नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्यहरूको भेला भएको छ।
काठमाडौंको शंकरदेव क्याम्पसमा शनिबार भेला भएको हो।
भेलामा नेविसंघका पूर्व केन्द्रीय समिति सदस्य, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
भेलामा संगठनको वर्तमान अवस्था, अधिवेशनको तयारी, विद्यार्थी आन्दोलनको दिशा तथा संगठनभित्रको आन्तरिक लोकतन्त्रका विषयमा विस्तृत छलफल गरिएको निवर्तमान प्रवक्ता सुरज सेजुवालले बताए।
सहभागीहरूले संगठनलाई वैधानिक, लोकतान्त्रिक र विधिसम्मत ढंगबाट अगाडि बढाउन अधिवेशन अनिवार्य रहेको धारणा व्यक्त गरेका थिए।
भेलाले पार्टीले तत्काल निर्वाचन समिति गठन गरी निर्धारित समयभित्र लोकतान्त्रिक विधिअनुसार अधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ।
संगठनमा मनोनयनको संस्कृतिभन्दा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्नेमा भेलाले जोड दिएको थियो।
नेविसंघको यसअघिको कार्यसमिति निर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि विघटनमा परेको थियो।