कैदीबन्दीहरूको विरोधका बीच पनि अभिषेक गिरीलाई विराटनगर कारागार ल्याइएको छ।
बिहीबार बिहान ४ बजेतिर गिरीलाई विराटनगर कारागारभित्र प्रवेस गराइएको हो। दिउँसो ल्याउँदा विरोध हुने भएकोले गिरीलाई प्रशासनले सुटक्क राती सप्तरीदेखि ल्याएर विहानको राती कारागार प्रवेश गराएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो।
यही क्रममा बुधबार मोरङ कारागारमा रहेका गिरीको विरोधी मानिने चौकीदारसहितका ८ जना कैदीबन्दीलाई सिन्धुली सरुवा गरिएको छ।
गिरीलाई मोरङ कारागार ल्याउन नहुने भन्दै आन्दोलनमा उत्रिएकामध्ये कैदीबन्दीको तेस्रो लट सरुवा भएको हो। यसअघि दुई चरणमा गिरिको विरोधमा उत्रने कैदीबन्दीको सरुवा गरिएको छ।
नेपाली कांग्रेस नेता अमृत अर्यालको पहलमा गृहमन्त्री बालकृष्ण खाणले गिरीले चाहेजस्तो निर्णय गराउँदै आएका छन्। कांग्रेसको गिरीलाई मोरङ नल्याइ नछाड्ने हठले मोरङ कारागारलाई भने निरन्तर तनावको भुंग्रोमा पार्दै आएको छ।
गिरीलाई मोरङ कारागार पठाउन विभागले दुई महिनायता निरन्तर प्रयास गरिरहेको थियो। तर कैदीबन्दीले आन्दोलन गरेपछि गिरीको मोरङ कारागार प्रवेश सम्भव भइरहेको थिएन।
डेढ महिनामा तीन पटक चौकीदार फेरेपछि बिहीबार बिहान सुटुक्क गिरीलाई कारागार छिराइएको हो।
गिरीलाई विराटनगर कारागार ल्याउन चौकीदार कात्तिक कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरीलाई सरुवा गरिएको छ।
सरुवामा परेकालाई निकाल्न खोज्दा मोरङ कारागारको अवस्था बुधबारसाँझ तनावपूर्ण बन्यो। ठूलो संख्यामा प्रहरी परिचालन गरेर आठ जनालाई निकाल्न खोज्दा विरोधमा उत्रिएका कैदीबन्दीले कारागारमा आगजनी गर्ने धम्की दिएका थिए।
त्यसपछि प्रहरी टोली फिर्ता भएको थियो। राति १० बजेतिर पुनः गएको प्रहरी टोलीले सरुवामा परेका चौकीदार कामत र सिटी नाइके परियारलाई मोरङबाट निकालेर सिन्धुली कारागार लगेको छ । सरुवामा परेका अन्य छ जनालाई निकालेको छैन।