पार्टी अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी ओलीले बोलाएको बैठक शुक्रबारका लागि सार्न माधव नेपाल पक्षले प्रस्ताव गरेको छ। ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बोलाएका छन्।
संसदीय दलको बैठकमा जाने-नजानेबारे नेपाल पक्षले अझै निर्णय गरिसकेको छैन। नेपाल पक्षका तर्फबाट एमाले एकता कार्यदलमा रहेका नेताहरुले संसदीय दलको बैठक सार्न प्रस्ताव गरेका हुन्।
एमाले स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बैठक सार्नको लागि पार्टी अध्यक्ष एवम् संसदीय दलका नेतालाई प्रस्ताव पठाएको बताए।
आफूहरुले पार्टी उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ मार्फत सन्देश पठाएको समेत बताए।
आफ्नो समूहका कार्यदलका नेताहरु बसेर दोस्रो पुस्ता सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको समेत उनले बताए। ‘पार्टी विवाद मिल्नेबारे नयाँ केही छैन। आज हामी कार्यदलका केही साथीहरु बसेका थियौँ, दोस्रो पुस्ताका साथीहरु सक्रिय हुनुपर्यो नत्र पार्टी ड्यामेज हुने भयो भन्ने निष्कर्ष निकालेका छौँ, हेरौ अब’ पाण्डेले भने।