सेतोपाटी चुनाव विश्लेषण– ५
हामी केही दिनअघि काठमाडौंको तार्केश्वर नगरपालिका–२ को काभ्रेस्थली पुग्दा बाटोनिरै पर्ने एउटा घरअघि तीन जना महिला गाग्री र बाल्टी लिएर बसेका थिए।
एउटा गाग्रीमा पानीको सानो धारो खसिरहेको थियो। अरू दुई जना पालो कुरिरहेका थिए।
यसरी उनीहरूले पानी थाप्दा दिनको सवा १२ बजेको थियो।
'नमस्ते आमा,' हामीले बोलायौं।
'कहाँबाट आउनुभयो नानी,' रातो कुर्ता–सलवार, रातो स्वेटर र रातै टोपी लगाएकी महिलाले सोधिन्।
'चुनाव आएको छ, मतदाताहरू के भन्नुहुन्छ भनेर सोध्न आएको,' हामीले भन्यौं।
'के हुनु नि, भोट माग्न आउँदा धारो हाल्दिन्छु भन्छन्। तिमीहरूलाई सबै सुविधा दिन्छु भन्छन्। गएर कुर्सीमा बसेपछि यहाँको कुरा बिर्सिन्छन्,' ती महिलाले भनिन्, 'त्यही हो कुरा।'
उनी हुन् काभ्रेस्थलीकी स्थायी बासिन्दा ६६ वर्षीया मिना कार्की।
उनी बोल्दा बोल्दै उता गाग्रीमा खसिरहेको धारो मसिनो हुँदै गयो। एक गाग्रो पानी नभरिँदै धारो सुक्यो।
'हप्तामा एक दिन आएको पानी पनि गाग्री भरिन नपाउँदै सुक्यो,' भन्दै उनी हैरान भइन्।
पालो पर्खिएर बसेका महिलाहरू निरास भए। आफ्नो घरमा पानी नआएको गुनासो गरे।
हामीले चुनावको कुरा अघि बढायौं— यतातिर कसलाई मत दिने भन्दैछन्? तपाईंहरूको विचार के छ?
कार्कीले भनिन्, 'आस मात्र देखाउने पुराना दल र नेतालाई यसपालि भोट नदिने हो। यसपालि नयाँलाई दिने।'
उनीसँगै बसेका अन्य दुई महिलाले पनि मिनाको कुरामा सहमति जनाए। केहीबेर हामीसँग कुरा गरेपछि रित्तै गाग्री बोकेर उनीहरू आ–आफ्नो घर फर्किए।
यो ठाउँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ।
काठमाडौं–६ मा सेतोपाटी टिमले तीन दिन घुमेर धेरैभन्दा धेरै मतदातासँग कुरा गरेको छ। उनीहरूका गाउँटोलमा के समस्या छन्, के मुद्दा छन् भनेर हामीले सोधेका छौं। आफ्नो क्षेत्रबाट कुन दल वा सांसदको कुन उम्मेदवारलाई उनीहरू मत दिन चाहन्छन् भनेर सोधेका छौं। उनीहरू किन खास दल र उम्मेदवार चुन्न चाहन्छन्, उनीहरूसँग के अपेक्षा छन् सोधेका छौं। मुलुकमा अब हुने प्रधानमन्त्री को होस् अनि उसले के गरोस् भन्ने उनीहरूको चाहना र अपेक्षा छ भनेर सोधेका छौं।
मतदाता भेट्न र यी लगायत प्रश्न सोध्न हामी यो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पुग्यौं।
काठमाडौं–६ निर्वाचन क्षेत्रमा ६७ हजार ७५९ मतदाता छन्।
यहाँ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जितेका शिशिर खनाल, नेपाली कांग्रेसका काठमाडौं सभापति कृष्ण सबुज बानियाँ, एमालेका अमन मास्के, नेपाली कम्युनिस्ट पार्टी (नकेपा) का हिमाल शर्मा लगायत २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
हामीले मतदातासँग कुरा गरेका आधारमा यी २० जनामध्ये तीन जना उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् — रास्वपाका शिशिर, कांग्रेसका कृष्ण र एमालेका अमन।
२०७९ सालको चुनावमा पनि हामीले यो क्षेत्रको निर्वाचन विश्लेषण गरेका थियौं। यो क्षेत्रका मतदाताहरूसँग कुरा गरेर त्यो बेला पनि रास्वपाका शिशिर नै अगाडि रहेको विश्लेषण लेखेका थियौं। त्यो बेला यहाँ शिशिरलाई चिन्ने मतदाता हामीले नगन्य भेटेका थियौं। त्यो बेला हामीसँग कुरा गरेका धेरैजसो मतदाताले रास्वपा सभापति रवि लामिछानेलाई चिनेको र उनकै लागि घन्टीमा भोट हाल्ने बताएका थिए।
यसपालि भने उल्लेख्य संख्यामा मतदाताले शिशिरको नाम लिए, उनलाई चिनेको बताए। कतिपय मतदाताले उनको व्यक्तित्व र विज्ञतामा विश्वास दर्शाए। सँगसँगै कतिले उनीसँग गुनासो पनि गरे।
उनी सांसद जितेर गएपछि मतदाताकहाँ खासै नआएको, यो क्षेत्रमा विकासको काम गर्न नसकेको जस्ता गुनासा मतदाताले गरे। यी गुनासा हुँदाहुँदै पनि उनलाई दुइटा कुराले फाइदा पुगेको हामीले पायौं।
पहिलो, उनी वा उनको दल रास्वपासँग भन्दा मतदाताको ठूलो गुनासो उनका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूका दल कांग्रेस र एमालेसँग छ। पुरानाले केही गरेनन्, अब एक पटक 'नयाँलाई हेर्ने' भन्ने धारणा यो क्षेत्रमा पनि व्यापक रहेको हामीले पायौं।
शिशिरलाई अर्को पनि लाभ छ — यो क्षेत्रका मतदाता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न उत्सुक छन्। यस्ता मतदाताले गुनासाका बाबजुद शिशिरलाई नै मत दिने हामीलाई बताए।
यी दुई मुख्य कारणले शिशिरलाई मत दिने मतदाता संख्या उल्लेख्य रहेको हामीले पायौं। र, उनी उनका प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेको हामीले पायौं।
रास्वपालाई मत दिन्छु भन्ने कैयन मतदातासँग हामीले दलको चुनावी एजेन्डा, नेतृत्वको भिजन वा उम्मेदवारका योजनाबारे कुरा गर्न खोज्यौं।
तर यी विषयमा चासो भएका थोरै मतदाता मात्र भेटिए। उनीहरूले रास्वपालाई यसपालि मत दिन खोज्नुको सबभन्दा ठूलो कारण वरिष्ठ नेता बालेनमाथि उनीहरूको विश्वास रहेको पायौं।
तपाईंहरूलाई उनीमाथि किन यति धेरै भरोसा लागेको भन्ने प्रश्नमा धेरै मतदाताले बालेनले काठमाडौं महानगरमा फुटपाथ बढाएको, पार्किङ व्यवस्थापन गरेको, शिक्षा सुधार गरेको र पुराना मठमन्दिर, पार्टीहरू पुनरूत्थान गरेको बताए। महानगरमा राम्रो काम गरेकाले उनलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको बताए।
तार्केश्वर नगरपालिका–९ का ५३ वर्षीय रामराज भण्डारीले भने, 'बालेनले मेयर हुँदा त काठमाडौंलाई त्यति राम्रो बनाए, प्रधानमन्त्री भए देश पनि राम्रो बनाऊलान्।'
धेरै पटक एमाले–कांग्रेसलाई भोट दिएकाले यस पटक रास्वपाले पनि एउटा मौका पाउनुपर्छ भन्ने तर्क उनले गरे।
बालेनमाथि यहाँका मतदाताको जति धेरै विश्वास छ, पुराना दलप्रति त्यति नै धेरै वैराग्य छ। पुराना दलहरूसँग वाक्क भएकाले नयाँ दललाई भोट हाल्ने वा एक पटक नयाँलाई हेर्ने भन्ने मतदाता हामीले धेरै भेट्टायौं।
यी दुवै कारणले रास्वपाका शिशिरले आफ्नो पुरानो मत जोगाउने मात्र होइन, त्यसमा थप्ने पनि देखिन्छ।
हामीले कुरा गरेका धेरै मतदाता जसले गत चुनावमा शिशिरलाई मत दिएका थिए, उनीहरूमध्ये अधिकांशले यसपालि पनि उनैलाई मत दिने बताए।
अर्कातिर गत चुनावमा एमाले र कांग्रेस उम्मेदवारलाई मत दिएका कतिपयले पनि यसपालि शिशिरलाई नै मत दिने बताए।
शिशिरबाट चुहिएर अरू उम्मेदवारलाई जाने मत पनि नभएको होइन। तर यो संख्या सानो छ र अघिल्लो पटक उनलाई नदिएका तर यसपालि दिन्छु भन्ने मतदाताको संख्या ठूलो छ।
अघिल्लो पटकझैं शिशिरले यसपालि पनि कांग्रेस र एमाले दुवैलाई मत दिएका कतिपय मतदाता आफूतिर तान्ने देखिएको छ। हाम्रो विश्लेषणमा अघिल्लो पटक कांग्रेसलाई मत दिएका भन्दा एमालेलाई मत दिएका धेरै मतदाताले यसपालि शिशिरलाई मत दिनेछन्।
धर्मस्थलीको सानो बाइपासमा हामीले भेटेका ठाकुर तिम्सिना भाँडा पसल चलाउँछन्। विगतमा आफू एमालेको कट्टर समर्थक रहेको उनले बताए। कति 'कट्टर समर्थक' भन्ने बुझाउन उनले २०५४ सालको स्थानीय निर्वाचनको एउटा अनुभव सुनाए।
त्यो बेला उनका सहोदर दाजु अर्कै पार्टीबाट वडाध्यक्षको चुनाव उठेका थिए। तैपनि ठाकुर र उनकी श्रीमतीले उनलाई भोट दिएनन्।
'हामीले एमालेमा भोट हाल्यौं। संयोग यस्तो पर्यो, दाइ दुई मतले चुनाव हार्नुभयो,' उनले भने, 'म त्यस्तो कट्टर एमाले हो।'
अहिले पनि आफू दलगत हिसाबले एमालेमै रहने उनले बताए।
'म एमाले नै हो, त्यहीँ रहन्छु। तर ठूलादेखि साना नेतासम्मको व्यवहार देखेर विरक्त भएको छु,' उनले भने।
त्यसैले यसपालि उनले प्रत्यक्ष र समानुपातिक दुवैमा रास्वपालाई भोट हाल्ने निर्णय लिइसकेको पनि बताए।
'यो निर्णय मैले त्यसै गरेको होइन। अघि पनि मलाई नेताहरूको जीवनशैली र उनीहरूका काम देखेर पुगिसकेको थियो। त्यसमाथि जेनजी आन्दोलनमा जनतालाई हेपेर र पेलेर भदौ २३ को घटना निम्त्याए। त्यसैको परिणाम २४ गते निस्कियो। त्यो बेला प्रधानमन्त्री रहेकाले अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन,' उनले भने।
नयाँ दल वा उम्मेदवार आएर 'खतरै' केही गर्लान् भन्ने धेरै आशा नभएको पनि ठाकुरले बताए।
अनि थोरै रोष भावमा भने, 'तर यी पुरानालाई चाहिँ यसपालि दिन्नँ।'
जेनजी आन्दोलनमा आफ्नो जिम्मेवारी बहन नगरेकाले एमाले अध्यक्ष केपी ओलीसँग रिसाएका मतदाता पनि हामीले भेट्यौं।
झोर गाउँकी जानुका तिनैमध्ये एक हुन्।
'जसलाई भोट दिए पनि जनताका छोराछोरीलाई जागिर दिन सकेनन्। अहिले विदेश जानपरेको छ। विदेश कमाउन गएकामध्ये कतिको त बाकसमा लास आउँछ,' अहिलेसम्म एमालेलाई मत दिँदै आएकी जानुकाले भनिन्, 'जेनजी आन्दोलनमा त बच्चाहरू पनि मारिए। उनीहरू मारिन गएका हुन् र त्यहाँ?'
उनले पनि यसपालि रास्वपालाई मत दिने बताइन्।
पहिले कांग्रेसलाई मत दिएका र यसपालि रास्वपालाई दिने सोच बनाएका धेरै मतदाताले भने जेनजी आन्दोलनका बेला शेरबहादुर देउवाको घरमा भेटिएको डढेको पैसाबारे कुरा गरे।
बागबजारका धन तण्डुकारले भने, 'यहाँ कतिको घरमा छाक टार्न चाहिने पैसा छैन, त्यत्रो करोडौं पैसा नेताको घरमा लुकाएर राखेको रहेछ। के गर्यो त कांग्रेसले!'
झोरका स्थानीय सानुकाजी महर्जन र उनको परिवारले पनि गत चुनावसम्म कांग्रेसलाई भोट हाल्दै आएका थिए। यसपालि भने रास्वपामा हाल्ने सोच रहेको बताए।
'हाम्रोतिर ढल र खानेपानीको व्यवस्थित प्रणाली छैन, धेरै दुःख पाएका छौं,' उनले भने, 'यसमा काम गर्न पठाएका जनप्रतिनिधि फर्केर आउँदैनन्। हाम्रा यस्ता समस्यामा पुराना दलले कत्ति पनि चासो राखेनन्, अब नयाँलाई दिने हो। हेरौं के गर्छन्!'
रास्वपाका उम्मेदवार शिशिरका दुई प्रतिस्पर्धीमा कांग्रेसका कृष्ण र एमालेका अमन छन्। हाम्रो विश्लेषणमा कृष्ण अमनभन्दा केही अगाडि छन्। तर दुईबीच धेरै मतान्तर देखिँदैन।
कांग्रेसलाई भोट हाल्छु भन्नेहरूले दुइटा कारण बताए।
पहिलो, सभापति गगन थापाले पुराना नेतालाई नेतृत्वबाट विस्थापन गरेका छन् र कांग्रेस बदलिएको छ।
दोस्रो, उनीहरू त्यसै पनि परम्परागत रूपमै कांग्रेस हुन् र रूखबाहेक अन्त भोट हाल्न हात नै जान्न!
सामाखुसीकी पुष्पाञ्जली सोतीले पहिलो पटक आफ्नो मताधिकार २०१५ सालको निर्वाचनमा प्रयोग गरेकी हुन्। त्यस बेला उनलाई बुबाले बाटोभरि सम्झाउँदै कांग्रेसलाई भोट हाल्न लगाएका थिए।
'त्यति बेला भोट हाल्न एक घन्टा हिँडेर जानुपर्थ्यो। बुबाले मलाई बाटाभरि नानी रूखमा स्वस्तिक चिह्न लगा है भनेर सम्झाउँदै लग्नुभएको थियो,' उनले भनिन्, 'हामीले बोल्न पाउनुपर्छ भनेर राणाविरूद्ध लडेको नेपाली कांग्रेसले हो भन्नुभएको थियो।'
उनले थपिन्, 'कांग्रेसले राणा र पञ्चायतविरूद्ध नलडेको भए अहिले रवि–बालेनहरूले यसरी बोल्न पाउँथे? त्यसैले कांग्रेसमा मेरो एक भोट मात्रै किन नपरोस्, म त रूखलाई नै मत दिने हो।'
कांग्रेसबाट दिक्क भएर यसअघि रास्वपालाई भोट दिएका केही मतदाताले यसपालि नेतृत्व परिवर्तन भएकाले कांग्रेसलाई नै मत दिने बताए।
असन चोकमा खिद्रीमिद्री सामानका पसल चलाउने व्यवसायी सामाखुसीका स्थायी बासिन्दा सुदीन मानन्धर र फुटुङका राजाराम केसीले दुवैले यसपालि कांग्रेसमै भोट हाल्ने बताए।
उनीहरूले सभापति गगनप्रति आफ्नो विश्वास दर्शाए।
'पहिले रिसले रास्वपालाई भोट हालेको थिएँ। अहिले गगनका कारण कांग्रेसलाई नै हाल्छु। यङ, डाइनामिक छ। नराम्रो अहिलेसम्म सुनिएको छैन,' सुदीनले भने, 'देशका लागि चाहिने गगन हो। नयाँमा अहिले विश्वास गरिहाल्ने समय छैन।'
परम्परागत रूपमा एमालेलाई मत हालिरहेका कतिपय मतदाता प्रतिरक्षात्मक अवस्थामा रहेको हामीले पायौं।
यसपालि पनि एमालेलाई नै मत हाल्न चाहिरहेका कतिपय मतदाताले सुरूमै त्यो कुरा खुलाउन चाहेनन्। धेरै बेर कुराकानी गरेपछि मात्र उनीहरू खुल्दै गए।
तर यो क्षेत्रमा एमाले मतदाताका लागि राहत बनेर आएका छन् उम्मेदवार अमन।
बागमती प्रदेश सरकारमा भौतिक योजना मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा धेरै काम गरेका रहेछन्। धर्मस्थली, काभ्रेस्थली र जरंखुमा हामीले अमनलाई भोट दिन्छौं भन्ने मतदाता अलि धेरै भेट्यौं। यो क्षेत्रमा उनले बाटोका लागि बजेट ल्याएको, उनी पढे–लेखेको र भलादमी उम्मेदवार भएको भन्दै उनलाई मत दिन उत्साही मतदाता हामीले भेट्यौं।
जरंखुमा भेटिएका एक व्यापारीले भने, 'म एमालेलाई भोट हाल्दै आएको व्यक्ति भए पनि यसअघि रास्वपाका शिशिरलाई भोट हालेको थिएँ। उनी सांसद भएपछि एक पटक पनि फर्केर आएनन्। अहिले त अमन मास्केलाई दिन्छु। ऊ राम्रो नेता हो।'
बानियाँटारकी सिर्जना थपलियाले शिशिर जितेर गएपछि एक पटक पनि नआएकाले जनतासँग घुलमिल गर्ने अमनलाई नै भोट दिने बताइन्।
'शिशिरले संसदमा धेरै हाजिर हुने मै हो भन्छन्। संसदमा गएर यो क्षेत्रबारे के बोले? थाहा भए पो बोल्छन्! एक पटक पनि यहाँ फर्केर आएनन्। जनतासँग संवाद गरे पो थाहा पाउँछन् त यो क्षेत्रमा के समस्या छ,' उनले भनिन्, 'अमन त फिल्डमा छन्। जनतासँग कुरा गर्छन्। त्यसैले उनलाई भोट दिने हो।'
बालेनले मुलुकलाई सम्हाल्न नसक्ने भन्दै पुराना दलहरूलाई नै जिताउनुपर्ने पनि कतिपय मतदाताले तर्क गरे।
धर्मस्थली सानो बाइपासका सन्तोष तिमिल्सिनाले भने, 'बालेनले मुलुक सम्हाल्न सक्दैन। न त रास्वपाले नै सक्छ। सिंहदरबार जलाउने भनेको बालेनले होइन?'
उनले मानिसहरूको स्मृति कमजोर भएकाले धेरै कुरा बिर्सिइने गरेको पनि बताए।
'मान्छेहरूले अहिले बिर्सिएका छन्। तर ट्राफिक प्रहरीले सर्वसाधारणको गाडी चेक गर्ने क्रममा बालेनकी श्रीमती चढेको गाडी रोक्दा बालेनले सिंहदरबार जलाइदिन्छु भनेको होइन? ऊ त तानाशाह छ, त्यसैले मुलुक सम्हाल्न पुराना पार्टी चाहिन्छ,' सन्तोषले भने, 'यहाँको एमाले उम्मेदवार पनि राम्रो छ। मैले एमालेलाई नै भोट दिने हो।'
हामीले भेटेका कैयन मतदाताले कसलाई मत दिने भनेर निर्णय गरिसकेका थिएनन्। यस्ता अनिर्णित मतदाताको संख्या झन्डै २० प्रतिशत छ। निर्णय गर्न नसकेका बहुसंख्यक मतदाता यसअघि कांग्रेस र एमालेलाई भोट दिएकाहरू नै धेरै छन्।
कांग्रेसका कतिपय मतदाता दोधारमा रहेको हामीले पायौं।
'बदलिएको भनिएको कांग्रेसलाई मत दिने कि नयाँलाई दिने' भनेर अझै निर्णय गर्न नसकेको उनीहरूले बताए।
यो क्षेत्रमा कांग्रेसभन्दा एमालेका मतदाता कम संख्यामा अनिर्णित छन्। उनीहरूमध्ये कतिलाई अर्को दललाई मत दिन मन छैन। तर पार्टीको नेतृत्व सम्झिएर एमालेलाई मत दिन पनि मन छैन। त्यसैले कतिपय यसपालि भोट नै नहाल्ने सोच पनि बनाउँदै छन्।
यस्तैमध्ये एक हुन् कमलाक्षीका एक व्यापारी।
'गोली हान्ने एमालेलाई भोट दिन नैतिकताले पनि दिँदैन। बालेन छिरेको भएर मान्छेहरूले घन्टी, रास्वपा भनेका हुन्। रवि त जेल बसेको मान्छे हो। त्यसैले नयाँलाई पनि मत दिन मन छैन,' उनले भने, 'बरू यसपालि भोट नै नदिने कि भन्ने सोच्दै छु।'
***
यी पनि पढ्नुस्– सेतोपाटी संविधान मान्छ, सर्वोच्च अदालत जान्छ
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि