लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका छन्।
सोमबार नेपाल बार एशोसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका हुन्।
उनले अदालतमा बार सम्बद्ध कानून व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाए। प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताए।
‘यो मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर अघि बढ्नुपर्छ, उहाँलाई एउटा कस्टमा प्रधानन्यायाधीश बनाइएको हो, नेतृत्वबिहीन सर्वोच्च अदालत नबनाउने कस्टमा नै बनाइएको हो, उहाँलाई नदिँदा अर्को व्यक्ति नै थिएन, त्यो नभएको कारणले गर्दा सर्वोच्च जस्तो निकाय नेतृत्व बिहीन हुन्छ भन्ने राम्रो लागेन हाम्रो कमिटीलाई, पहिला मान्छेले नसोचेको कुरा पछि देखिन्छ,’ प्रमुख सचेतक कर्णले भने।
प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरुमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताए।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् ।