कथा
एक समयको कुरा हो, एउटा सुन्दर समुद्रमा एउटा दयालु सानो कछुवा बस्थ्यो। उसका दुई जना बच्चा टिना र लियो थिए। उनीहरू समुद्रमा सँगै खेल्न र रमाइलो गर्न धेरै मन पराउँथे।
एक दिन घाम लागेको सुन्दर बिहान कछुवा आफ्ना साथीहरूसँग समुद्रको किनारमा खेलिरहेको थियो। अचानक उसले आफूहरूतर्फ ठुलो समुन्द्री छाल आइरहेको देख्यो। कछुवा डराएर छिटो आफ्नो घरतिर दौडियो।
उसले टिना र लियोलाई बोलाउँदै भन्यो, ‘हाम्रोतर्फ ठुलो छाल आउँदै छ। छिटो दौडौँ!’
टिना र लियो पनि डराए। उनीहरू सकेसम्म छिटो दौडिए र समुद्री किनारबाट बाहिर निस्किए। ठुलो छाल आयो र किनारमा रोकियो। छाल रोकिएपछि कछुवाले आफ्नो सुन्दर सुनौलो शङ्ख सम्झियो।
‘ओहो! मेरो सुनौलो शङ्ख समुद्रमा हरायो,’ उसले दुःखी हुँदै भन्यो।
कछुवा समुद्रमा पस्यो र आफ्नो सुनौलो शङ्ख खोज्न थाल्यो। उसले ढुङ्गामुनि, समुद्री बिरुवानजिक र कोरलका चट्टान वरिपरि खोज्न थाल्यो। तर उसले शङ्ख भेट्टाउन सकेन।
त्यस बेला एउटा अक्टोपसले कछुवालाई हेरिरहेको थियो। उसले कछुवा दुःखी भएको देख्यो र सहयोग गर्ने इच्छा गर्यो।
कछुवाले उसलाई बोलाएर भन्यो, ‘अक्टोपस, मेरो सुनौलो शङ्ख हराएको छ। के तिमी मलाई खोज्न सहयोग गर्न सक्छौ?’
अक्टोपस मुस्कुराउँदै बोल्यो, ‘हुन्छ, म तिमीलाई सहयोग गर्छु।’
अक्टोपसले समुद्रको गहिराइमा ध्यानपूर्वक खोज्न थाल्यो। केही समयपछि उसले एउटा ठुलो ढुङ्गाको पछाडि लुकेको सुनौलो शङ्ख भेट्टाएर कछुवालाई दियो। कछुवा निकै खुसी भयो।
‘धेरै धन्यवाद, प्रिय अक्टोपस!’ कछुवाले भन्यो।
भोलिपल्ट पुनः कछुवा टिना र लियोसँग उक्त समुन्द्रमा पुगेर खेलिरहेको थियो। अचानक उसले अक्टोपसलाई एउटा जालमा फसेको देख्यो। केही सिकारीहरूले अक्टोपसलाई जालमा पारेका थिए।
कछुवा तुरुन्तै आफ्नो साथीलाई सहयोग गर्न गयो। उसले आफ्नो बलियो दाँतले जाल टोकेर जालमुक्त बनाउँदै भन्यो, ‘नडराऊ, अक्टोपस। छिटो भागौँ!’
अक्टोपस जालबाट उम्कियो। कछुवा, टिना, लियो र अक्टोपस सुरक्षित रूपमा टाढा पौडिएर भागे। त्यस दिनदेखि कछुवा र अक्टोपस सधैँका लागि मिल्ने साथी बने।
नैतिक शिक्षा: अप्ठ्यारो र समस्यामा पर्दा एकअर्कालाई सहयोग गर्दा खुसी मिल्न सक्छ!
(हिमांश्री भण्डारी केन्द्रीय विद्यालय लाजिम्पाट, काठमाडौँको कक्षा ३ मा अध्ययनरत विद्यार्थी हुन्।)