राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने भएका छन्।
निर्वाचन आयोगले जारी गरेको चुनावी कार्यतालिकाअनुसार राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
आयोगले उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने सम्बन्ध सबै तयारी गरिसकिएको जनाएको छ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्नुपर्छ। निर्वाचन भने माघ १२ मा हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा दलहरूले भाग लिने भएका छन्। आयोगले दिएको समयमा ती दलहरूले पार्टी दर्ता गरेका थिए।
आउँदो फागुन २० मा २० जना राष्ट्रिय सभा सदस्यकै पदावधि सकिँदैछ।
२० मध्ये १९ पदका लागि माघ १२ मा निर्वाचन हुन लागेको हो भने एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने हो।
नेकपा एमालेबाट ८, नेकपा माओवादी केन्द्रबाट चार, नेकपा (एकीकृत समाजवादी) का चार र नेपाली कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुनमा सकिँदैछ। ती पदहरूमा नै अहिले निर्वाचन गर्न लागिएको हो।
सत्तारूढ ५ दलले यी पदहरूमा भागबन्डा गरेर उम्मेदवार उठाउने भएका छन्।
जसअनुसार कांग्रेसले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले पाँच/पाँच, जसपाले २ र राष्ट्रिय जनमोर्चाले एक पदमा उम्मेदवारी दिने भएका छन्।
यो पनि: क-कसलाई बनायो कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका १९ उम्मेदवार (सूचीसहित)
एकीकृत समाजवादीले राष्ट्रिय सभाका उम्मेदवार टुंग्यायो
रिक्त १९ वटै पदमा नेकपा एमालेले पनि उम्मेदवारी दिने भएको छ। दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको तय गरेका छन्। माओवादीले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
यो पनि: राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई
आयोगका अनुसार पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिने निर्वाचन आयोगको भनाइ छ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जसपा, राप्रपा र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने आयोगले जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा मात्र भाग लिने आयोग स्रोतको भनाइ छ।
कहाँ हुन्छ निर्वाचन, को हुन् मतदाता?
निर्वाचनका लागि यसअघि नै सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेका छन्।
निर्वाचन अधिकृत नियुक्ति र मतदानस्थल तथा मतदान केन्द्र तोकिसकिएको छ।
निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम भएका छन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ।
यो पनि: प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पाँच दलीय गठबन्धनको चुनौती
निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहनेछन्। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले योजना बनाएको छ।
(राससको सहयोगमा)