नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न १० वटा समूह बनाएको छ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने ती प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको हो।
बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधनसम्बन्धी प्रतिवेदनसहित सुझाव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको बताए।
उनले प्रतिवेदनमाथि छलफल गर्नका निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू, लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको बताए।
भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरूले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए।
प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको केही अधिवेशनका प्रक्रियाहरूलाई केही मात्रामा बदलेका छौं, विगतमा नीति, विधान, नेतृत्व सबै महाधिवेशन एउटै हुन्थ्यो, त्यही महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानमाथि छलफल हुन्थ्यो, त्यही महाधिवेशनले पार्टीको नेतृत्व पनि चयन गर्थ्यो, त्यसबाट हामीलाई महाधिवेशनमा विधान, संगठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदनमाथि कम ध्यान दिने, छलफल कम हुने, मूलतः प्रतिनिधिहरूको ध्यान र सिंगो पार्टीको ध्यान नेतृत्व चयनप्रति ज्यादा केन्द्रित भयो, त्यसले गर्दा पार्टीमा कतिपय विचार निर्माणका सवाल गम्भीरताका साथ अगाडि बढेनन्, भन्ने हाम्रो अनुभवलाई नवौं राष्ट्रिय महाधिवेशनले के निष्कर्ष निकाल्यो भने अब हामीले अलग अलग २ वटा महाधिवेशन गर्नुपर्छ, एउटा विधान महाधिवेशन र अर्को नेतृत्व निर्वाचनसम्बन्धी महाधिवेशन, त्यसको पहिलो अभ्यास हाम्रो पार्टीको तर्फबाट हामी गर्दैर्छौं, मलाई खुसी लागेको छ कि अरू दलहरूले यी दुुईलाई अलग महाधिवेशन गर्नुपर्छ भनेर छलफल थाल्नुभएको छ।'
आजको बैठकमा मूलतःतीन वटा प्रतिवेदन प्रस्तुत भएको र यी प्रतिवेदन स्थायी कमिटीको बैठकमा पनि छलफल भएको उनले बताए।
'त्यहाँ सुझाव आएका थिएँ, आज केन्द्रीय कमिटीमा त्यो सुझाव पनि प्रस्तुत भएको छ, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्तावसम्बन्धी मस्यौदा, विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ, तीन वटा दस्ताबेज आज प्रस्तुत भएका छन्, आजको बैठकले यो प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूह बनाएको छ, सात वटा भौगोलिक समूहहरू, सात वटा प्रदेशका, जनसंगठनलाई हेर्ने, पार्टीका इन्चार्जहरुको जो केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँहरूको एउटा अलग्गै समूह छ', उनले भने, 'त्यसपछि विभागीय प्रमुखहरूको अलग्गै समूह छ, अन्तिम १० औं नम्बरमा विशेष प्रदेशमा सम्पर्क कमिटी, उपत्यका विशेष कमिटी, लगायतका विशेष जुन संरचना पार्टीका छन्, ती विशेष संरचनालाई नेतृत्व गर्नेहरूको एउटा समूह छ, यी १० वटा समूहमा प्रतिवेदन अध्ययन हुन्छ, छलफल हुन्छ, भोलि १ बजेसम्म, प्रत्येक समूहमा समूह नेता छनोट हुन्छ, भोलि १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा समूहका नेताबाट सुझाव प्रस्तुत हुन्छन्, सुझावका आधारमा दस्तावेजहरूलाई आवश्यक परिमार्जन गर्नुपरेमा गर्छौं र असोजको १५ गतेदेखि आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्छौं।’
विभाग प्रमुख भट्टराईले शनिबार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा समूहगत नेताहरूले आफ्नो सुझाव दिएपछि प्रतिवेदन दस्तावेजहरूलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने बताए।
एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ।