पोखरामा बुधबार प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दुई फरक दृश्य देखिए।
एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घण्टी बजाउँदै सडक परिक्रमा गरिरहेका थिए। अर्कोतिर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्यालेसको बन्द हलभित्र कार्यकर्तालाई सम्बोधन गर्दै थिए।
दुवै नेताले आफूलाई ‘नयाँ’ विकल्पका रूपमा प्रस्तुत गरे। दुवैले भ्रष्टाचार र कुशासन अन्त्य गर्ने दाबी गरे। तर पोखरामा देखिएको उनीहरूको शैली, समय व्यवस्थापन र मतदाता भेट्ने तरिका भने एक–अर्कासँग ठ्याक्कै विपरीत थियो।
प्रचण्डको कार्यक्रम बिहान ९ बजे तय थियो। तर काठमाडौंबाट पोखरा आउने उडान ढिलाइ हुँदा उनी ११ बजेपछि मात्र यहाँ आइपुगे। पोखराको एउटा पार्टी प्यालेसमा जम्मा भएका कार्यकर्तालाई करिब १५ मिनेट सम्बोधन गरेपछि उनी म्याग्दीतर्फ लागे। उनले ठूला सभा भन्दा घरदैलो अभियानलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिए।
भ्रष्टाचारविरूद्ध आफूले लडाइँ लडेको उल्लेख गर्दै प्रचण्डले अरू नेताले आफूलाई उस्तै देखाएर युवालाई भ्रममा पारेको आरोप लगाए।
'भ्रष्टाचारविरूद्ध लड्ने पनि उस्तै, भ्रष्टाचारीलाई संरक्षण गर्ने पनि उस्तै भनेर युवालाई भ्रम दिइयो,' उनले भने, 'तर जेन–जी युवाले बुझिसकेका छन्।'
उनी आफ्नो पार्टीलाई नै ‘अभिभावक’ र ‘सबैभन्दा नयाँ सोच र भिजन भएको’ पार्टीका रूपमा चित्रण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवर्द्धक पनि आफूहरू नै भएको दाबी गर्थे। तर पार्टी प्यालेसको हल बाहिर, पोखराको सडकमा त्यो सन्देशको प्रत्यक्ष परीक्षण देखिँदैनथ्यो।
त्यही दिन दिउँसो १ बजे, रवि लामिछाने भने तालचोकबाट हेमजासम्म ‘घण्टी यात्रा’ मा निस्किए। उनी निर्धारित समयमै पोखरा आइपुगेका थिए। गाडीमा सवार लामिछाने घण्टी बजाउँदै, हात हल्लाउँदै अघि बढ्दा सडकछेउ दर्शकको भीड देखिन्थ्यो। कार्यकर्ता र समर्थकले दिएको फूलगुच्छा उनका हातमा थुप्रिँदै थियो।
विन्ध्यावासिनी मन्दिरमा टीका थापेपछि पृथ्वीचोकमा उनले संक्षिप्त सम्बोधन गरे। त्यहीँ उनले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्दा स्मरण गरे—जसमा उनी ८४ दिन कास्की प्रहरी हिरासतमा बसेका थिए।
'८४ दिन मलाई कालकोठरीमा राखिँदा तपाईंको आँखा भिजेको मैले बिर्सेको छैन,' उनले भने, 'आज म न्यायको लागि आएको हुँ—व्यक्ति रविका लागि होइन, देशको भविष्यका लागि।'
लामिछानेले उद्योग–धन्दा बन्द गरेर युवालाई विदेश पठाउने र देश टाट पल्टाउनेहरूलाई हिसाब–किताब गरिने चेतावनी पनि दिए। सडकमा उभिएकी एक महिलाले भ्रष्टाचारमा मुछिएका नेता र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाहीको माग राख्दा उनले छोटो जबाफ दिए—'हुन्छ।'
साँझतिर पोखरामा दिन सकिएको थियो। तर दुई नेताले छोडेको छाप फरक–फरक थियो। प्रचण्डको भेलामा अनुशासित कार्यकर्ता थिए, तर रविको जस्तो ‘क्रेज’ देखिँदैनथ्यो। लामिछानेको यात्रामा भने कार्यक्रमभन्दा दृश्य आफै सन्देश बनेको थियो।
लामिछानेले २०७९ को निर्वाचनमा २१ सिट जिते पनि पर्याप्त नभएको स्वीकार गर्दै यसपटक बहुमत आवश्यक भएको बताए।
'यो कुशासन र सुशासनबीचको लडाइँ हो,' उनले भने, 'वारपार हुन्छ।'
प्रचण्ड भने आफूहरूको पक्षमा 'बिस्तारै लहर बढ्दै गएको' दाबी गर्थे। नयाँ र पुरानोको बहस चलिरहेकै बेला, उनले पार्टीको चुनाव चिह्न ‘तारा’ मा भोट हाल्न मतदातालाई सिकाउनुपर्ने चुनौती समेत औंल्याए।
पोखरामा एकैदिन देखिएको यो दृश्यले एउटा कुरा प्रस्ट पारेको थियो—एजेण्डा उस्तै सुनिए पनि, राजनीतिलाई प्रस्तुत गर्ने शैली र मतदातासँग पुग्ने बाटो फरक–फरक छन्।
कसको ‘नयाँपन’ मतपेटिकासम्म पुग्छ, त्यसको फैसला भने फागुन २१ गते हुनेछ।