काठमाडौंको मध्यभागमा समयका असङ्ख्य प्रहार र परिवर्तनका अनेकौं आँधीबेहरी सहँदै एउटा पुरानो भवन अझै आफ्नो अस्तित्वको साक्षी बनेर उभिएको थियो। महेन्द्र भवन स्कुल।
त्यसका भित्ताहरूमा वर्षौं पुराना रङका पत्रहरू उप्किएका थिए। काठका झ्यालहरूमा समयको धूलो जमेको थियो। अलिकति हावा चल्दा ती झ्यालहरू यसरी सुस्केरा हाल्थे, मानौँ विगतका कुनै विस्मृत कथाहरू फेरि एकपटक सुनाउन खोजिरहेका हुन्।
भर्याङका प्रत्येक खुड्किलामा अनेक पुस्ताका पाइतालाका पदचिह्न, हाँसो, आँसु र स्मृतिहरू अदृश्य अक्षर बनेर कुँदिएका थिए। लाग्थ्यो, त्यहाँ विद्यार्थीहरू मात्र पाठ पढ्दैनथे, समय स्वयं पनि आफ्ना पुराना पाठहरू दोहोर्याइरहेको थियो। विद्यालयकी प्रधानाध्यापक मनोरमा राणाको चस्मामा ती जीर्ण भित्ताका रङहरू छरपस्ट प्रतिबिम्बित हुन्थे। मानौँ समयले आफ्नो थाकेको अनुहार त्यहीँ छोडेर गएको होस्।
त्यही विद्यालयको कक्षा दशमा पढ्थी सभ्यता।
गहुँगोरो अनुहार, गहिरा र भावपूर्ण आँखा अनि मुस्कुराउँदा उज्यालोले भरिने ओठ। तर उसको वास्तविक सुन्दरता अनुहारको बनोटमा होइन, भावनाको गहिराइमा थियो। ऊ हाँस्दा ओठ मात्र हाँस्दैनथे, आँखा, गाला र कहिलेकाहीँ उसको मौनतासमेत मुस्कुराउँथ्यो। उसको हाँसोमा यस्तो निष्कपट उज्यालो थियो, जसले वरपरको उदासीलाई पनि केही क्षणका लागि बिर्साइदिन्थ्यो।
साथीहरू उसलाई जिस्क्याउँदै भन्थे, 'सभ्यता त भावनाले नै राम्रो हाँस्छे!'
ऊ ओठको कुनामा मुस्कान सजाउँदै जबाफ दिन्थी, 'भावना नाम नराम्रो होइन। तर मलाई ‘भावना’ भनेर बोलाउनेले नामले होइन, मनले चिनेको हुनुपर्छ।'
त्यतिबेला त्यो एउटा सामान्य ठट्टा मात्र थियो। उमेरको चञ्चलतामा उच्चारण भएको हलुका वाक्य। कसलाई के थाहा, वर्षौँपछि त्यही सम्बोधन एउटा मानिसको जीवनको सबैभन्दा प्रिय, गहिरो र अमिट परिचय बन्नेछ!
जीवनका केही अर्थहरू तिनको जन्मकै क्षणमा बुझिँदैनन्। समयले तिनलाई अर्थ दिन्छ, अनुभवले गहिराइ दिन्छ र स्मृतिले अमर बनाउँछ। महिनामा एक पटक प्रहरी अधिकारीहरू विद्यालयमा आएर समाज, अपराध, लागुऔषध दुर्व्यसन, सवारी र अनुशासन तथा व्यक्तिगत सुरक्षाजस्ता विषयमा कक्षा लिन्थे। तिनै अधिकारीहरूमध्ये एक थिए—मानस।
प्रहरीको पोसाकमा उसको व्यक्तित्व दृढ र अनुशासित देखिन्थ्यो। तर आँखामा पोसाकले समेत छोप्न नसकेको एउटा अनौठो कोमलता थियो। उसका शब्दहरू विनम्र हुन्थे। ती केवल किताबका पानाबाट टिपिएका जानकारीजस्ता लाग्दैनथे। बरू जीवनका अनेक घाउ, अनुभव र मानवीय संवेदनाबाट निस्किएका निष्कर्षजस्ता सुनिन्थे।
अपराधका विषयमा ऊ भन्थ्यो, 'अपराध एकै दिन जन्मिँदैन। त्यसको बीउ प्रायः वञ्चना, अभाव र अन्यायको माटोमा रोपिएको हुन्छ। जसलाई जीवनले पटक–पटक न्याय दिन अस्वीकार गर्छ, उसले कुनै दिन आफ्नै हातले न्याय खोज्न थाल्छ।'
सडक सुरक्षाबारे उसको भनाइ हुन्थ्यो, 'सडकमा हरेक मानिस आफ्नो गन्तव्यतर्फ मात्र गइरहेको हुँदैन। ऊ कसैको प्रतीक्षा, कसैको सपना र कसैको सम्पूर्ण संसार बोकेर हिँडिरहेको हुन्छ।'
कक्षाको घण्टी बज्थ्यो। विद्यार्थीहरू हल्ला गर्दै भर्याङ ओर्लन्थे। मानस आफ्ना कागजपत्र समेटेर विद्यालयबाट बाहिरिन्थ्यो। तर सभ्यताको अन्तर्मनमा भने कुनै अपरिचित घण्टी निरन्तर बजिरहन्थ्यो। पन्ध्र वर्षको उमेरमा मनमा उठेको पहिलो कम्पनको नाम कसलाई थाहा हुन्छ र? त्यो प्रेम हो कि आकर्षण, श्रद्धा हो कि कौतूहल। किशोर मनको पनि अनुभूति भने पूर्ण हुन्छ। ती दिनपछि सभ्यता बिहान ऐनाअगाडि उभिँदा आफ्नै आँखासँग अपरिचित हुन थाली। ती आँखाभित्र कसैले नदेख्ने गरी एउटा आकृति बसेको थियो। उसले त्यसलाई हटाउने प्रयास गरिन, न त खुलेर स्वीकार नै गरी। केवल एउटा गोप्य अनुभूतिजस्तै हृदयको एकान्त कुनामा सजाएर हिँड्न थाली।
उसलाई थाहा थिएन, त्यो अनुभूति कहाँ पुगेर रोकिनेछ। किनकि मनले कहिलेकाहीँ गन्तव्य नचिनी नै यात्रा सुरू गरिसकेको हुन्छ। सभ्यताको विद्यालय सकियो, कलेज सकियो। जीवनमा केही सपना बुनिए, केही समयअगावै ओइलाए। केही मानिस नजिक आए, केही स्मृतिको धुलो बनेर समयसँगै हराए। बाल्यकालका निष्कपट रहरहरू क्रमशः जिम्मेवारीका भारीले थिचिँदै गए।
किशोरावस्थाको त्यो नाम पनि दैनिक जीवनका व्यस्ततामुनि पुरिँदै गयो तर मेटिएन, केवल देखिन छाड्यो। किनकि समयले सबै कुरा बिर्साउँदैन। कहिलेकाहीँ उसले सम्झनालाई यति गहिरो ठाउँमा पुर्याइदिन्छ कि मानिस स्वयंले पनि त्यसको उपस्थिति बिर्सिएको ठान्छ।
पछि सभ्तताको विवाह एक पाइलटसँग भयो।
उसका लागि आकाश केवल पेसाको क्षेत्र थिएन, विश्वासको एउटा विशाल संसार थियो। उडानअघि कहिलेकाहीँ ऊ सभ्यतालाई भन्थ्यो, 'पृथ्वीमा दूरी माइलमा नापिन्छ, समय मिनेटमा। तर आकाशमा सबै कुरा विश्वासले नापिन्छ।'
उसको उपस्थितिले घरलाई एउटा सुरक्षित आश्रयस्थल बनाएको थियो। छोरा जन्मियो, त्यसपछि छोरी। बैठक कोठामा बालबालिकाका खेलौनाहरू छरिन्थे, भान्साबाट चियाको बाफ उठ्थ्यो, साँझ ढोकामा परिचित पाइला सुनिन्थ्यो। घरका भित्ताहरूमा बालबालिकाको हाँसो प्रतिध्वनित हुन्थ्यो।
जीवन आफ्नै लयमा अघि बढिरहेको थियो। घरभित्र खुसी थियो र भोलिप्रतिको एउटा निश्चिन्त विश्वास थियो। सभ्यताले पनि सायद जीवनको पूर्णता यही हो भन्ने ठानेकी थिई। आफ्ना प्रिय मानिसहरू सुरक्षित रहून्, घरको दियो बलिरहोस् र भोलिको बिहान आजभन्दा अलिकति उज्यालो भएर आओस्।
तर जीवनको एउटा कठोर विडम्बना छ। हामीले सबैभन्दा कम सम्झेको क्षणमै उसले सबैभन्दा ठूलो परीक्षा लिन्छ।
एक दिन घरको ढोका ढकढकियो।
सभ्यताले ढोका खोल्दा सिँढीमा मानस उभिएको थियो।
वर्षहरूले उसको अनुहारमा परिपक्वताका केही रेखाहरू थपेका थिए। पदले परिचयमा केही गरिमा थपेको थियो, तर आँखामा भने उही पुरानो न्यानोपन सुरक्षित थियो। ऊ छिमेकमा आएको समयमा सभ्यता पनि त्यही घरमा बस्छे भन्ने सुनेर भेट्न आएको थियो। भेट दश मिनेटको मात्र भयो। चिया टेबलमा राखियो, तर सेलाउन्जेल कसैले ओठ लगाएन। उनीहरूले एकअर्कालाई समेट्ने प्रयास गरे। समयको विडम्बना कस्तो विचित्र हुन्छ। कहिलेकाहीँ वर्षौँको दूरी पार गरेर दुई मानिस आमनेसामने उभिन्छन्, तर उनीहरूबीच बोल्नुपर्ने कुरा दश मिनेटको मौनताभन्दा लामो हुँदैन।
मानस जाँदै गर्दा सभ्यताको आँखामा मोतीका दानाझैँ आँसु टल्पलाएका थिए। ऊ एकछिन रोकियो। सभ्यताको नजिक आयो। उसको न्यानो श्वास सभ्यताको निधारमा स्पर्श गरेर गयो। त्यो क्षणमा शब्दहरूको कुनै आवश्यकता थिएन। दुवैले एकअर्काको भावनाको भाषा पढिसकेका थिए।
जुत्ताको आवाज भर्याङका खुड्किलाहरूमा बिस्तारै बिलाउँदै गयो र ढोका बन्द भयो। तर कहिलेकाहीँ केही मिनेटको भेटले वर्षौँदेखि निदाएको मनलाई एकैपटक ब्युँझाइदिन्छ।
मानस गएपछि सभ्यतालाई लाग्यो, उसको हृदयको कुनै बन्द कोठाको झ्याल अचानक खुलेको छ। त्यहाँ पन्ध्र वर्षकी एउटी किशोरी अझै उभिएकी थिई, हातमा कापी च्यापेर, आँखा कालोपाटीमा टिकाएर मानसको व्याख्यान सुनिरहेकी। समयले उसको शरीरलाई वयस्क बनाएको थियो, तर स्मृतिभित्रको त्यो किशोरी अझै उही उमेरमा रोकिएकी थिई।
उसले आफ्नो भावनालाई फेरि आफैँभित्र बाँधेर राखी। मानस विवाहित थियो, ऊ स्वयं पत्नी र आमा थिई। जीवनका मर्यादा नाघेर प्राप्त गरिने कुनै निकटता उसलाई चाहिएको थिएन। उसले भावनालाई माग बनाएर होइन, मौन स्मृतिका रूपमा सुरक्षित राखी। पहाडी आँगनमा लामो डोरीले पुरानो ढुङ्गासँग बाँधिएको बाख्रीझैँ उसको चाहना पनि आफ्नै सीमाभित्र बाँधिएको थियो। तर त्यही सीमाभित्र उसले आफ्नो अस्तित्वको सुरक्षा भेटेकी थिई। उसलाई थाहा थियो, हरेक चाहना पूरा हुनैपर्छ भन्ने छैन। केही चाहनाहरूलाई पूरा गर्न खोज्नु तिनको सौन्दर्य नष्ट गर्नु पनि हुन सक्छ।
आफ्नो डायरीमा उसले लेखी— 'केही मानिस हाम्रो जीवनको बाल्कनीमा फुलेका फूलजस्ता हुन्छन्। वर्षौँसम्म तिनलाई छुन नपाए पनि तिनीहरू ओइलाउँदैनन्। सम्झनाको हल्का बतास चल्नासाथ तिनको सुगन्धले मनको सिङ्गो आकाश भरिदिन्छ। तिनलाई टिपेर फूलदानीमा सजाउनैपर्छ भन्ने छैन, कहिलेकाहीँ टाढैबाट तिनको सुगन्ध महसुस गर्न पाउनु नै जीवनको एउटा सुन्दर प्राप्ति हुन्छ।'
वर्षहरू बित्दै गए।
अनि एक दिन आकाशले आफ्नो सबैभन्दा निर्दयी अनुहार देखायो।
पतिको विमान दुर्घटनामा परेको समाचार घरमा आइपुग्दा त्यहाँको हावा एकाएक बाक्लिएर आयो। मानिसहरू बोलिरहेका थिए, फोनहरू बजिरहेका थिए, आफन्तहरू आइरहेका थिए। तर सभ्यताका लागि ती सबै आवाज कुनै टाढाको ग्रहबाट आएका अस्पष्ट प्रतिध्वनिजस्ता थिए। उसले केही सुनिन, केही बुझिन। शब्दहरू कानसम्म आइपुग्थे, तर अर्थ बन्नुअघि नै कतै हराउँथे।
समय त्यही क्षणमा आएर अड्किएझैँ भयो।
जीवनले आफ्नो सबैभन्दा परिचित अनुहार एकैपटक खोसेर लगेको थियो। त्यसपछि उसको जीवन दुई खण्डमा विभाजित भयो। दुर्घटनाअघिको पूर्ण जीवन र दुर्घटनापछिको रिक्त अस्तित्व।
दराजमा पतिको पोसाक जस्ताको तस्तै झुन्डिरह्यो। काँधका चिह्न, इस्त्री गरिएका बाहुला र खल्तीमा छुटेको एउटा कलम। कसैले हटाउने साहस गरेन। त्यो पोसाक अब कपडाको थुप्रो मात्र थिएन। फर्केर कहिल्यै नआउने मानिसको अनुपस्थित आकार थियो। प्रत्येक पटक दराज खोल्दा सभ्यतालाई लाग्थ्यो, अनुपस्थितिले पनि कुनै अदृश्य पोसाक लगाउँदो रहेछ। मानिस नहुँदा पनि उसका वस्तुहरूले उसको उपस्थिति जोगाइराख्दा रहेछन्। सायद वस्तुहरू निर्जीव हुँदैनन्, तिनमा हामीले राखेका स्मृतिहरूले तिनलाई जीवन दिन्छन्।
तीन वर्षसम्म ऊ लगभग घरका चार भित्ताभित्र कैद भई। ओछ्यान नै उसको संसार बन्यो, झ्याल आकाशसँगको एक मात्र सम्पर्क। तर विडम्बना, त्यही आकाशसँग अब उसलाई घृणा थियो। मृत्युले पनि आफ्नो शिकार छनोट गर्छ भने सबैभन्दा प्रिय मानिस नै किन रोज्छ? जीवनको अर्थ यति निर्मम हुन सक्छ भने हामीले बनाएका आशा र विश्वासहरूको आधार के हो? के मानिसले आफ्नो भविष्य आफैँ निर्माण गर्छ, कि ऊ केवल कुनै अदृश्य शक्तिले कोरेको नक्सामा हिँडिरहेको यात्री मात्रै हुन्छ?
उसको कपालको चमक हराउँदै गयो। शरीरको बनावट बदलियो, अनुहारको कान्ति हरायो। औषधिका चक्कीहरूले निद्रा त दिन्थे, तर बाँचिरहनुपर्ने कारण दिन सक्दैनथे। बिहान हुन्थ्यो, साँझ पर्थ्यो, रात बित्थ्यो। तर उसका लागि हरेक दिन एउटै लामो, अन्त्यहीन रातजस्तो थियो। घडीका सुईहरू चलिरहेका थिए, तर उसको जीवनको घडी भने त्यही दुर्घटनाको क्षणमा रोकिएको थियो।
प्रेमलाई कुन भेषमा फर्कनुपर्छ भन्ने ज्ञान हुँदैन। कहिले आँसु बनेर आउँछ, कहिले आक्रोश, कहिले मौनता र कहिले आफैँलाई दिइएको असह्य यातना बनेर। हामी जसलाई सबैभन्दा बढी प्रेम गर्छौँ, उसैको अनुपस्थितिले कहिलेकाहीँ हामीभित्र सबैभन्दा गहिरो घृणा जन्माउँछ। तर त्यो घृणा पनि अन्ततः प्रेमकै छायाँ हुन्छ, उज्यालो हराएको ठाउँमा बाँकी रहेको अँध्यारो।
तीन वर्षपछि जीवनले एउटा सानो झ्याल खोल्यो—सामाजिक सञ्जालको नीलो पर्दा।
त्यहाँ अनुहारभन्दा पहिले शब्द भेटिन्थे, हातभन्दा पहिले मनको स्पर्श अनुभूत हुन्थ्यो। सञ्चारका अनेक माध्यम आए, तर कुनै माध्यमले पनि मनभित्रको दूरी पूर्णतः मेटाउन सकेको छैन। यद्यपि कहिलेकाहीँ एउटा सानो पर्दाले त्यस्तो ढोका खोलिदिन्छ, जहाँबाट वर्षौँदेखि बन्द भावनाहरू फेरि बाहिर निस्कन सक्छन्।
एक दिन मानसको सन्देश आयो—
'कस्ती छौ?'
त्यो एउटा छोटो प्रश्नको जबाफ दिन सभ्यतालाई तीन सेकेन्ड लाग्यो कि तीन वर्ष, उसले छुट्याउन सकिनँ।
काँपिरहेका औँलाहरूले उसले लेखी—
'बाँचिरहेकी छु।'
त्यसपछि शब्दहरू बिस्तारै बग्न थाले। महेन्द्र भवनका जीर्ण झ्यालहरू, पुराना साथीहरू, जीवनका उकाली–ओराली, विमान दुर्घटना, औषधि, छोराछोरी र रातको निस्तब्धता, सबै कुरा अक्षरका माध्यमबाट खुल्दै गए। रातको दुई बजे मोबाइलको नीलो उज्यालो उसको अनुहारमा पर्थ्यो। धेरै समयपछि ऊ कसैसँग आफ्ना घाउहरू लुकाउन बाध्य थिइन। उसले आफूलाई बलियो देखाउने अभिनय गर्नुपर्दैनथ्यो। आँसुका पछाडि लुकेको आवाजलाई शब्द दिन सक्थी।
डाक्टरका औषधिहरूले उसलाई राति निदाउन सघाउँथे। मानसका शब्दहरूले बिहान उठ्न। एक साँझ सभ्यताले वाइनको गिलास भरी। गिलास टेबलमा राखिरही, ओठसम्म पुर्याइन। नशा अंगुरको रसमा थिएन, तीन वर्षदेखि हृदयको अँध्यारो कोठामा थुनिएर बसेको मौनतामा थियो।
त्यस रात उसले मनको सबैभन्दा सुरक्षित ढोका खोल्दै लेखी—
'मानस, म तिमीलाई प्रेम गर्छु। महेन्द्र भवनको त्यो कक्षादेखि नै। यो स्वीकारोक्ति कुनै लेनदेन होइन, न त कुनै अपेक्षा। तिमीबाट केही प्राप्त गर्न म यो लेखिरहेकी छैन। यो त केवल एउटा आत्माले जीवनको कुनै मोडमा उच्चारण गर्नैपर्ने सत्य हो। जसलाई धेरै वर्षसम्म मौनताको बाक्लो पर्दाले छोपेर राखिएको थियो। म जान्दिनँ, यसलाई प्रेम भन्नु उचित हुन्छ कि कुनै अधुरो अनुभूतिको निरन्तरता। तर यति जान्दछु, जीवनका धेरै मोडहरू पार गर्दा पनि मनको एउटा कुनामा तिम्रो नाम कहिल्यै मेटिएन।'
सन्देश पठाएपछि ऊ धेरै बेर रोई।
मानिसहरूले पछि भन्न सक्थे, वाइनले बोलायो। तर मनको भाषा बुझ्नेले थाहा पाउँथ्यो, मदिराले प्रेम जन्माउँदैन, वर्षौँदेखि बन्द बाकसको बिर्को मात्र खोलिदिन्छ। भावना कुनै क्षणको आवेग होइन, त्यो त समयको गर्भमा लामो समयसम्म मौन बसेर पनि जीवित रहन सक्ने सत्य हो।
त्यसबेलासम्म मानसले समाजशास्त्रको प्राध्यापक र लेखकका रूपमा आफ्नो छुट्टै परिचय बनाइसकेको थियो। दिनमा ऊ विद्यार्थीहरूलाई समाजका संरचना, सम्बन्ध र मानवीय व्यवहारका जटिलताहरू बुझाउँथ्यो। राति भने मानिसका ओठसम्म आएर पनि उच्चारण हुन नसकेका भावनाहरूलाई अक्षरमा उतार्थ्यो।
सभ्यताको सन्देश पढ्दा ऊ पहिले लेखक बन्यो, त्यसपछि मात्र मानिस।
उसलाई लाग्यो, कस्तो विलक्षण कथानक! कक्षा दशकी एउटी छात्रा, विद्यालयमा अतिथि शिक्षक बनेर आएको प्रहरी अधिकारी, दशकौँपछिको आकस्मिक पुनर्भेट, विमान दुर्घटनाले एक्लिएकी स्त्री र जीवनका अँध्यारा गल्लीहरूबाट गुज्रिएपछि गरिएको प्रेमको स्वीकारोक्ति। टाढाबाट हेर्दा हरेक पीडा एउटा सुन्दर कथानकजस्तो देखिन सक्छ। तर जब कथा आफ्नै छातीभित्र धड्किन थाल्छ, लेखकको कलमसमेत काँप्न थाल्छ। अरूको आँसु वर्णन गर्दा शब्दहरू सहजै बग्छन्, आफ्नै आँखामा आँसु भरिँदा भने अक्षरहरूले लेखकको परीक्षा लिन्छन्।
कुन रात, कुन क्षण मानसको दृष्टिकोण बदलियो, कसैले भन्न सक्दैन। तर विस्तारै उसले महसुस गर्न थाल्यो, सभ्यता अब उसका लागि कथाकी पात्र मात्र रहिन। ऊ सभ्यताका सन्देशहरूको प्रतीक्षा गर्न थालिसकेको थियो। उसको स्वास्थ्यप्रतिको चिन्ताले निद्रा चोर्न थालेको थियो। उसका सामान्य शब्दहरूमा पनि ऊ असामान्य अर्थ खोज्न थालेको थियो। कहिलेकाहीँ कुनै सन्देश नआउँदा उसलाई दिन नै अधुरो भएको महसुस हुन्थ्यो।
अन्ततः उसले पनि त्यो प्रेम स्वीकार गर्यो।
पछि आफ्नो डायरीमा उसले लेख्यो—
'मैले सुरूमा उसको प्रेमभित्र एउटा उत्कृष्ट कथा देखें। पछि मात्र थाहा पाएँ, लेखकले सधैँ कथा रोज्दैन, कुनै–कुनै कथाले लेखकलाई नै रोज्छ। अनि उसको घाँटी समातेर भन्छ, अब मलाई लेखेर मात्र होइन, बाँचेर पनि देखाऊ। किनकि केही कथाहरू कागजमा पूरा हुँदैनन्, ती लेखकको जीवनमा छताछुल्ल फैलिन्छन्।'
तर सभ्यताको एउटा सर्त थियो।
'हामी शरीरले कहिल्यै भेट्ने छैनौँ, तर प्रेम गरिरहनेछौँ।'
मानसको मेरूदण्डभरि चिसो लहर दौडिएको थियो।
प्रेम गर्नु, तर भेट नगर्नु। आवाज सुन्नु, तर स्पर्शको आकाङ्क्षा नराख्नु। अक्षरहरूबीच लुकेको निःश्वास पढ्नु, तर हात समात्ने कल्पनालाई समेत मर्यादाको सीमाभित्र राख्नु।
यो कस्तो प्रेम थियो, जसले प्राप्तिलाई आफ्नो अन्तिम लक्ष्य बनाएको थिएन?
उसले राधा–कृष्ण र मीराको प्रेम सम्झियो। केही प्रेमहरू सामीप्यमा सम्पन्न हुँदैनन्। दूरीमै आफ्नो पूर्णता प्राप्त गर्छन्। मीराले कृष्णलाई आँखाअगाडि होइन, आत्माको गहिराइमा भेटेकी थिइन्। त्यहाँ विरह अभाव थिएन, आराधना थियो। दूरी बाधा थिएन, साधना थियो। प्रेमको एउटा रूप यस्तो पनि हुन्छ, जहाँ प्रिय व्यक्तिलाई आफ्नो बनाउनेभन्दा उसको अस्तित्वलाई स्वीकार गर्ने चाहना ठूलो हुन्छ। जहाँ अधिकारको आग्रहभन्दा सम्मानको मौनता बलियो हुन्छ।
यो विदेह प्रेम थियो। शरीरको स्वामित्वविनाको, स्पर्शको आग्रहविनाको र प्राप्तिको कुनै सम्झौताविनाको। यस्तो प्रस्ताव सम्भवतः उसैले गर्न सक्थी, जसले मृत्युलाई नजिकबाट देखेकी थिई। सभ्यताले जीवनको एउटा कठोर सत्य आत्मसात् गरिसकेकी थिई। शरीर कुनै दिन कुनै पूर्वसूचना नदिई छुट्न सक्छ, तर आत्मामा कुँदिएको प्रेमको प्रतिज्ञा समयको सीमाभन्दा पर पनि जीवित रहन सक्छ।
उसले भोगेको वियोगले उसलाई एउटा यस्तो बोध दिएको थियो, जुन सामान्य अवस्थामा मानिसले जीवनभर खोजेर पनि भेट्न सक्दैन। सबै कुरा आफ्नो बनाउन सकिँदैन, तर सबै कुरालाई मनबाट त्याग्नैपर्छ भन्ने पनि छैन।
मानसले त्यो प्रस्ताव स्वीकार गर्यो।
ती दुई आत्मा जीवनभर नभेटी एकअर्कालाई प्रेम गर्ने वाचामा बाँधिए। उनीहरूका लागि प्रेमको अर्थ अब प्राप्ति थिएन, प्रतीक्षा थियो। सामीप्य थिएन, अनुभूति थियो। स्पर्श थिएन, आत्मिक उपस्थिति थियो। उनीहरूले आफ्नो सम्बन्धलाई कुनै सामाजिक नाम दिन खोजेनन्। किनकि नामले सम्बन्धको परिचय दिन सक्छ, तर त्यसको सम्पूर्ण गहिराइ समेट्न सक्दैन।
त्यसपछिका वर्षहरू हिमाल र तालबीचको सम्बन्धजस्ता भए। हिमालले तालमा आफ्नो प्रतिबिम्ब देख्थ्यो, तर छुन सक्दैनथ्यो। तालले हिमाललाई आफ्नो हृदयभरि बोकेर राख्थ्यो, तर स्वयं हिमाल बन्न सक्दैनथ्यो। तैपनि हिमालविना ताल केवल पानी हुन्थ्यो र तालविना हिमालको सौन्दर्यमा एउटा ऐना कम हुन्थ्यो। उनीहरूको सम्बन्ध पनि त्यस्तै थियो। दूरीले छुट्याएको, तर अनुभूतिले जोडेको, आँखाले नदेखेको तर मनले निरन्तर महसुस गरेको।
हरेक साँझ सभ्यता एउटा सन्देश लेख्थी। कहिले छोराछोरीका कुरा, कहिले बगैँचामा फुलेका फूलका कुरा, कहिले शरीर मोटाएको कुरा, कहिले स्वास्थ्यका समस्या। कहिलेकाहीँ ऊ जीवनका सानातिना घटनाहरू सुनाउँथी, मानौँ मानसलाई आफ्नो दिनको प्रत्येक पाटोमा सहभागी गराउन चाहन्थी। उसका लागि सन्देश लेख्नु केवल संवाद थिएन। त्यो त आफू अझै जीवित छु भन्ने अनुभूति गराउने एउटा आत्मिक अभ्यास थियो।
एक दिन उसले लेखी—
'पाईलटको युनिफर्ममा घरभित्र पस्दै गर्दा छोरीले एक साँझ भनी, आमा, मोवाईलले तपाईको खुशी फर्काएको देखेर मलाई घर आउन हतार लाग्छ। उ केहीवेर मुस्कुराई। जीवन जिउनलाई कसैको प्रतिक्षा चाहिने रहेछ।' हरेक बिहान मानसको सन्देश आउँथ्यो। कहिले पुस्तकका पानाहरूका कुरा, कहिले विद्यार्थीहरूका जिज्ञासा, कहिले समाजका विसङ्गतिहरू र कहिले केवल यति—
'आज पनि भेट भएन। आज पनि भेटिएँ।'
उनीहरूको प्रेममा मिलन र विछोड एउटै अनुभूतिका दुई किनार बनेका थिए। भेट नभएकाले विछोड थियो, तर आत्माले कहिल्यै नछोडेकाले छुट्टिने डर थिएन। भेटेर प्रेम गर्नेहरू दुई दीपजस्ता हुन सक्छन्। अत्यन्त नजिक हुँदा एउटाको ज्वालाले अर्कोलाई पोल्न पनि सक्छ। नभेटेर प्रेम गर्नेहरू आकाशको चन्द्रमाजस्ता थिए। पृथ्वीमा आँधी चलिरहे पनि टाढाबाट आफ्नो उज्यालो बाँडिरहने।
उनीहरूलाई एकअर्काको जीवनमा उपस्थित हुन शरीरको आवश्यकता थिएन। एउटा सन्देश, एउटा सम्झना र एउटा मौन प्रतीक्षाले नै उनीहरूको सम्बन्धलाई जीवन्त राख्थ्यो। समयसँगै सभ्यताका शब्दहरू अझ गहन र गम्भीर हुँदै गए। अक्षरहरू काँप्न थाले, वाक्यहरू छोटिँदै गए, तर प्रेमको अर्थ भने फैलिँदै गयो। जीवनको उत्तरार्धतिर पुग्दै गर्दा उसले सायद बुझ्दै गएकी थिई। मानिसको वास्तविक अस्तित्व उसको शरीरको सुन्दरतामा होइन, उसले अरूको मनमा छोडेको प्रभावमा हुन्छ। शरीर समयको अधीनमा हुन्छ, तर स्मृतिले समयसँग आफ्नै सम्झौता गरेको हुन्छ।
यही समय मानसले अरू कसैको होइन, आफ्नै जीवनको कथा लेख्यो—‘असम्भव सभ्यता’।
उसका लागि त्यो लेखाइ केवल एउटा प्रेमकथा थिएन; जीवनभर लेखिएका शब्दहरूमध्ये सबैभन्दा निजी स्वीकारोक्ति थियो। त्यसमा एउटा स्त्रीको कथा मात्र थिएन, प्रेमको अर्थबारे उसको आफ्नै बुझाइको रूपान्तरण पनि थियो। उसले समाजशास्त्रका सिद्धान्तहरू पढाएको थियो, सम्बन्धका संरचनाहरूको विश्लेषण गरेको थियो। मानवीय व्यवहारका अनेक व्याख्या गरेको थियो। तर एउटा अदृश्य सम्बन्धले उसलाई सिकाएको थियो। सबै सत्यलाई सिद्धान्तले नाप्न सकिँदैन। केही सत्य अनुभूतिमा मात्र खुल्छन्, केही मौनतामा मात्र सुनिन्छन्। र केही अनुपस्थितिमा मात्र आफ्नो पूर्ण स्वरूप देखाउँछन्।
कथाको अन्त्यमा उसले लेख्यो—
'संसार भन्छ, प्रेम छ भने भेट। म भन्छु, प्रेम छ भने नभेटेर पनि प्रेम गर्न सक्ने साहस राख। भेटको मोहमा मात्र टिक्ने सम्बन्ध लेनदेन हुन सक्छ। तर विछोडमा पनि नढल्ने प्रेम नै सत्यको सबैभन्दा नजिक हुन्छ। त्यो भेटभन्दा ठूलो हुन सक्छ, कहिलेकाहीँ मृत्युभन्दा पनि। किनकि प्राप्ति वस्तुको अन्त्य हुन सक्छ, तर अनुभूति कहिलेकाहीँ अनन्त यात्राको आरम्भ हुन्छ।'
एक रात सभ्यताको अन्तिम सन्देश आयो।
'मानस, म अमेरिका बसाई सर्दैछु।
सधैँ तिम्रो स्पर्शको अभाव बोकेको हुनेछु। तिमीलाई नभेटी गरेको प्रेमको न कुनै मूल्य छ, न कुनै तुलना। भेटेको भए सायद हाम्रो कथा कुनै दिन सकिन्थ्यो। नभेटेकाले अब यो कहिल्यै सकिनेछैन। तिमीसँग भेट्नेछु, शरीरभन्दा माथिको कुनै अवस्थामा। तिमीले चिनेकी म यही नाम र अनुहारकी सभ्यता मात्र होइन। तिमीभित्र बसेकी भावना नै म हुँ। त्यसैले तिमीले मलाई ‘भावना’ भन्यौ।
संसारले मानिसलाई नाम दिन्छ, प्रेमले उसको वास्तविक परिचय चिन्छ। नाम एक दिन मेटिन्छ, अनुहार समयसँगै बदलिन्छ, तर आत्मामा बसेको चिनो कहिल्यै मेटिँदैन।
तिमीले मलाई कहिल्यै भेटेनौ भन्ने दुःख नमान्नु। हामीले भेट्नुपर्ने ठाउँ यो संसारको कुनै सडक, घर वा कोठा थिएन होला। केही भेटहरू आँखाले होइन, चेतनाले हुन्छन्। केही सम्बन्धहरू हात समातेर होइन, आत्माको गहिराइमा गाँसिएर बाँच्छन्।
म तिमीबाट टाढा जाँदै छु, तर तिमीभित्रबाट होइन।'
त्यसपछि सभ्यताको सन्देश आएन।
मानसले धेरै दिनसम्म उसको सन्देशको प्रतीक्षा गर्यो। बिहान मोबाइल खोल्थ्यो, साँझ इनबक्स हेर्थ्यो। राति निदाउनुअघि अन्तिम पटक उसको नाम खोज्थ्यो। कहिलेकाहीँ पुराना सन्देशहरू पढ्थ्यो। कहिलेकाहीँ उसले लेखेका अक्षरहरूमा औँला घुमाउँथ्यो। तर नीलो पर्दामा अब कुनै नयाँ उज्यालो थपिँदैनथ्यो।
पहिले हरेक सन्देशले उसको जीवनमा नयाँ अर्थ थप्थ्यो। अब त्यही पर्दा मौनताको ऐना बनेको थियो। सभ्यताको मौनता यसपटक अरू बेलाको जस्तो थिएन। यसमा कुनै प्रतीक्षा थिएन। कुनै अधुरो वाक्य थिएन। कुनै भोलिको आश्वासन थिएन। केवल एउटा लामो, असीम र अन्तिम शून्यता थियो। केही मौनताहरू शब्दको अभाव होइनन्। ती त शब्दले व्यक्त गर्न नसक्ने अन्तिम सत्यका रूप हुन्।
मानस बाँचिरह्यो, पढाइरह्यो। असल समाज निर्माणका सूत्रहरू बुझाइरह्यो। पुस्तकहरू लेखिरह्यो। विद्यार्थीहरूका अगाडि ऊ समाज, संस्कृति, सम्बन्ध र मानवीय मूल्यका विषयमा प्रवचन दिइ नै रह्यो। तर उसको आफ्नै जीवनको सबैभन्दा गहिरो पाठ भने एउटा अनुपस्थित स्त्रीले सिकाएर गएकी थिई। उसले जीवनभर मानिसहरूलाई सम्बन्धका परिभाषा सिकाएको थियो। सभ्यताले उसलाई सम्बन्धको परिभाषाभन्दा परको अनुभूति सिकाएर गएकी थिई।
प्रत्येक साँझ ऊ आफ्नो डायरी खोल्थ्यो र एउटै वाक्य लेख्थ्यो—
'आज पनि भेट भएन। आज पनि भेटिएँ।'
उसका लागि यी दुवै वाक्य उत्तिकै सत्य थिए। उनीहरू कहिल्यै भेटिएनन्, तर आत्माले कहिल्यै छुटेनन्। जीवन र मृत्यु उनीहरूका बीचमा आएर उभिए, समयले दूरी थपिरह्यो, परिस्थितिले बाटाहरू छुट्याइरह्यो। तर प्रेमको त्यो अदृश्य सूत्र कसैले चुँडाउन सकेन। मानिसको शरीर संसारको भूगोलभित्र बाँधिएको हुन्छ, तर उसको स्मृति र अनुभूतिको कुनै निश्चित सीमा हुँदैन।
त्यो प्रेम मीराको भजनझैँ अदृश्य हावामा गुञ्जिरह्यो। तालमा परेको हिमालको प्रतिबिम्बझैँ नछुन सकिने भएर पनि सत्य रहिरह्यो। कुनै मन्दिरको घण्टीझैँ, जसको आवाज सुनिन्छ तर आँखाले समात्न सकिँदैन। कुनै सुगन्धझैँ, जसको फूल हातमा हुँदैन, तर उपस्थिति हावाभरि फैलिइरहन्छ। कुनै प्रार्थनाझैँ, जसको उत्तर सधैँ प्राप्त हुँदैन, तर उच्चारण गर्न छोड्न पनि सकिँदैन।
संसारको दृष्टिले नदेखेका कैयौँ सत्यहरू मनको अन्तर्यमा जीवित हुन्छन्। आँखाले नदेख्दैमा आकाशको अस्तित्व मेटिँदैन, हातले नछुँदैमा हावाको स्पर्श असत्य हुँदैन र भेट्न नपाउँदैमा प्रेमको अनुभूति अपूर्ण हुन्छ भन्ने पनि छैन। कहिलेकाहीँ कसैको अनुपस्थितिलाई पनि आफ्नो आत्माभित्र ससम्मान बस्न दिनु प्रेम हो। कसैलाई प्राप्त नगरेर पनि उसको अस्तित्वप्रति कृतज्ञ रहनु प्रेम हो। कुनै अपेक्षा नराखी कसैको सुख, स्वास्थ्य र स्मृतिका लागि मौन प्रार्थना गरिरहनु प्रेम हो।
सायद मानिसको जीवनमा सबैभन्दा सुन्दर भेट त्यही हो, जहाँ दुई शरीर आमनेसामने उभिनु आवश्यक पर्दैन। दुई मनले एकअर्काको अस्तित्वलाई स्वीकार गरे पुग्छ। जहाँ दूरीले सम्बन्धलाई कमजोर बनाउँदैन, बरु त्यसको वास्तविक स्वरूप उजागर गर्छ। जहाँ प्राप्तिको आग्रह हराउँछ र समर्पणको अर्थ जन्मिन्छ। प्रेमका सबै कथा एउटै व्याकरणमा लेखिँदैनन्। प्रेमको कुनै एउटै नक्सा हुँदैन। त्यसका बाटाहरू मानिसका अनुभव, परिस्थिति र चेतनाअनुसार फरक–फरक हुन्छन्।
नभेटिएर पनि कहिल्यै नछुटेको समर्पणको कथा। यो सभ्यता र मानसको कथा हो।