२०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली कांग्रेसका एक संस्थापक नेता गणेशमान सिंह सधैं भन्ने गर्थे — 'नेपाली राजनीतिज्ञहरू अर्को चुनावको मात्र चिन्ता गरिरहन्छन् तर देशलाई अर्को चुनावको होइन, अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ।'
उनको यो भनाइको आसय राजनीतिज्ञहरूले आफूभन्दा पछिको पुस्ता के सोच्छ, के चाहन्छ र के खोज्छ भन्नेमा ध्यानकेन्द्रित गर्नुपर्छ भन्ने हो।
तर विडम्बना के भने; जीवनभरि प्रजातान्त्रिक लडाइँ लडेर जहानियाँ राणा शासन र निरंकुश एकतन्त्रीय पञ्चायती व्यवस्थाबाट देशलाई मुक्ति दिलाएका 'लौहपुरूष' गणेशमानको ऐतिहासिक घर पनि पछिल्लो आन्दोलनको निशानामा पर्यो।
यही भदौ २४ गते आगजनी र तोडफोडको सिकार भएको गणेशमान निवासमा उनको २८ औं स्मृतिमा बिहीबार बिहान मानिसहरू भेला भएका थिए।
चाक्सीबारीस्थित गणेशमान निवासको भग्नावशेषमा उनका छोरा प्रकाशमान सिंह, बुहारी सिर्जना सिंहसहित कांग्रेस कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। चाक्सीबारीमा गणेशमान सिंहले किनेको र प्रकाशमान सिंहले बनाएको गरी दुई वटा घर छन्। दुवै घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए भने गणेशमानले किनेको पुरानो घरमा धेरै क्षति पुग्यो।
यो त्यही निवास हो, जहाँ आजभन्दा ३६ वर्षअघि पञ्चायती व्यवस्थाविरूद्ध २०४६ सालको जनआन्दोलन घोषणा भएको थियो।
त्यही जनआन्दोलनले ३० वर्षको पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था पुनर्स्थापना गर्यो। त्यसयता २०६२-६३ को जनआन्दोलनबाट थप राजनीतिक उपलब्धि हासिल भए। यसपालि जेन-जी आन्दोलनले मुलुकलाई फेरि नयाँ राजनीतिक मोडमा ल्याइपुर्याएको छ।
यी सबै उपलब्धिको आधार त्यही २०४६ सालको जनआन्दोलन हो- जसको उद्घोष चाक्सीबारीबाट गणेशमान सिंहले गरेका थिए।
जीवनभर राणा र राजाविरूद्ध लड्दै नेपाली जनतालाई प्रतिकार गर्न सिकाएका गणेशमान सिंहको घर पछिल्लो एक सातादेखि सन्नाटामा डुबेको थियो।
निर्वतमान उपप्रधान तथा सहरी विकास मन्त्री सिंह भैंसेपाटी क्वार्टरमा नबसी चाक्सीबारीमै बस्थे।
बिहीबार स्मृति दिवसका बेला शोभा भगवती जानुअघि चाक्सीबारी फर्किँदा प्रकाशमानकी पत्नी सिर्जना सिंहले आजगनी भएको घरको अवस्था देखेर आँसु थाम्न सकिनन्।
उनले भनिन्, 'बा, आज तपाईंको स्मृति दिवस। तपाईंको घरसँगका सबै स्मृति कायरहरूले भग्नावशेषमा परिणत गरिदिए। तर तपाईंको त्याग, बलिदान, देशभक्ति र राष्ट्रप्रेम इतिहासका पानामा सधैं सुनौला अक्षरले लेखिनेछ। कसैले पनि इतिहास मेटाउन सक्ने छैन। सधैं अमर हुनुहुन्छ, रहिरहनुहुनेछ।'
चाक्सीबारीको जुन घरका मान्छेले रैतीलाई नागरिक बनाउन जीवनभर लडे, आजै त्यही घरमाथि निशानामा साँधिएकोमा उनले दु:ख व्यक्त गरिन्।
'कसैलाई नराम्रो गरेका थिएनौं, पुर्खाको सम्पत्ति थियो, जोगाउन सकेनौं। मलाई यस मानेमा दु:ख छ, जुन घरका मान्छेले रैतीलाई नागरिक बनाएका थिए, उनको ऐतिहासिक घर हामीले जोगाउन सकेनौं,' उनले भनिन्, 'टाउकोमा कात्रो बाँधेर निस्केका परिवारका सन्तान हौं, संविधानको रक्षा र प्रजातन्त्रका लागि लडिरहने छौं।'
प्रकाशमान सिंहका अनुसार चाक्सीबारीस्थित यो घर बुबा गणेशमानले ऋण लिएर किनेका थिए।
'मेरो बुबा गणेशमान सिंहले २००९ सालमा यो घरजग्गा लिनुभएको हो। त्यसबेला उहाँले ४५ हजार रूपैयाँमा यो घर किन्नुभएको हो,' उनले भने।
२००७ सालको क्रान्तिपछि कांग्रेस र राणाहरू मिलेर सरकार बनाएका थिए। उक्त सरकारमा गणेशमान सिंह मन्त्री बनेका थिए।
मन्त्री हुँदासम्म सिंह परिवारको घर किलागलमा थियो। मन्त्री भएपछि मानिसहरूको आउजाउ धेरै हुन थाल्यो।सुरक्षाकर्मीहरू समेत घरमै बस्नुपर्ने भयो,' प्रकाशमानले भने, 'त्यो घर साँघुरो भयो, त्यसपछि नयाँ घरको खोजी हुन थाल्यो।'
उनले अगाडि भने, 'किलागलको घरमा एउटा मात्रै बाथरूम थियो। सुरक्षाकर्मीदेखि मानिसहरू आउजाउ भइराख्दा घरपरिवारका मानिसलाई समस्या थियो। अलि फराकिलो जग्गा भएको घर खोज्नुपर्यो भनेर त्यस बेला गणेशमानजीले नयाँ घर खोज्न लगाउनुभएको थियो।'
कम्पाउन्ड भएको र सुरक्षा गार्डहरू राख्न मिल्ने फराकिलो घर खोज्न लगाउँदा दुइटा घर भेटिए- एउटा चाक्सीबारीको यही घर, अर्को निर्वाचन आयोग रहेको बहादुर भवन।
गणेशमानले चाक्सीबारीको यही घर किने।
उनले यो घर किन्न तत्कालीन सरकारसँग ४५ हजार रूपैयाँ ऋण लिएको पनि प्रकाशमान सिंहको भनाइ छ।
'त्यसपछि नेपालको हरेक प्रजातान्त्रिक आन्दोलन र जनतालाई अधिकार दिलाउने काममा यो घरको भूमिका रहँदै आयो,' उनले भने, '२०१४ सालको भद्र अवज्ञा आन्दोलनका सत्याग्रहीलाई पनि टीका लगाएर यही घरबाट आन्दोलनमा पठाइएको थियो।'
२०१५ सालमा आमनिर्वाचन भएर कांग्रेसले दुई तिहाइको सरकार बनायो। बिपी कोइरालाको नेतृत्वमा सरकार बन्यो। तर तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते 'कू' गरे। त्यसपछि गणेशमानलाई पक्राउ गरेर ८ वर्ष जेल हालियो। जेलबाट छुटेपछि निर्वासनमा जानुपर्यो।
यसरी राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरी पार्टीहरूलाई प्रतिबन्ध लगाएपछि जनताको अधिकार पुनर्बहालीका लागि गणेशमान लगायत कांग्रेस नेताहरूले आन्दोलन जारी राखेका थिए।
२०३३ सालमा बिपी कोइराला, गणेशमान सिंहसहित नेताहरू राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।
'सरकारले खुला चउरहरूमा आन्दोलन गर्न दिन्थेन। गणेशमानजीले मेरै घरको कम्पाउन्डभित्र आन्दोलन गर्छु भनेर सुरू गर्नुभयो,' प्रकाशमानले भने, 'धेरैले यो घर राजनीतिक मन्दिर हो भन्छन्। गणेशमान र मंगलादेवी रहुञ्जेल र अहिले पनि सारा दुनियाँ चहारेर काम नभएपछि जनता सहाराका लागि आउने घर यही थियो।'
जेन-जी प्रदर्शनकारीहरूले इतिहास मेटाउन खोजेजस्तो आफूलाई नलागेको तर आन्दोलनमा घुसपैठ हुँदा चाक्सीबारीस्थित घरमा आगजनी हुन पुगेको उनले बताए।
गणेशमानले यही घरबाट सुरू भएको आन्दोलनमा कम्युनिस्टहरूलाई पनि संवादमा ल्याएको उनले स्मरण गरे।
'घरअघिको चोकमा कम्युनिस्टहरूसँग कुराकानी गरेर तिमीहरू धेरै चिरा चिरामा छौं, कोसँग कुरा गर्ने? त्यसैले एक जना वामपन्थी संयोजक तोक भनेर उहाँले आइडिया दिएपछि सहाना प्रधान वामपन्थी संयोजक बनेको र आन्दोलनमा कार्यगत एकता भएको हो,' प्रकाशमानले भने।
२०१७ सालमा राजाले छिनाएको जनताको मौलिक अधिकार पुनर्बहालीका लागि भूमिका खेल्ने उनै गणेशमानको घर मात्र होइन, उनले प्रयोग गर्ने गाडी पनि प्रदर्शनकारीहरूले जलाएका छन्।
भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेन-जी पुस्ताले भदौ २३ र २४ गते प्रदर्शन सुरू गरेका थिए। यो आन्दोलनमा अहिलेसम्म ७४ जनाको मृत्यु भएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर आन्दोलनकै जगमा सुशीला कार्की नेतृत्वमा सरकार बनेको छ भने फागुन २१ गतेका लागि प्रतिनिधि सभा चुनाव तोकिएको छ।
तस्बिरहरू:




