जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँट टुंगो नलागेको बताएका छन्।
बिहीबार धनुषाको यदुकुहामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले सम्मानजनक सिट पाएपछि मात्र तालमेल गर्ने बताए।
गठबन्धनमा आवद्ध दलहरूले मधेसी जनताको हकअधिकारलाई सम्मान गरी शोषित, पीडित जनताको अधिकार दिलाउने प्रण गरे मात्र चुनावी तालमेल हुने उनले बताए।
'जसपा हरेक क्षेत्रमा एक्लै चुनाव लड्न सक्षम छ। कसैको बैसाखीको सहारा चाहिँदैन। अहिलेसम्म कुनै तालमेल सम्पन्न भएको छैन,’ उनले भने, ‘हामी खुला छौं, मिलेर लड्नुस् वा एक्लै लड्नुस्। मैदानमा लड्न जसपा सक्षम, तयार छ र लडेर देखाउँछ।’
धनुषा क्षेत्र नम्बर २ मा पनि जसपाले उम्मेदवार उठाउने उनले स्पष्ट पारे।
त्रुटिपूर्ण संविधान लादिएको भन्दै अध्यक्ष यादवले यो संविधान पुनर्लेखन, संशोधन गराउन र जनताका हितमा रूपान्तरण गर्न यो चुनाव संघर्ष रहेको दाबी गरे।
‘संविधान, पुराना कानुन बदल्दै जनताका हित गर्नुका साथै अरू परिवर्तन गर्न बाँकी छ,’ उनले थपे, ‘आज मुलुकमा जुन शासन प्रणाली र स्वरूप छ, संसारका धेरै मुलुकमा प्रयोग भइसकेको छ। नेपालमा पनि भइरहेको छ। यो प्रणाली राजनैतिक, अस्थिरता, सुशासन र समृद्धिको यात्रामा विल्कुल असफल भएको छ। यसलाई परिवर्तन गर्नुपर्छ।’
वर्तमान संसदीय व्यवस्थामा सत्ताका लागि खसीबाख्राको भाउमा सांसद बिक्री हुँदै आएको उनले टिप्पणी गरे।
‘कुनै महँगा हुन्छन्, कुनै सस्ता। जतातिर बिक्यो, उसकै सरकार बन्छ। त्यसैले सरकार सधैं अस्थिर भयो। अब सिधै जनताद्वारा निर्वाचित कार्यकारी राष्टपति प्रणाली हुनुपर्छ। अनि संसद खरिदबिक्री बन्द हुन्छ। सरकार ५ वर्षसम्म चल्छ। विकास, शान्ति र राजनैतिक स्थिरता हुन्छ,’ यादवले भने, ‘चुनावी प्रणाली नेपालमा बहुत खराब छ। किसान मजदुरका छोराछोरी जति राम्रा र योग्य होऊन्, महँगा चुनाव लड्न सक्दैनन्। महँगो लोकतन्त्रमा जनताको शासन हुन सक्दैन। धनाढय, हुनेखाने वर्गले चुनाव जित्छ। त्यसले भ्रष्टाचार पनि बढ्छ। यो चुनाव प्रणाली बदल्नु छ।’
समानुपातिक निर्वाचण प्रणाली ल्याउनुपर्ने पनि उनको धारणा छ। विश्वका विभिन्न देशमा ५० औं वर्षदेखि यो प्रणाली सफल भएको उनले दाबी गरे।
मुलुकमा असली समाजवादको आवश्यकता रहेको र त्यसतर्फ जसपा मात्र अघि बढेको अध्यक्ष यादवको भनाइ छ। कांग्रेस र कम्युनिस्ट पार्टीहरू समाजवाद भने पनि यस क्षेत्रमा कुनै काम नगरेको आरोप उनले लगाए।
‘यिनीहरूको समाजवाद ढोंग हो। यिनीहरू नक्कली समाजवादीको कुरा गर्छन्। असली समाजवादको लक्ष्य प्राप्तिका लागि जसपा अघि बढेको छ,’ उनले थपे, ‘नेपालमा गरिबी र बेरोजगारी अन्त्य गर्न सबभन्दा पहिले सभ्य र राम्रो शिक्षा आवश्यक छ। कृषिको आधुनिकीकरण, औद्योगीकरण, कृषिक्रान्ति जरूरी छ।’