नेपाली कांग्रेसको सभापति बनेपछि गत शुक्रबार पहिलो पटक पोखरा आएका गगन थापाले सम्बोधनको सुरूआतमै दुई जना सहिदलाई सम्झिए।
उनीहरू थिए — घान्द्रुकका ईश्वर गुरूङ र दिलमान गुरूङ थिए।
तत्कालीन विद्रोही माओवादीले सुराकीको आरोपमा उनीहरूको हत्या गरेका थिए। कांग्रेस भएकै कारण अन्य ३ जनालाई २१ दिनसम्म अपहरण गरेर छाडेका थिए।
गगनले आफू घान्द्रुक–घोरेपानी हुँदै पुनहिल पदयात्रामा जाँदा स्थानीयले घटनास्थल लगेर देखाएको प्रसंग समेत निकाले।
'म परिवारसहित ट्रेकिङ जाँदा घान्द्रुकमा रात बिताएँ। घान्द्रुकका ध्रुव दाइले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को कार्यालय लगेर यही ठाउँबाट हो माओवादीले हामीलाई अपहरण गरेको भनेर देखाउनुभयो,' उनले भनेका थिए, 'ईश्वर गुरूङ र दिलमान गुरूङको हत्या यहीँ भएको हो भनेर देखाउनुभयो। म चुपचाप सुनिरहेँ। त्यति बेला पार्टीको महामन्त्री थिएँ, तर केही बोल्न सक्ने अवस्थामा थिइनँ।'
कांग्रेस भएकै कारण हत्या र अपहरणमा परेका पीडित परिवारले त्यति बेला कांग्रेसलाई मतदान गर्ने अवसर पनि नपाएको गुनासो गगनसमक्ष पोखेका रहेछन्।
२०७९ सालको निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनमा कांग्रेस सामेल थियो। घान्द्रुक गाउँ कास्की–३ मा पर्छ।कास्की–३ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीका रामजी बराल 'जीवन' थिए। कांग्रेसले उम्मेदवार उठाएको थिएन।
माओवादी अपहरणमा परेका ध्रुव अहिले पनि कांग्रेसका क्रियाशील सदस्य छन्।
पार्टीमा आबद्ध भएवापत अहिलेसम्म उनले कुनै लाभको पद लिएका छैनन्। अहिलेसम्म चाहना पनि नराखेको उनी बताउँछन्। माओवादीबाट हत्या र अपहरण भोगेका ध्रुवले पार्टीको गठबन्धन गर्ने निर्णय अनुसार माओवादीलाई मतदान गर्न नसक्ने कुरा गगनलाई बताएका थिए।
'ध्रुव दाइले रूखमा मतदान गर्न पनि नपाउने भयौं मात्र होइन, कांग्रेसको सदस्य बनेर माओवादीलाई मत दिनुपर्ने, नेताको आदेश मानिदिनुपर्ने भनेर मलाई भन्नुभयो,' गगनले भने, 'यस पटक कांग्रेसले मात्र देशका १६५ क्षेत्रमा उम्मेदवार उठाएको छ। अब कसैसँग चुनावमा गठबन्धन नगर्ने नीति लिएर आएका छौं।'
माओवादीबाट अपहरणमा परेका ध्रुव अहिले पनि घान्द्रुकमै बस्छन्। उनकै अगाडि एक्यापको कार्यालय परिसरमा रहेको चौतारीमा ईश्वर र दिलमानको हत्या भएको दृश्य अहिले पनि उनको आँखामा नाचिरहन्छ।
उनका अनुसार ईश्वर र दिलमानलाई हतियारधारी माओवादीले सुरूमा अनुहारमा आक्रमण गरे। यातना दिए। अनि गोली प्रहार गरेर हत्या गरे। ईश्वर र दिलमानलाई सफाइको मौका पनि दिएनन्।
'सुराकी भनेर हाम्रै अगाडि हत्या गरे। उनीहरूले हामी सुराकी होइनौं भन्न पनि पाएनन्,' उनले भने, 'त्यो अवस्थामा पनि हामीले कांग्रेस छाडेनौं, छाडेको भए सायद ज्यान जोगिन सक्थ्यो।'
ध्रुवका अनुसार घान्द्रुकमा ईश्वर र दिलमानले टेलिफोन सञ्चालन गरेका थिए। फोनबाट सुराकी गरेको आरोप माओवादीले लगाएका थिए। तर उनीहरूले टेलिफोन गरेर सुराकी गर्ने, सुरक्षाकर्मी बोलाउने काम गरेको प्रमाणित भएको थिएन। उनीहरूले सुराक गरेकै कारण भएको भनेर माओवादीले पनि कुनै घटना देखाएका थिएनन्।
ईश्वर र दिलमानलाई हत्या गर्ने योजना माओवादीले पहिल्यै बनाएको हुन सक्ने ध्रुवको आकलन छ।
केही विषयमा छलफल गर्न बैठक बस्नुपर्ने भन्दै माओवादीले २०६१ वैशाख २८ गते राति साढे ९ बजेतिर ५ जनालाई उठाएर एक्याप कार्यालय लगेका थिए। ईश्वर र दिलमानको हत्या हुँदाका साक्षी उनीहरू पनि थिए।
घान्द्रुकबाट राति राति हिँडाएर लान्द्रुक हुँदै ल्वाङ गाउँतर्फ लगेका थिए। २१ दिन अपहरणमा राखेर रिहा गरिएको ध्रुव बताउँछन्।
ध्रुव त्यो बेला घान्द्रुकमा लघु जलविद्युत आयोजनामा काम गर्थे। माओवादीले हत्या गरेका ईश्वर कांग्रेसका साधारण समर्थक थिए भने दिलमान राप्रपा समर्थक थिए।
अपहरणमा भएकै बेला ध्रुवले आफू अपहरणमा पर्नुको कारण थाहा पाए। ध्रुवकी भान्जीले गाउँमै कक्षा ४ मा पढ्दा सुनका गहना लगाएकी थिइन्। उनले सुन लगाएको देखेपछि केही आपराधिक व्यक्तिले भान्जीको अपहरण गरी हत्या गरेका थिए।
भान्जीको हत्या पश्चात ध्रुवले आफ्नो आक्रोश पोखे। हत्यामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग राखे। सोही माग राखेबापत उनलाई अपहरण गरेका माओवादीले सुनाएको ध्रुव बताउँछन्।
'मेरो भान्जीको हत्या गर्नेविरूद्ध बोलेका कारण मेरो अपहरण गरेका रहेछन्। भान्जी हत्याको विषयमा हामीलाई किन उजुरी गरेनस् भनेर माओवादीले थर्काए,' उनले सम्झिए, 'मैले कहाँ माओवादी खोज्दै जाने?'
ईश्वर ध्रुवका सोल्टी पर्छन् भने दिलमान बुबा पर्छन्। उनीसँगै अपहरणमा परेका रामेश्वर बाजे पर्छन्। ध्रुवभन्दा उनीहरू उमेरले धेरै नै जेठा थिए। करिब दुई–तीन सय जना माओवादी लडाकुले घरमै सुतिरहेको अवस्थामा उनीहरू सबैलाई उठाएर लगेको उनी सम्झिन्छन्।
ईश्वर अविवाहित थिए। अरू सबैका सन्तान छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि घटनाबारे केही गैरसरकारी संस्था र विदेशीहरूले चासो राखे पनि पार्टी र नेपाल सरकारले चासो नदिएको उनी बताउँछन्।
घटनाका विषयमा अहिलेसम्म उनीहरूले कहीँकतै उजुरी पनि दिएका छैनन्।
ईश्वरको स्मृतिमा उनका परिवारले गाउँकै मेश्रम बराह माविमा अक्षयकोष स्थापना गरेका छन्। कोषबाट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ। ईश्वरको स्मृतिमा बर्सेनि घान्द्रुकमा स्मृति दिवस मनाइन्छ।
घान्द्रुकका ईश्वर र दिलमानको हत्या भएपछि उनीहरूको परिवार विस्थापित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा उल्लेख छ।
इन्सेकका सिनियर अफिसर एवं गण्डकीका पूर्वसंयोजक शिव खकुरेलका अनुसार माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि उनीहरूका परिवार गाउँमा पुनर्स्थापित भएका छन्। तर उनीहरूको हत्या र अपहरण गर्नेले सजाय पाएका छैनन्।
गगन थापा पार्टीको महामन्त्री हुँदा उनी बसेकै होटल पुगेर ध्रुव लगायत घान्द्रुकका स्थानीयले उक्त घटनास्थल लगेर घटनाको स्मरण गराएका थिए।
पार्टीले सिद्धान्त बिर्सेर सत्ताका लागि गठबन्धन गर्ने प्रवृत्तिको उनीहरूले विरोध जनाएका थिए। त्यति बेला गगनले आफूले पार्टीभित्र प्रस्ताव लगेर केही पहल गर्ने बाचा गरेका रहेछन्।
'त्यति बेला महामन्त्री हुँदा केही पहल गर्छु भनेर गगन थापा घान्द्रुकबाट जानुभएको थियो। अहिलेसम्म कुनै पहल देखिएको छैन,' ध्रुवले भने, 'हामीले पैसा वा अरू कुनै मागभन्दा पनि कांग्रेस भएकै कारण मारिएका साथीहरूलाई पार्टीले स्मरण गरोस् भनेर चाहेका छौं, अब सभापति भएपछि केही गर्नुहुन्छ कि!'