इरानले मंगलबार नयाँ तरिका अपनाएर इसराइलमा सफल हमला गरेको दाबी गरेको छ।
सोमबार बिहान उज्यालो हुनुअघि इरानी मिसाइलले इसराइलको प्रमुख सहर तेल–अभिभ र बन्दरगाह सहर हाइफामा केही घरहरू ध्वस्त पारे। ती आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको इसराइलले पुष्टि गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले (आइआरजिसी) सो हमलाका लागि नयाँ तरिका अपनाएको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। इरानले इसराइलको विभिन्न तहको एयर–डिफेन्स सिस्टमलाई एकअर्कामाथि प्रहार गर्न लगाएर, नयाँ तरिकामा सफलतापूर्वक प्रहार गरेको आइआरजिसीले दाबी गरेको छ।
इसराइली एयर–डिफेन्स सिस्टमलाई कसरी झुक्क्याएको भनेर विस्तृत जानकारी इरानले दिएको छैन। युद्ध चलेको बेलामा इसराइली एयर–डिफेन्स सिस्टमलाई यसरी झुक्क्याएको भनेर इरानले खुलासा गर्ने कुरा पनि हुँदैन। इरानको यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
इसराइलले यसबारे अहिलेसम्म केही टिप्पणी गरेको छैन। उसले आफ्नो एयर–डिफेन्स सिस्टम शतप्रतिशत प्रभावकारी भएको कहिल्यै दाबी गर्दैन। सोमबार पनि झन्डै सय वटा इरानी मिसाइलमध्ये सात वटाले इसराइली भूमिमा क्षति पुर्याएको दाबी गर्यो।
इसराइलले इरानको आणविक हतियार कार्यक्रम रोक्न इरानमाथि बिहीबार भीषण आक्रमण गरेको थियो। इसराइलले स्वीकार नगरे पनि ऊसँग आणविक हतियार भएको मानिन्छ।
बिहीबारको हमलापछि दुवै देशले एकअर्कामाथि लगातार प्रहार गरिरहेका छन्।
अमेरिकामा बनेका अत्याधुनिक फाइटर–जेटहरू प्रयोग गरेर इसराइलले अहिले इरानको आकाशमाथि कब्जा जमाएको छ।
गत अक्टोबरको आक्रमणमा इसराइलले इरानका एयर–डिफेन्स सिस्टम ध्वस्त पारेको दाबी गरेको थियो। मिसाइल कारखानामा पनि प्रहार गरेको थियो।
बिहीबारको आक्रमणमा पनि इसराइलले सुरूमा इरानको एयर–डिफेन्स सिस्टममा प्रहार गरेको थियो। त्यसैले अहिले इसराइलले इरानभित्र बिना रोकटोक जहाँ चाह्यो, त्यहाँ प्रहार गरिरहेको छ। इरानले गरेको प्रहार भने इसराइली एयर–डिफेन्स सिस्टमले रोक्छ। अमेरिकाले पनि केही हदसम्म इरानी मिसाइल रोक्न सहयोग गरिरहेको मानिन्छ।
इसराइलको एयर–डिफेन्स सिस्टम अभेद्दय जस्तो मानिन्छ। यसलाई भेद्न इरानले एकै पटक सयौं मिसाइल प्रयोग गरेर धान्न नसक्ने पार्ने उसको लामो समयदेखिको योजना छ।
सिमाना नजोडिएकाले इरानले इसराइल घेराबन्दी गर्न छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेसिस्टेन्स' भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो।
दसौं हजार आधुनिक हतियार भएको उत्तरी सीमामा रहेको हिजबुल्लाह, इरान र हिजबुल्लाहको सहयोगले टिकिरहेको सिरियाको असद सरकार अनि हमास इरानका लागि रक्षा कवच जस्तै थिए।
सिमाना जोडिएका लेबनन, सिरिया र गजाबाट एकै पटक हजारौं कम शक्तिशाली रकेटले नै प्रहार गरे पनि इसराइलको एयर–डिफेन्स सिस्टमले धान्न गाह्रो पर्थ्यो। त्यस्तोमा इरानले शक्तिशाली मिसाइल पनि प्रहार गर्ने हो भने भौगोलिक रूपमा सानो इसराइलमा ठूलो नोक्सान हुन सक्थ्यो। त्यही भएर इसराइल पहिले इरानमाथि प्रत्यक्ष आक्रमण गर्न डराउँथ्यो।
अहिले भने इसराइलले लेबननमा हिजबुल्लाह र गजामा हमासलाई तहसनहस पारेको छ। गत डिसेम्बरमा सिरियामा असदको सत्ता ढलेपछि इरानको 'एक्सिस अफ रेजिस्टेन्स' धराशायी भएको छ। यमनमा हुथी विद्रोही बाँकी नै रहे पनि तुलनात्मक रूपमा हिजबुल्लाह र सिरियाजति शक्तिशाली छैन।
लेबनन र सिरियाको जस्तो यमनको सिमाना इसराइलसँग जोडिएको पनि छैन। त्यसैले यमनबाट लेबनन र सिरियाबाट जस्तो छोटो दुरीका धेरै हतियार प्रयोग गरेर इसरालमाथि प्रहार गर्न सम्भव छैन।
त्यसैले अहिले इरानले आफै इसराइलमाथि प्रहार गर्नुपरेको छ।
इसराइलले यसपालि सुरूमै इरानी मिसाइल भण्डार, कारखाना र मिसाइल प्रहार गर्ने 'लन्चर' हरूलाई निशाना लगाएको थियो। त्यसैले इरानले पहिलेजस्तो एकै पटक इसराइली एयर–डिफेन्स सिस्टम धराशायी पार्ने गरी ठूलो संख्यामा मिसाइल प्रहार गर्न नसक्ने मानिन्छ।
बाँकी रहेका मिसाइल इरानले किफायती र होसियारीका साथ प्रयोग गर्नुपर्छ। प्रयोग गरे पनि, इसराइलसँग अत्याधुनिक प्रविधि भएकाले उसले मिसाइल कहाँ राखिएको छ र कहाँबाट प्रहार भएको भनेर पत्ता लगाएर इरानभित्रै गएर तिनलाई नष्ट पार्ने खतरा पनि हुन्छ।
इरानले इसराइली प्रहारबाट जोगिन आफ्नो एयर–डिफेन्स सिस्टम र वायु सेनामा लगानी गर्नुको साटो 'एक्सिस अफ रेसिस्टेन्स' चलाउन धेरै खर्च गरेको थियो। इरानमाथि आक्रमण गरे हिजबुल्लाह, हमास र सिरियाले एकैचोटि आफूमाथि प्रहार गर्ने डर इसराइललाई थियो।
इरानको सो नीतिले यतिन्जेलसम्म काम गरेको थियो। इसराइलबाट हुने आक्रमणबाट जोगाउने मात्रै नभएर सो नीति अपनाएर इरानले छिमेकमा व्यापक प्रभाव विस्तार समेत गरेको थियो।
इरानजस्तै शियाको बाहुल्यता रहेको इराकमा अल्पसंख्यक सुन्नीको शासन चलाइरहेका सद्दाम हुसैनको सत्ता सन् २००३ मा अमेरिकाले ढालेपछि इरानलाई झन् सजिलो भएको थियो। हुसैन नेतृत्वको इराकसँग लामो समय चलेको युद्ध नहारे पनि इरानले धेरै क्षति बेहोर्नुपरेको थियो।
आफ्नो चरम शत्रु हुसैनको सत्ता आफ्नो दुश्मन अमेरिकाले ढलाएपछि इरानलाई इराकबाट खतरा रहेन। इराकमा पनि आफ्नो प्रभाव विस्तार भएपछि त झन् 'एक्सिस अफ रेसिस्टेन्स' चलाएर इरान मध्यपूर्वको सबभन्दा शक्तिशाली मुस्लिम राष्ट्र बन्यो।
सिरिया, लेबनन, इराक, यमन लगायत देशमा आफू अनुकूल शासन चलाएर इरानले इसराइल, साउदी अरेबिया लगायत छिमेकका शत्रु राष्ट्रलाई ठूलो तनाव दिएको थियो।
हमासले गरेको हमलापछि भने इसराइलले बिस्तारै एक्सिस अफ रेसिस्टेन्स धराशायी पारेको छ। त्यसै कारण इसराइलले इरानमाथि अहिले आक्रमण गर्न आँट गरेको हो। एक्सिस अफ रेसिस्टेन्स कमजोर भएपछि इसराइलले आफूमाथि हमला गर्छ भन्ने डरले इरानले पछिल्ला महिनामा आणविक हतियार कार्यक्रम द्रुत गतिमा अघि बढाएको मानिन्छ।
अर्कोतर्फ, इरानले आणविक हतियार बनाए आफूलाई ध्वस्त पार्छ भन्ने डरले इसराइलले उसलाई रोक्न बिहीबार हमला गरेको हो। एक्सिस अफ रेसिस्टेन्स चलाएर त्यति दुःख दिइरहेको इरानले आणविक हतियार बनाए आफ्नो अस्तित्व नै खतरा पर्ने इसराइलको जिकिर छ।
अहिले इरान भने संकटमा छ। एयर–डिफेन्स सिस्टम र वायु सेनामा विगतमा पर्याप्त लगानी नगरेकामा उसले व्यापक क्षति बेहोरिरहेको छ। इसराइलले आफ्नो भूमिमा छिरेर जथाभावी हमला गर्दा पनि निरीह बनेको छ। इसराइलको एयर–डिफेन्स सिस्टम भेदेर ठूलो क्षति पुर्याउन पनि सकेको छैन।
इसराइलले आफूमाथिको हमला निस्तेज पार्न फाइटर–जेटबाहेक अमेरिकी सहयोगमा विकास गरेको एयर–डिफेन्स सिस्टम प्रयोग गर्छ। इसराइलसँग आइरन डोम, स्पाइडर, डेभिड्स स्लिङ र एरो डिफेन्स सिस्टम छन्।
स्पाइडर सिस्टमले विमान, हेलिकप्टर लगायतबाट हुने मिसाइल आक्रमणबाट जोगाउँछ। यसमा प्रयोग हुने रक्षात्मक मिसाइलले ६ माइलमाथि (उचाइ) र ६२ माइल टाढा पुगेर आक्रमणमा प्रयोग भएको हतियार झार्छ।
डेभिड्स स्लिङले १५ माइल उचाइ र १८६ माइल पर पुगेर ब्यालिस्टिक र क्रुज मिसाइल झार्छ। स्पाइडर र डेभिड्स स्लिङले धेरै उचाइबाट निशानामा पुग्नुअघि वायुमण्डलमा फेरि छिरेका मिसाइल नष्ट गर्छन्।
इसराइलसँग भएको सबभन्दा लामो दुरीमा काम गर्ने डिफेन्स सिस्टम एरो हो। यसले ६२ माइल माथि र १४९१ माइल टाढासम्म पुगेर आक्रमणमा प्रयोग भएका ब्यालिस्टिक र क्रुज मिसाइल झार्छ।
इसराइलको सबभन्दा चर्चित डिफेन्स सिस्टम भने आइरन डोम हो। यसको प्रयोग कुनै देशले गर्ने मिसाइल आक्रमणको बचाउमा भन्दा पनि इरान प्रायोजित विभिन्न समूहले इसराइलको सीमा नजिकैबाट प्रहार गर्ने छोटो दुरीका कमसल रकेट र अरू हतियार रोक्न हुन्छ।
इसराइलले सन् २०११ देखि प्रयोगमा ल्याएको आइरन डोमले हमास, हिजबुल्लाह र इराक–सिरियामा रहेका शिया मिलिसियाहरूले हान्ने रकेट लगायत छोटा दुरीका हतियारबाट जोगाउँदै आएको छ।
आइरन डोम यताउता चलाउन मिल्ने डिफेन्स सिस्टम हो। यसलाई चाहिएको ठाउँमा पठाउन मिल्छ। यसले लगभग ५८ वर्ग माइलसम्मको क्षेत्रमा सुरक्षा प्रदान गर्छ।
यो सिस्टममा रडारले आउँदै गरेको रकेटको गति र रूटबारे सूचना दिन्छ। त्यसपछि त्यो रकेट कहाँ खस्छ भन्ने आकलन गरिन्छ। मान्छे नभएको वा क्षति नहुने ठाउँमा झर्ने देखियो भने त्यत्तिकै छोडिदिन्छ।
जनधनको क्षति हुने देखियो भने रकेट रोक्न तमिर भन्ने मिसाइललाई 'इन्टरसेप्टर' (रोक्ने वस्तु) का रूपमा प्रयोग गरिन्छ। एकचोटिमा बीस वटासम्म तमिर मिसाइल प्रयोग गर्न सकिन्छ। यी इन्टरसेप्टरले छोटो दुरीमा भएका रकेट, ड्रोन लगायत हतियार खसाल्छन्।
यस्तो इन्टरसेप्टर महँगो हुन्छ। एउटैमा ४०–५० हजार अमेरिकी डलरभन्दा बढी खर्च हुन्छ। त्यसैले सस्ता ड्रोन वा रकेटविरूद्ध यसको प्रयोग गर्नु इसराइलका लागि खर्चिलो पर्छ।
यस्तो खर्च कम गर्न इसराइलले लेजर किरण प्रयोग गरेर हतियार झार्ने प्रणाली विकास गरेको छ। यसलाई आइरन बिम नाम दिइएको छ। यसले आइरहेको हतियारमा लेजर किरण प्रयोग गर्छ र तताएर त्यो हतियार बिस्फोट गराइदिन्छ।
यो सिस्टमले आइरन डोमको लगभग एकतिहाइ दुरीसम्म मात्र काम गर्छ। तर हतियार खसाउने खर्च केही डलर मात्रै पर्छ। त्यसैले सस्ता ड्रोन र रकेट रोक्न यो राम्रो विकल्प हुन्छ। इरानसँगको जारी युद्धमा ड्रोन र रकेट झार्न इसराइलले यो प्रणाली प्रयोग गरेको छ कि छैन भनेर अहिलेसम्म खुलेको छैन।
इसराइलको यति बलियो एयर–डिफेन्स सिस्टम भेद्ने इरानका लागि एक मात्र उपाय भनेको एकै पटक हजारौं हतियारले प्रहार गरेर धराशायी पार्ने मानिन्थ्यो।
एक्सिस अफ रेसिस्टेन्स धराशायी भइसकेकाले गजा, लेबनन र सिरियाबाट अहिले इसराइलमाथि प्रहार भएको छैन। हुथी समूह इसराइलबाट धेरै टाढा यमनमा भएकाले लामो दुरीका हतियार प्रहार गर्नुपर्छ। एयर–डिफेन्स सिस्टम धराशायी पार्ने गरी हुथीसँग ठूलो संख्यामा लामो दुरीका हतियार छैनन्।
इरानले पनि आफ्ना मिसाइल नष्ट भएको वा भएका हतियार किफायती रूपमा चलाउने नीति अपनाएका कारण इसराइली एयर–डिफेन्स सिस्टम धराशायी पार्ने गरी प्रहार गर्न सकिरहेको छैन।
यस्तोमा इरानी आकाश कब्जा गरेर इसराइलले मनलाग्दी प्रहार गरिरहँदा इरानले भने इसराइलमा आक्कल झुक्कल मात्रै नोक्सान पुर्याउन सकेको छ।
इरानले दाबी गरे जस्तो विभिन्न तहको इसराइली एयर–डिफेन्स सिस्टमलाई एकअर्कामाथि प्रहार गर्न लगाएर सफलतापूर्वक आक्रमण गरेको हो भने चाहिँ इसराइलका लागि खतरा हुन सक्छ।
आफूमाथि हुने इसराइली प्रहार रोक्न नसके पनि इरानले सो नयाँ तरिका अपनाएर प्रहार गर्न सक्छ।
युद्ध तन्किँदै जाँदा इरानको जस्तै इसराइलले पनि क्षति बेहोर्नुपर्ने हुन्छ। त्यस्तो भएमा अहिले आक्रामक देखिएको इसराइलले पनि युद्ध विरामबारे सोच्नुपर्ने हुन्छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)