नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लडेर देखाउन चुनौती दिएका छन्।
शुक्रafर तुलसीपुरमा आयोजित जिल्लाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेबाटै निर्वाचित संघीय सांसद समेत रहेका चौधरीले हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लडेर देखाउन चेतावनी दिएका हुन्।
‘शंकरजी तपाईं साँच्चै दाङबाट चुनाव लडेर देखाउन चाहनुहुन्छ भने निर्वाचन क्षेत्र नं. १ मा चुनाव लड्न आउनुहोस्,’ चौधरीले भने, ‘तपाईं दाङको १ नम्बर क्षेत्रबाट चुनाव लड्ने आँट गर्नु हुन्छ भने म तपाईंलाई आफैं १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न तयार छु।’
चौधरी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष पनि हुन्।
कार्यक्रमका प्रमख अतिथि तथा पार्टीका उपमहासचिव डा. विजय पौडेलले नेकपा एमालेमा देखिएको ओलीवाद कम्युनिष्ट आन्दोलनप्रतिको धोका भएको बताए।
उनले दुईतिहाइ मत दिएर जनताले सरकारमा पठाएका ओलीले पार्टीमा दलाली पुँजीवाद र गुण्डाहरू भित्र्याएको आरोप लगाए। जनताको दुईतिहाइको सरकारले समाजवाद तर्फ उन्मुख बजेट ल्याउने आशा गरिए पनि दुई-दुई पटकको बजेटमा त्यस्तो बजेट नल्याउनुले त्यही कुरोको पुष्टि गरेको पौडेलको भनाइ थियो।