नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार, फौजदारीलगायत मुद्दामा कांग्रेस भएका कारण कोही कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए।
‘हामी कानुनी शासनमा विश्वास गर्छौं, निर्दोष कोही मानिस पनि पर्न हुँदैन तर प्रचलित कानुनको आधारमा कोहीमाथि भ्रष्टाचार वा फौजदारीलगायत मुद्दा लागेको छ भने कांग्रेस भएकै कारण उन्मुक्ति पनि पाउनु हुन्न,’ महामन्त्री थापाले भने।
केन्द्रीय समिति बैठकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले मुद्दा लागेकाहरुलाई एमाले, माओवादीले जोगाए पनि कांग्रेसले खुमबहादुर खड्का, विजय गच्छदार, बालकृष्ण खाण, मोहनबहादुर बस्नेत लगायतलाई जोगाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए।
त्यसतर्फ लक्ष्य गर्दै महामन्त्री थापाले कानुनी शासनमा विश्वास गर्नुपर्ने बताए।
केन्द्रीय समितिमै बोल्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महामन्त्री थापाले सदनमा भ्रष्टाचारका विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप लगाएका थिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै बस्नेतसहित १६ जनाविरूद्ध जेठ १ गते मुद्दा दर्ता गरेको थियो।
विशेष अदालत काठमाडौंले असार १५ गते बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री थापाको हात रहेको आरोपसमेत उनको थियो।
त्यसको जबाफमा थापाले फोहोरी बन्न नचाहेको बताएका थिए। 'फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ,' थापाले भनेका थिए।