नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औं महाधिवेशनको मिति तोक्ने बताएका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले महाधिवेशन तयारीका लागि गर्नुपर्ने आवश्यक कामहरू भइरहेको बताए।
‘कम्तीमा नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील नवीकरणका सन्दर्भमा अलिकति मेहनत गरेर काम गर्नुपर्नेछ,’ महामन्त्री थापाले भने, ’१३ औं महाधिवेशनबाट १४ औं महाधिवेशनमा आउँदा पनि ८१.२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको थियो। कोही विदेश जाने, कोही निधन हुनेजस्ता केही कारण थिए।’
उनले ८० प्रतिशत हाराहारीमा क्रियाशील सदस्यता नवीकरण हुने देखिएको भन्दै यसलाई वृद्धि गर्न नेताहरूले निर्वाचन क्षेत्रमा मेहनत गर्नुपर्ने बताए।
भदौ मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि समय दिनुपर्ने प्रस्ताव गर्दै उनले त्यसपछि नयाँ क्रियाशील वितरणका लागि अघि बढिने बताएका थिए।
उनले दसैंअघि केन्द्रीय समिति बैठक बसेर महाधिवेशन मितिलगायत विभिन्न विषयमा निर्णय लिइने पनि बताए।
‘दसैंअघि असोजमा केन्द्रीय समिति बैठक गरेर महाधिवेशन तिथिमिति तय गर्ने हो, महाधिवेशनका लागि तयारी भइरहेको छ। तयारी केही भएको छैन भनेर कसैले पनि बाहिर नभनौं। के भयो भने महाधिवेशन तयारी हुने हो त्यो भनौं,’ उनले भने।
उनले महाधिवेशन छिटो गर्न चाहने र ढिलो गर्न खोज्ने पक्षजस्तो देखिएको भन्दै समयमै महाधिवेशन गरिने बताए।
२०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने भए पनि तयारी अपुग हुने देखिएकोले २०८३ को मंसिरभित्रै महाधिवेशन हुने उनले बताए। ‘त्यसपछि स्थानीय चुनावदेखि आम चुनाव गर्न तयारीका लागि पनि समय हुन्छ,’ उनले भने।
यो पनि: देउवाको प्रशंसा गर्दै विश्वप्रकाशले भने- ०८३ को असारमा प्रधानमन्त्री त्याग गर्नुस्