नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनमा आफू पनि सभापतिको उम्मेदवार रहेको बताएका छन्।
आफूहरूको टिमबाट सर्वसम्मत रूपमा कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने छलफल जारी रहे पनि आफू पनि सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ थियो।
उनले यो कुरा गणेशमान सिंहको २५ औं स्मृति दिवसमा शनिबार आयोजित कार्यक्रममा भनेका हुन्। उनले मंसिरमा हुने महाधिवेशनबाट पार्टीमा सक्षम नेतृत्व आउने पनि बताए।
साथै उनले पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढेको पनि बताए। विधानभन्दा बाहिर गएर कामकारबाही हुने गरेको उनको भनाइ थियो। उनले महाधिवेशन निष्पक्ष हुनुपर्नेमा जोड दिए।
‘हामी साझा उम्मेदवारको खोजीमा छौं। सर्वसम्मत तवरले सभापति पदका लागि हाम्रो टिमले उम्मेदवारी दिन्छ,’ उनले भने, ‘तर म सभापतिको उम्मेदवारबाट पछि हट्दिनँ।’
सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन्। सभापतिमा पौडेल पक्षबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दाबेदार छन्।