आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्ला एक्लै प्रतिस्पर्धामा जाने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएकामध्ये १०२ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको बताए।
उनका अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन्। यस आधारमा कुल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
एकल र संयुक्त चुनाव चिह्न प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने उनले जानकारी दिए।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यक्रम पनि आइतबारबाट सुरू गरेको छ। समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलबारसम्म निवेदन दिन सक्नेछन्।
प्राप्त निवेदन अध्ययन गरी मंसिर २६ सम्म स्वीकृत गरिनेछ। आगामी पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ।
बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ। प्रत्यक्षतर्फ आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
एक्ला एक्लै र संयुक्त चुनाव लड्ने गरी कसले पाए कुन चिह्न, हेर्नुहोस् सूची —