प्रचण्ड–माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कहिल्यै नमेटिने कलंकको टिका लगाएको टिप्पणी गरेका छन्।
बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताए। पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि पछि ओलीले संसद विघटन गरेको आरोप दाहालले लगाए। उनले प्रधानमन्त्री ओलीले आफ्नो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिँदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकरपन’ को पछाडि लागेर अन्य संवैधानिक निकायले निर्णय गरे मुलुकमा ‘कयामत’ आँधीहुरी बतास आउने चेतावनी दिए।
ओलीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप दाहालले लगाए।
कलंकको टीका
अध्यक्ष दाहालले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीले संसद विघटन गरेर ‘घर मै आगो’ लगाईदिएको दाबी गरे। संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टीका लगाएको दाबी उनले गरे।
‘घरमै आगो लगाईदिनुभयो। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्ने काम गर्नुभएको छ। उहाँले बाजी हार्नुभयो। उहाँले लडाई हार्नुभयो । जब उहाँले लोकतन्त्रमाथि प्रहार गर्नुभयो र संविधानमाथि आक्रमण गर्नुभयो। उहाँले लडाई हार्नुभयो। जतिबेला विदेशीको इसारामा फेरि एकचोटि नेपाल राष्ट्रको अस्मितामाथि प्रहार गर्ने जमर्को गर्नुभयो उहाँले लडाईँ हार्नुभयो। त्यसकारण मैले भनेको छु इतिहासमा अब केपी ओलीले कलंकको टीका लगाउनुभयो। यो कहिलै मेटिदैन,’दाहालले भने।
पोलिटिकल जोकर
दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पोलिटिकल जोकर’ को संज्ञा दिएका छन्।
‘नौटंकी प्रहसन भईईरहेको देख्नुभएको छ। यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ। कहिलेकाहीँ साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा। कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ। पोलिटिकल जोकर। जोकर जस्तो लाग्छ। ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौं भन्ने यो नौटंकी नभए के हो यो? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाहीँ हो यो? यो विक्षिप्त र बहुखुलाहट मानसिकताको उपज नभए के हो? भनेर हामीले प्रश्न किन नगर्ने?,’ उनले भने।
नेकपा नाम र सूर्य चुनाव चिन्ह नपाए कयामत आउँछ
केन्द्रीय समितिको दुई तिहाई वहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने विधानमा नै लेखिएको भन्दै उनले सय जनाले विधान संशोधन गरेर ओलीले नाटक गरेको आरोप लगाए। पार्टीको विधान निर्वाचन आयोगमा नै दर्ता भएको र दुई तिहाई बहुमत विना विधान संशोधन कसैले गर्न नसक्ने र दलसम्बन्धी ऐनमा ५० प्लस केन्द्रीय समिति संख्या भएको नै आधिककारीक पार्टी हुने भएकाले आफूहरू नै आधिकारीक भएको दोहोर्याए।
सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति आफूहरूलाई भरोसा रहेको तर उनीहरु पनि ओलीको राजनीतिक जोकरपनको पछाडि लागे भने मुलुकमा ठूलो आँधी हुरी आउने चेतावनी दिए।
‘हाम्रो पार्टीको नाम र चुनाव चिन्ह सूर्य हाम्रै हुनेछ । म यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । यदि त्यसो भएन भने यहाँ कयामत आउँछ । यहाँ आँधी हुरी बतास आउँछ। केपी ओलीले संविधान मिचे जस्तै गरेर, केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको मुटु माथि छुरा प्रहार गर्याजस्तै यदि अरू संवैधानिक निकायहरुले पनि त्यहीँ गर्न थाले भने यो देश यी नेपाली जनता हेरेर बस्न सक्छन्? आँधी हुरी बतास आउँछ, ’ उनले भने, ‘म निर्वाचन आयोग र सर्वोच्च अदालतलाई भरोसा गर्न चाहन्छु। म सँधै भन्न चाहन्छु हामीलाई उहाँहरूको भरोसा छ। तर अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरको पछाडि कोही जनता लाग्नेछैनन्।’
झुटो र निर्घृणी ओली
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई ढाँटछलका कुरा गर्न ‘दुध भात खाए’ जस्तो भएको टिप्पणी गरे।
‘बिहान ११ बजे बामदेवजीलाई बोलाउनुभएछ र अबको अध्यक्ष तपाई नै हो कमरे । प्रधानमन्त्री नि अब तपाईँ नै हो। मैले अरू देखिनँ भन्नुभएछ। उही दिन १ बजे माधव कमरेडलाई बोलाएर तपाईँ नै अभिभावक हो हाम्रो। तपाईँ उभिदिन पर्यो। अब अध्यक्ष पनि तपाई नै हो। प्रधानमन्त्री पनि तपाई नै हो भन्नुभएछ। ४ बजे म गएको, मैले त एमाले भित्र नेता नपाएर तपाईँलाई ल्याएको भन्नुभयो मलाई। कस्तो सकेको हो के? सकेको देखेर ताजुब मान्छु के उहाँलाई त ढाडढुट गर्न दुध भात खाए जस्तो के,’ उनले यथार्थ बताए।
विगतमा पनि आफूहरुलाई ढाँट्दै आएका ओलीले आफू भागेर अरूलाई भगौडा भन्ने गरेको दाबी उनले गरे। ‘हामीलाई भगौडा भन्नुभएछ। लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय भगौडा अनि ३० प्रतिशत पनि नभएको त्यो रैथाने। आधिकारीक त्यस्तो पनि कहीँ हुन्छ त्यो केपी ओलीको दिमाग भन्दा बाहिर? जहिले नि बैठक बस्नु पर्यो भनेर जाँदा जहिले पनि भाग्ने अनि उहाँ भगौडा नहुने? बैठकबाट जहिले पनि भाग्ने। हामीले निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्दा हामी चाँही भगौडा हुने?’, उनले आक्रोश पोखे।
उनले ओलीमा लाज घिन हराएको टिप्पणीसमेत गरे। ‘पछिल्लो बैठक केपी ओलीसमेतको सहमतिको केन्द्रीय समितिको बैठक हो। त्यो बैठक छोडेर विधान मिचेर, संविधान मिचेर, निर्ममतापूर्वक, बडो निरंकुश ढंगले तानाशही रुपमा पार्टीलाई लात हानेर भाग्ने चाहीँ भगौडा नहुने। अनि हामी निर्णय अनुसार बैठक बस्दा हामी भगौडा हुने। मान्छेमा अलिकति लाज घिन चाँही हुनुपर्छ के । मान्छेमा अलिअलि लाज नैतिक हुनुपर्छ नि। निर्घिणी हुनुहुन्न क्या। हाम्रो केपीजी त निर्रघिणी। झुटो कुरालाई हो के हो के भन्या जस्तो पार्न सक्ने क्षमता चाहीँ केपीमा रैछ। त्यो त हुदै आएको थियो,’ उनले भने।
घेराबन्दी कसले गर्यो?
दाहालले पार्टीले काम गर्न दिएन भनेर झुटो बोलेको भन्दै प्रधानमन्त्रीलाई त्यसको प्रमाण पेश गर्न चुनौति दिए। पार्टीले काम गर्न दिएन भनेर ओलीले दिउँसै रात पारेको टिप्पणी उनले गरे
‘पार्टीले के को घेराबन्दी गर्यो? उहाँले प्रमाणसहित भन्नु सक्नुहुन्छ ? पार्टीले सरकारबाट उहाँले गर्न खोजेको कुन काममा बाधा हाल्यो? एउटा मात्रै प्रमाण दिनुहोस्। म केपी ओलीलाई चुनौति दिन चाहन्छु यो मञ्चबाट। एउटा प्रमाण। पार्टीको यो निर्णयले पार्टीका यी नेताहरुले मलाई यो काम गर्न खोज्दा दिएनन् भनेर एउटा प्रमाण पेश गर्न म चुनौति दिन चाहन्छु केपी ओलीलाई। बरू पार्टीले यसो गरौं भन्दा त्यो नगरीकन उल्टो उल्टो गर्या हुनाले बिग्रेको हो भनेर म स्पष्ट राख्न चाहन्छु,’ दाहालले स्पष्ट पारे।
कोरोना महामारी सुरु भएका बेला महामारीलाई नियन्त्रण गर्न केन्द्रदेखि तल्लो तहसम्म संयन्त्र बनाउँ भन्दा आफ्नो सुझावलाई व्यंग्य गर्दै हिँडेको उल्लेख गर्दै उनले सरकार स्वयं स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमा मुछिएको बताए।
पार्टीभित्र विश्वास जित्न नसकेको
अध्यक्ष दाहालले आफ्नै सहकर्मी साथीकै विश्वास जित्न नसकेर प्रधानमन्त्री ओली सबै कोणबाट अल्पमतमा पर्दै गएको बताए। ओलीले अरूलाई दोषारोपण गर्नुभन्दा एकपटक आत्मसमिक्षा गर्नुपर्ने तर्क दाहालले गरे।
उनले भने, ‘आफू अल्पमतमा परेपछि देश भाडमा जाओस् भन्ने पनि नेता हुन्छ? देश र सिस्टमप्रति जिम्मेवार हुनुपर्दैन? पार्टीलाई विश्वासमा लिने जिम्मेवारी ओलीको होइन? माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसँगै काम गरे पनि उनीहरुको विश्वास जित्न किन नसकेको? एकचोटी ऐनाको अगाडि आफ्नो अनुहार राम्रोसँग हेर्न पर्दैन केपी ओलीले?’
लोकतन्त्रको ‘क ख रा’ भनेको बहुमत नै भएको भन्दै दाहालले बहुमतलाई ओलीले पनि मान्नुपर्ने बताए।
‘त्यहीँ प्रचण्ड जसले संविधान बनाउने बेलामा संविधान बनाउँ म तपाईलाई प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर पहिलोचोटि प्रधानमन्त्री प्रस्ताव गर्यो। त्यहीँ प्रचण्ड पार्टी एकता र गठबन्धन गरौं तपाईँलाई प्रधानमन्त्री मै प्रस्तावित गर्छु भनेर गर्यो। त्यहीँ प्रचण्डलाई यति साह्रै खेद्नुपर्ने कारण के पर्यो?,’ उनले प्रश्न गरे।
भारतले भनेर संसद भंग गरेको हो?
जी-न्यूजसँग प्रधानमन्त्रीको अन्तर्वार्ता नाटकै हो
अध्यक्ष दाहालले भारतको इसारामा संसद भंग गरेको हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्। भारतीय गुप्तचरसँगको अपारदर्शी भेटघाट जनतामाझ छर्लङग भएको भन्दै उनले विगतमा ‘भारत र साथीहरुले मलाई प्रधानन्त्रीबाट हटाउन खोजे’ भन्ने प्रधानमन्त्रीले अहिले भारतले भनेर संसद भंग गर्नुभएको हो? भनी प्रश्न गरे।
‘अहिले त नाङ्गै देखिएको छ नि । विदेशी शक्ति केन्द्र आएर उहाँलाई के के मन्तर सुनाए। उहाँले त्यो मन्तर सुन्नुभयो। अस्ति भर्खरै तपाईहरुले हेर्नुभयो नि जी न्युजको इन्टरभ्यू। त्यो पनि नाटकै हो। नाटक हो भन्ने कुराको पटाक्षप आज भईसक्यो। अव एभरेष्टको नाम फेर्ने रे। त्यहीँ जी न्यूजले। यो के नाटक देखिदैछ तपाईँ हामीले? असारको स्थायी समितिको बैठक बस्दा त मलाई भारतले हटाउन खोजेको छ। मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो। हामीले हटाएनौं त्यतिबेला। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त हामीले। अनि उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या हो? सारा जनताले देखे बुझे। यसलाई के भन्नुहुन्छ केपीजी? मेरो प्रश्न तपाई यसलाई के भन्नुहुन्छ?,’ उनले केपीमाथि प्रश्न गरे।
आई एम त स्टेट
लोकतन्त्र र राष्ट्रहित विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ‘आईएम त स्टेट’ भन्दै सबै संवैधानिक निकायलाई आफू अनुकुल निर्णय गराउन उद्ध्त रहेको आरोप अध्यक्ष दाहालले लगाए।
पार्टीभित्र र संसदमा आफ्नो समर्थन गुमाएपछि ओलीले अस्वभाविक ढंगले वक्तव्यवाजी गर्न थालेको आरोप उनले लगाए। ‘सचिवालयमा बहुमत छैन उहाँको। स्थायी र केन्द्रीय समितिमा दुई तिहाई बहुमत उहाँको विरुद्ध छ। सांसदहरुको वहुमत उहाँको विरुद्ध भईसकेपछि त म भएत हेर्नुहोस् देख्ने वित्तिकै राजीनामा दिईहाल्थेँ। त्यो लोकतन्त्रको हितमा हुन्थ्यो। राष्ट्रको हितमा हुन्थ्यो । मैले छोड्नु पर्यो भने कुर्सी सुर्सी भाँचेर छोड्छु। हामीलाई लागेको थियो कुर्सी मात्रै भाँचियो भने त अर्को बनाउँला। संविधान नै भाँचकुँच। संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँचकुच गर्ने अनि राष्ट्र नै भाँचकुच गर्ने स्थिति आयो। अझै उहाँ हाँसी हाँसी भन्नुहुन्छ। देश र संविधान वर्वात भईरहेका बेला, संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा परिहेका जितेको विजेता जस्तो गरि खुसी भएर। उहाँको नृत्यलाई ताण्डव नृत्य जस्तो लागेको छ। भाङ खाएर नाचेको जस्तो के,’ दाहालले भने।
आफ्नो निर्णय राजनीतिक भएको र राजनीतिक निर्णयलाई अदालतले मान्नुपर्छ भन्दै हिँडेका ओलीमा निरंकुश र तानाशाही प्रवृति हावी हुँदै गएको टिप्पणी दाहालले गरे।
‘मेरो राजनीतिक निर्णय हो अदालतले मान्नुपर्छ। निर्वाचन आयोगले मैले भनेपछि मान्नुपर्छ। उहाँको सबै अभिव्यक्ति सर्वोच्च पनि केही होइन। निर्वाचन आयोग पनि केही होइन। संविधान पनि केही होइन। संघीय लोकतान्त्रिक गणतन्त्र पनि केही होइन । पार्टी पनि केही होइन । बहुमत पनि केही होइन। म नै सबैथोक हो। आई एम त स्टेट। तानाशाहहरुले निरंकुशहरुले संसारभर भन्ने गरेको यहीँ नै हो,’ उनले भने।
तानाशाही र निरंकुश हुने भुत सवार भएपछि मान्छेले आफूलाई नहेर्ने र आफ्नो आत्मआलोचना नगर्ने तथा आफू ध्वस्त नहुँदासम्म निहुँ खोजिरहने प्रवृत्ति देखिने भन्दै उनले ओली पनि पतनको बाटोमा हिँडेको दाबी गरे। ओलीले पटक पटक पार्टी फुटाउन खोज्दा झुकेर आफूले जोगाएको स्मरण गर्दे अब भने लड्ने चेतावनी दिए। ‘कमिलाको प्वाँख उम्रिएपछि सिद्धिन्छ भन्छन्। उहाँमा कमिलाको प्वाँख उम्रेको देखेको छु मैले। उहाँको धेरै महिना जानेवाला छैन । नेपाली जनताले छोड्नेवाला छैनन्। हामी छोड्नेवाला छैनौं। उहाँ गणतन्त्र विरोधी हो भन्दैमा नेपाली जनता गणतन्त्र विरोधी होइनन्। पार्टीका सवै नेता कार्यकर्ता गणतन्त्र विरोधी होइनन्। उहाँ गणतन्त्र विरोधी हो भन्ने हामीलाई थाहा छ। नेपाली जनतालाई पनि थाहा छ। सच्चिए होलान् कि भन्यो, अब त सच्चिएलान् कि भनेको। के को हुन्थ्यो कुकुरको पुच्छर? जति तेल लगाए पनि बांङ्गाको बाङ्गै भयो। हामीले त कम तेल त लगाईएन। सबै भन्दा बढी तेल त मैले नै लगाएँ होला यो तीन वर्षमा। खुरू खुरू जे भन्छन् मान्दिँदा खेरि राम्रो हुन्छ कि भन्दै मान्दै। पोहोर सालदेखि ३ पटक पार्टी फुटाउन खोज्दा झुकेर जोगाएको हुँ। अब लडेर छोडिन्छ,’ उनले भने।
जबज छोड्ने पहिलो व्यक्ति केपी ओली
दाहालले प्रधानमन्त्री ओली नै जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे। पार्टी एकताको समयमा राजनीतिक प्रतिवेदन छाप्न ओली तयार नभएको तथा समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति नै उनै भएको तर्क दाहालले गरे। ‘जबज मदन भण्डारीको भूमिकालाई पनि स्थापित गर्नुपर्छ भनेर लेख्ने हामीहरु नै हौ। जबज छोड्ने पहिलो व्यक्ति केपी ओली हो। तपाईँहरू कोही भ्रममा नपर्नुहोला। अहिले भ्रम दिन खोजेका छन् उनीहरुले । पार्टी भनेको विचार र विधि हो। अहिले त जनताको बहुदलीय जनवाद भन्न खोज्नुहुन्छ , जनताको बहुदलीय जनवादलाई हटाएर समाजवाद उन्मुख जनताको जनवादमा सही गर्ने पहिलो व्यक्ति को? केपी ओली। उहाँलाई अब यो बोल्ने कुनै वैचारिक, राजनीतिक र नैतिक अधिकार छैन भन्ने मेरो दाबी छ। उहाँ हो जबज छोड्नै पहिलो व्यक्ति’, दाहालले भने।
ओलीलाई पार्टीको विचार र विधिको सही लाईनबाट भड्किएको, कम्युनिष्ट र समाजवाद मन नपर्ने र उदार समाजवाद र पूँजीवाद मन पर्ने दाहालले बताए। एमालेजति एक हुनुपर्ने भन्ने अभियान चलाएकाले कतिपयलाई भ्रम श्रृजना भएको भन्दै उनले ओली भित्र कम्युनिष्टको विचार र सिद्धान्त नभएको दाबी गरे।
उनले ओली सुरुदेखि नै नेपाल खेमालाई सिध्याउने र पछि आफूलाई सिध्याउने रणनीतिमा लागेको दाबीसमेत गरे। माधव कुमार नेपाल ओलीको गलत निर्णयको विरुद्ध सतिसाल भएर उभिएकाले आफूमा नेता नेपाल प्रति सम्मान बढेको बताए।
उनले ओलीको तानाशाही निर्णय विरुद्धको संघर्ष पार्टी भित्रको अन्तर संघर्ष पनि भएकाले विचार, विधि र समाजवादको आर्दश तर्फ अगाडि बढ्नेगरि पार्टीलाई एकताबद्ध गर्ने बाटोमा एकजुट हुन कार्यकर्तालाई आव्हान गरे। उनले आफैं भित्रको अवसरवादका विरुद्ध संघर्ष गर्न तयार रहेमात्रै ओलीको अवसरवादी निर्णय विरुद्ध लड्न सकिने भएकाले त्यसका लागि तयार रहन पनि उनले सबैलाई निर्देशन दिए।
लाखौं जनता सडकमा नउत्रिईकन प्रतिगमन नसच्चिने भन्दै उनले सडक संघर्षका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिए। हरेक उपलब्धि र आन्दोलनमा काठमाडौंको भूमिका प्रमुख रहँदै आएको स्मरण गर्दे उनले यसपटक पनि निर्णायक ढंगले आन्दोलनमा लाग्न सबैलाई आव्हान गरे।
कमेडी शो
आफ्नो सम्बोधन भरी प्रधानमन्त्रीको आलोचनामा समय खर्चेका दाहालले कमेडी शो गर्न नभई संविधान र लोकतन्त्र धरापमा परेकाले त्यसको रक्षाका लागि उपस्थित भएको भन्दै ओलीलाई व्यंग्य गरे।
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र यसरी आक्रमणमा परेको छ। हामी उखान टुक्का भनेर कमेडी शो गर्न नि उपस्थित भएका छैनौं। हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्धेलित पार्न पनि जुटेका होइनौं। हाम्रै पार्टीको , हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट , हाम्रै पार्टीले हिजो अध्यक्षमा निर्वाचित गरेको व्यक्तिबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ र त्यो प्रहारको सामना गर्न हामी यहाँ उपस्थित भएका छौं। हामी ठूलो बलिदानीबाट प्राप्त उपलब्धि एम्बुसमा परेकाले र त्यसबाट बचाउनका लागि छलफलमा जुटेका हौ’, उनले भने।
उनले पार्टी एकताको तयारी बिना नै पार्टी एकता भएको भन्ने टिप्पणी सही नभएको स्पष्ट पारे।
‘पर्याप्त तयारी नभईकन गरेको एकताका कारण यस्तो समस्या आएको हो कि?’ भन्ने विश्लेषण सही नभएको भन्दै उनले यथेष्ठ छलफल भएको र विचार र निर्देशक सिद्धान्तबारे स्पष्ट रुपमा किटान गरिएको प्रष्ट पारे।
विचारमा ध्यान नदिईकन हतारमा पार्टी एकता नगरेको पनि उनले स्पष्ट पारे।