प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजिनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरूलाई भेट्न बोलाएका छन्।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री देउवाले शुक्रबार साढे १० बजे बालुवाटार बोलाएको बताए।
प्रधानमन्त्री देउवा आफैले उनीहरूलाई बोलाएका भने होइनन्। बार पदाधिकारीले समय मागेकाले शुक्रबार बिहानको समय मिलाएका हुन्।
गएको हप्ता संवैधानिक जिम्मेवारी पुरा गर्न भन्दै संसदमा रहेका दलका नेतालाई बारले भेटेको थियो। कांग्रेसका नेता प्रधानमन्त्री नै रहेकाले उनलाई भेट्न खोज्दा समय मिलेको थिएन।
बारले सबै पार्टीका संसदीय दलका नेताहरूलाई ज्ञापन पत्र बुझाएको थियो। तर, भेट नभएका कारण देउवालाई ज्ञापन पत्र बुझाउन पाएको थिएन। भेटघाटका लागि समय मिलाउन बारले उनलाई खबर पठाएको थियो।
'प्रधानन्यायाधीशको बहिर्गमनका लागि हामीले ज्ञापन पत्र बुझाउन पाएका थिएनौं त्यसैले समय मागेका थियौं। प्रधानमन्त्रीले भोली साढे दश बजे हामीलाई भेट्न बोलाउनुभएको छसाँझ मलाई प्रधानमन्त्रीको सचिवालयबाट एसएमएस आएको छ,’ उनले भने।
नेपाल बार प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै देशव्यापी आन्दोलनमा छ।