नेपाली कांग्रेसका पूर्वसांसद चन्द्रमोहन यादवलगायतले अनसन तोडेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा १० दिनदेखि आमरण अनसनमा रहेका उनीहरूले मंगलबार अनसन तोडेका हुन्।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत पक्षको माग अध्ययन गरी सुनुवाइ गर्न सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिएका थिए।
पदाधिकारी बैठकले धर्ना र आमरण अनसन बसेकाहरूको माग सुनुवाइ गर्न उनीहरूलाई जिम्मेवारी दिएको थियो।

अनसनरत पक्ष र वार्तामा गएकाहरूबीच ६ बुँदे सहमति भएपछि अनसन तोडिएको हो।
क्रियाशील सदस्यता छानबिनमा धाँधली हुन नहुने तथा जिल्ला कार्यसमिति धनुषाको संस्थागत निर्णय कार्यान्वयन हुनुपर्ने मागसहित पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन, नेताहरू रामपल्टन साह र दिनेश नायक अनसन बसेका थिए।
अनसनरत पक्षले उठाएका माग पार्टीले छिट्टै सम्बोधन गर्ने सहमहामन्त्री महतले बताएका थिए।
पार्टी विधान तथा नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेकोविरूद्ध उनीहरू अनसनमा बसेका थिए।