल भएका र उन्नति गर्दै माथि चढेका थोरै व्यवसायी मात्र देख्छौं। अनि हामीलाई बेकारको डाह र इर्ष्या लाग्छ।
खासमा लामो परिश्रमपछि ठूला व्यवसायी बनेकाहरूसँग इर्ष्या गर्नुपर्ने कारण झनै हुँदैन। आज जति पनि ठूला व्यवसायी छन्, उनीहरूले व्यवसाय थप बढाउँदै लगे भने, थप सम्पत्ति कमाए भने, उनीहरूले त्यो सम्पत्ति फेरि पनि लगानी नै गर्ने हुन्। व्यवसाय थप विस्तार गर्ने हुन्। सेवा वा सामान थप उत्पादन गर्ने हुन्। थप रोजगारी सिर्जना गर्ने हुन्। थप कर तिर्ने हुन्।
उनीहरू आफूले कमाएको सम्पत्ति उपभोग गर्ने एउटा सीमाभन्दा माथि पुगिसकेका हुन्छन्। हामी आम मानिस, जागिरे वा साना व्यवसायी जस्तो आफ्नो सम्पत्ति बढ्दैमा उनीहरूको उपभोग बढ्दैन। राम्रा लुगा किन्ने, राम्रा रेस्टुरेन्टमा खाने, विदेश घुम्न जाने, राम्रो गाडी किन्ने वा राम्रो घर बनाउने सपना उनीहरूको पूरा भइसकेको हुन्छ। त्यसैले उनीहरूले कमाउने सम्पत्तिको साह्रै सानो अंश मात्र उपभोगमा खर्च हुन्छ।
मीनबहादुर गुरूङ, विनोद चौधरी, चन्द्र ढकाल, शेखर गोल्छा, पवन गोल्यान, सौरभ ज्योति, रविभक्त श्रेष्ठ, विजय शाह, सिद्धार्थ राणा, डा. उपेन्द्र महतो, पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, शाहिल अग्रवाल, अनुज अग्रवाल, रामचन्द्र संघाई लगायत ठूला व्यवसायीले वार्षिक रूपमा गर्ने आम्दानीको कति प्रतिशत उपभोगमा खर्च गर्छन्?
नगन्य।
त्यसैले उनीहरूको ध्यान कमाउने र उपभोग गर्नेमा हुँदैन। कमाउने र थप लगानी गर्नेमा हुन्छ। थप व्यवसाय विस्तार गर्नेमा हुन्छ।
मैले धेरै पटक लेखेको छु — व्यवसायीहरू कमाउन र लगानी गर्न अभिशप्त हुन्छन्। उनीहरूको जिन्दगी त्यसैमा बित्छ।
मैले त्यही भएर उनीहरूलाई 'सुपर नागरिक' भनेको हुँ। नागरिकका रूपमा हामी आम मानिसभन्दा उनीहरूको अतिरिक्त अधिकार भएर होइन। अधिकार र स्वतन्त्रताका हिसाबले हामी र उनीहरू समान हौं।
तर लगानी गर्ने, खतरा मोलेर व्यवसाय स्थापना गर्ने, रोजगारी दिने, धैरै सम्पत्ति आर्जन गर्ने र कर तिर्नेमा उनीहरूको क्षमता धेरै हुन्छ। त्यस अर्थमा उनीहरू सुपर नागरिक हुन्।
त्यसो भए के, व्यवसायीहरू दूधले धोइएका मानिस हुन्? के उनीहरू केही बदमासी गर्दैनन्? के उनीहरू कानुन मान्छन्? के उनीहरू कर छल्दैनन्? के उनीहरू राजनीतिज्ञहरूसँग मिलेर आफ्नो पक्षमा नीतिगत भ्रष्टाचार गर्दैनन्? के राजनीतिज्ञ र व्यवसायीबीचको गलत 'नेक्सस' ले समाजको अहित गरेको छैन?
सत्य यही हो कि — कतिपय सुपर नागरिकहरू बदमासी गरेर 'सुपर भिलेन' बन्छन्। अनि आफ्नो स्वार्थका लागि देश र समाजको अहित हुने काम गर्छन्। कानुन उल्लघंन गर्छन्। कर छल्छन्। राजनीतिज्ञसँगको साँठगाँठमा आफूलाई फाइदा हुने नीति, नियम बनाउन लगाउँछन्।
संसारभरि नै व्यवसायीहरूले बदमासी गर्ने गरेका छन्। त्यहाँ धेरै बदमासी भएको छ, जहाँ राजनीतिज्ञहरू बदमास छन्। जहाँ राज्यमा बस्नेहरू कमजोर छन् वा बदमास छन्, त्यहाँका व्यवसायीहरू झनै धेरै बदमास छन्। किनभने, उनीहरूले बदमासी नगरी, घुस नदिई राज्य सत्तामा बस्ने कर्मचारी होस् वा राजनीतिज्ञ, उनीहरूले काम गरिदिँदैनन्।
एकछिन सोच्नुहोस् — घुस नदिई काम हुने भए, व्यवसायीले किन कर्मचारी वा राजनीतिज्ञलाई घुस दिन्छन्? कसले दिन्छ? के हामी दिन्छौं?
दिँदैनौं। कसैले पनि दिँदैन।
त्यसैले हाम्रो ध्यान राजनीति सुधार गर्नेमा जानुपर्यो। राजनीति सुध्रियो भने, व्यवसायी सुध्रिन कर लाग्छ।
सेतोपाटीले धेरै लामो समयदेखि नै एउटा संरचनात्मक सुधारको वकालत गर्दै आएको छ। हामीलाई अहिले पनि लाग्छ, त्यो सुधारबिना अरू सुधार अघि बढाउन सकिँदैन। अरू सुधारहरू दिगो हुँदैनन्।
त्यो हो — राजनीतिक दलहरूका लागि वैध र पारदर्शी आथिक स्रोतको व्यवस्था।
संसारभरि नै राजनीतिक दललाई पैसा चाहिन्छ। सुरू सुरूमा नयाँ दललाई चाहिँदैन तर पुरानो हुँदै गएपछि चाहिन्छ।
उदाहरणका लागि, २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई चुनाव जित्न खासै पैसा चाहिएन। ऊसँग पैसा नभएको होइन। बैंक लुटेकादेखि व्यवसायी र व्यक्तिहरूलाई थर्काएर उठाएको पैसा उनीहरूसँग थियो। तर पनि पहिलो चुनावमा त्यो खर्च भएन। मानिसहरूले स्वस्फुर्त मत दिए।
तर त्यसपछिका वर्षहरूमा पार्टी सञ्चालन गर्न पैसा चाहियो।
यसपालि आन्दोलनकारीले आगो लगाउँदा प्रचण्ड र कांग्रेस सभापति देउवाको घरमा जलेको पैसा पार्टीका नाममा उठेको त्यही अपारदर्शी चन्दा हो। अपारदर्शी हिसाबले उठाएको यो पैसा पार्टीका लागि खर्च गरे भयो, आफ्नो गुटका लागि खर्च गरे भयो। परिवारका लागि खर्च गरे पनि भयो।
त्यसैले राज्यले नै राजनीतिक दलहरूलाई आर्थिक स्रोत उपलब्ध गराउनुपर्छ। त्यसको पारदर्शी हिसाबकिताबको व्यवस्था गर्नुपर्छ। यसले राजनीतिज्ञ र व्यवसायीबीचको नेक्सस तोड्छ। त्यसबाट उत्पन्न हुने अपारदर्शी लेनदेन रोकिन्छ। नीतिगत भ्रष्टाचार आफै रोकिन्छ।
त्यो मुलुकका लागि मात्र राम्रो हुँदैन। व्यवसायीका लागि पनि राम्रो हुन्छ। उनीहरूलाई यो वा त्यो राजनीतिक दलसँग नजिक भनेर मानिसहरूले आक्रमण गर्दैनन्। रिस पोख्दैनन्।
यो सुधारका लागि राजनीतिज्ञ र व्यवसायी दुवै तयार हुनुपर्यो। दुवैले पहल गर्नुपर्यो। यसले मात्र संस्थागत सुधार अघि बढाउन सक्छ।
त्यसपछि पनि व्यवसायीले कानुन उल्लंघन गरेका, कर नतिरेका कतिपय घटना आऊलान्। आउँछन् नै। तर तिनलाई कानुन अनुसार कारबाही गरे भयो। जरिवाना तिराए भयो।
त्यसपछि यो वा त्यो अमुक दलसँग जोडेर व्यवसायीहरूले जानी नजानी गरेका गल्तीको आलोचना हुँदैन। काम गर्दै जाँदा जानेर वा नजानेर व्यवसायीले गल्ती गर्छन्। कहिलेकाहीँ कर जोगाउन गल्ती गर्छन्।
यस्तो गल्ती संसारका ठूला ठूला कम्पनीले अमेरिका वा युरोपमा पनि गर्छन्।
उदाहरणका लागि, अमेरिकाका चार ठूला कम्पनीहरू; अमेजन, गुगल, माइक्रोसफ्ट, एप्पलले गरेका गल्ती र उनीहरूलाई राज्यले तिराएका जरिवाना हेरौं।
अमेरिका र युरोपियन युनियनले गुगललाई अहिलेसम्म विभिन्न नियम, कानुन उल्लंघन गरेबापत १४ अर्ब डलरभन्दा धेरै कर तिराएका छन्। त्यसैगरी एप्पललाई ३.१ अर्ब डलर, माइक्रोसफ्टलाई २.३ अर्ब डलर र अमेजनलाई १ अर्ब डलर जरिवाना तिराएका छन्।
फरक फरक नियम र कानुन उल्लंघन गरेवापत् अहिलेसम्म गुगललाई सात पटक यसरी जरिवाना तिराइएको छ। त्यस्तै माइक्रोसफ्टलाई पाँच पटक, एप्पललाई चार पटक र अमेजनलाई तीन पटक तिराइएको छ।
यसका बाबजुद अमेरिका र युरोपमा ती कम्पनीहरूलाई बहिस्कार गर्नुपर्यो, तिनका कार्यालय जलाउनुपर्यो भनेर कसैले भनेको छैन। समृद्ध मुलुकहरूमा व्यवसाय र व्यवसायीहरूलाई कसरी 'डिल' गर्ने भन्नेबारे कानुन छन्। र, उनीहरूका गल्तीमा राज्यले मोलाहिजा नगरी वा भावुक नबनी कारबाही गर्छ।
सँगसँगै उनीहरूले गर्ने राम्रा काममा सहयोग गर्छ। किनभने, उनीहरूलाई थाहा छ — मुलुकमा समृद्धि ल्याउने, रोजगारी सिर्जना गर्ने, सम्पत्ति सिर्जना गर्ने सबै काम व्यवसायीहरूले गर्ने हो।
हाम्रो जस्तो अभागी समाजमा भने धेरैलाई लाग्छ — देश धनी बनाउने, रोजगारी दिने, सम्पत्ति सिर्जना गर्ने राज्यले हो, नेताले हो। किनभने, नेताले सधैं त्यही भन्दै आएका छन्। पुराना सबै नेताले त्यही भने। नयाँ आएकाले त्यही भने। भोलि आउनेले पनि त्यही भन्छन्!
अनि जसले खासमा रोजगारी सिर्जना गर्छ, सम्पत्ति सिर्जना गर्छ, राजस्व बुझाउँछ उनीहरूलाई भने राजनीतिज्ञ र आम मानिसले पनि 'भिलेन' ठान्छन्।
त्यो समाजको कहिल्यै उन्नति हुन्न जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ!
***
(अमित ढकालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)