नेकपा माओवादी केन्द्रले धनुषाका ४ स्थानीय तहका एक मेयर र ३ जना उपमेयरसँग स्पष्टीकरण सोधेको छ।
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतालाई खारेज गरिदिएपछि माओवादी केन्द्रबाट विजयी भएका धनुषाका विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापर, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र विदेह नगरपालिकाकी उपमेयर निलमदेवी मण्डल एमालेमा सक्रिय भएको भन्दै स्पष्टीकरण सोधेको माओवादी केन्द्रका जिल्ला सचिव दीपक यादवले जानकारी दिए।
उनका अनुसार ती सबै स्थानीय तहका जनप्रतिनिधिलाई सोमबार पत्र पठाइएको छ।
‘सर्वोच्च अदालतको निर्णयसँग हामी पूर्ववत् अवस्थामा आइसकेका छौं, त्यसका बाबजुद् उहाँहरूको सक्रियता देखिएन,’ जिल्ला सचिव यादवले भने ‘हाम्रो पार्टीको कार्यक्रम हुँदासमेत उहाँहरू उपस्थिति जनाउनु हुन्न तर एमालेका कतिपय कार्यक्रममा उहाँहरूको सहभागिता देखियो, त्यसैले हामीले स्पष्टीकरण सोधेका हौं।’
पार्टी स्रोतका अनुसार विदेह नगरपालिकाका केही वडा अध्यक्षहरूलाई समेत स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिएका वडाध्यक्ष भने पार्टीमा पुनः सक्रिय रूपमा काम गर्न सकारात्मक रहेको स्रोतले जनाएको छ।
स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योगकुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर छ।
यता विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले पार्टी एकता कायम रहेसम्म आफू नेकपाको कार्यक्रममा सहभागी भए पनि सर्वोच्चको फैसला यता एमालेको कार्यक्रममा भने सामेल नभएको प्रतिक्रिया दिएका छन्।
‘हिजो हामीलाई स्पष्टीकरण सोधिएको बारे पत्र आएको छ, म यसलाई सकारात्मक रूपमा नै लिन्छु,’ मेयर दासले भने, ‘तर सर्वोच्च अदालतले फैसला गरेपछि एमालेको कार्यक्रममा सहभागी भएको कुरा भने म मान्दिनँ, हाम्रो नगरपालिकाले कार्यक्रम आयोजना गर्दा हामीले माओवादी केन्द्रकै नेता कार्यकर्तालाई बोलाउने गरेका छौं एमालेका होइन।’
स्पष्टीकरणको जवाफ भोलि नै पठाउने मेयर दासले बताए।
‘मैले र उपमेयरज्यूले भोली नै स्पष्टीकरण पठाउने तयारी गरेका छौं,’ दासले भने।