नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै २०८३ सालको असारमा प्रधानमन्त्रीमा पार्टीभित्रबाटै अरू कुनै व्यक्तिलाई अघि सारेर त्याग गर्न सुझाव दिएका छन्।
सभापति देउवाले हालै चितवनमा पुगेर 'मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ' भन्दै दिएको अभिव्यक्तिको प्रशंसा गर्दै सोमबारको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न सभापति देउवालाई सुझाव दिएका हुन्।
‘मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले चितवनमा बोल्दा यति धेरै प्रशंसा भयो, यो प्रशंसनीय छ, पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो,’ महामन्त्री शर्माले भने, ‘मेरो आग्रह छ- अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस्। शितल निवासबाट निस्केर पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी) राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ।’
महामन्त्री शर्माले सभापति देउवा छैटौं पटक प्रधानमन्त्री बन्न नहुनेमा जोड दिए।
‘नीति र सिद्धान्तमा एकता छ, विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ, कि सभापति पदका लागि l तेस्रो पटक सभापति बन्न पार्टी विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौं पटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिलेl सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ,’ महामन्त्री शर्माले भनेl
उनले एकताका दुई सुत्र पनि सुनाए।
‘सबैलाई एक बनाएर आफू प्रधानमन्त्री बन्ने पनि एउटा सुत्र हुन्छ, अर्को अरू कसैको नाम प्रस्ताव गर्ने र त्यो नाममा सबैलाई एक बनाउने, त्यो पनि एकताको सुत्र हुन्छ। मलाई लाग्छ- सायद म दाबी गर्छु, आदरणीय सभापतिको सबैभन्दा खुलेआम शुभचिन्तक विश्वप्रकाश शर्मा नै हो। जसले भन्छ- सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ,’ महामन्त्री शर्माले भने।
महामन्त्री शर्माले नेकपा (एमाले) सँगको ७ बुँदे सहमतिलाई संकेत गर्दै २०८३ को असारमा सभापति देउवालाई त्याग गर्न भनेका हुन्। एमालेसँग कांग्रेसले गरेको सहमतिमा २०८३ असारमा देउवा प्रधानमन्त्री हुने सहमति छ। महामन्त्री शर्माले प्रधानमन्त्री पद त्याग गर्न र अभिभावकत्व निर्वाह गर्न सभापति देउवालाई आग्रह गरेका हुन्।
यसपछि सभापति देउवा बोलेका थिए।
सभापति देउवाले आफ्नो चार वर्षे नियमित कार्यकाल भएको, पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने र संविधानअनुसार थप ६ महिना थप्न पाउने नियम सुनाएका थिए।
‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन,’ प्रधानमन्त्री त्याग गर्न भनेका महामन्त्री शर्मालाई जबाफ दिँदै सभापति देउवाले भने, ‘म अप्ठेरो मानिस हुँ नि!, विचार गर्नुस्।’
यसअघि महामन्त्री शर्माले बितेका ७५ वर्षमा नेपालमा कोही पनि लगातार पाँच वर्ष प्रधानमन्त्री बन्न नसकेको उल्लेख गरेका थिए।
उनले संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउन जरूरी रहेको र त्यसका लागि पाँच स्टेपको प्रस्ताव समेत सुनाए।
१) आमनिर्वाचनमा प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने l (अर्थात- दोस्रो/तेस्रो या अन्य दल पुरै अवधी सरकार बाहिर विपक्षमा बस्ने)
२) पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा `विनर्स टेक अल´ (जित्नेले सबै लग्ने) सिद्धान्त बमोजिम निर्वाचन अघिनै आयोगमा बुझाइएको विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्नेl
३) पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने l प्रधानमन्त्रीले मन्त्री परिषदमा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने l
४) त्यसरी बनेको प्रधानमन्त्रीले सपथग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिनेl दुई वर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन: विश्वासको मत लिनेl पछिल्लो पटक विश्वासको मत लिँदा दुई वर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने टुंगो लाग्ने l विश्वासको मत पुन प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधी देशको नेतृत्व गर्नेl
५) प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति (वान, टु, थ्री, फोरको सिद्धान्त बमोजिम) दुई पटक मात्रै बन्न सक्ने l