नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नौ भातृ संस्थाको म्याद थप गरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्।
पटकपटक अधिवेशन स्थगित गराएर अहिले बैठकसमेत नगरी सभापति देउवाले म्याद थप गरेकोमा पौडेलले आपत्ति जनाएका हुन्।
देउवाको निर्देशनमा पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति निकालेर नेपाल तरूण दल, नेपाल विद्यार्थी संघलगायत ९ भातृ संस्थाको म्याद थप गरेका थिए।
पौडेलले उक्त विज्ञप्ति फेसबुकमा राख्दै म्याद थप गर्ने कामले पार्टीको आन्तरिक लोकबतन्त्रलाई धज्जी उठाएको उल्लेख गरेका हुन्।
‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने, त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ-नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ,’ उनले भनेका छन्, ‘लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू गम्भीर हुनुहोस्!’
यी भातृ संगठनको म्याद छ महिना अगाडि सकिएको थियो। त्यसबेला केन्द्रीय समितिबाट निर्णय गरी छ महिनाभित्र अधिवेशन गराउन भनिएकोमा तदर्थ समितले अहिलेसम्म पूर्णतासमेत पाएको थिएन।
सभापति देउवाले अब बस्ने केन्द्रीय समितिबाट म्याद थपको निर्णय हुने भन्दै ९ भातृ संस्थाको म्याद शुक्रबार एकल निर्णयबाट गरिदिएपछि पौडेल पक्ष असन्तुष्ट छ।