२०८२ भदौ २३ को जेनजी आन्दोलनपछि मधेस प्रदेश सरकार अस्थिर बन्यो।
माओवादी केन्द्रबाट मधेस प्रदेश सभा सदस्य रहेका रहबर अन्सारीले २२ कात्तिकमा प्रदेश सभामा आफ्नै अनुहारमा मोसो दलेका थिए। सबैले गल्ती स्वीकार गर्ने समय आएको र सरकारको नेतृत्व गर्ने नैतिक अधिकार कसैसँग नरहेको उनको भनाइ थियो।
पार्टीको निर्देशन विपरीत गएर उनले तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिएनन्। उनले विश्वासको मत नदिँदा जितेन्द्रले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आयो।
माओवादी त्यागे पनि तत्काल कुनै दलमा नजाने प्रतिक्रिया दिएका उनी माघ ५ गते रास्वपाको जनकपुर सभामा देखिए। रास्वपाले पूर्वमुख्यमन्त्री सोनलको प्रदेश सभा क्षेत्र रहेकै बारा-४ बाट उनलाई टिकट दियो।
मधेसमा देखिएको ‘बालेन क्रेज’ र ‘घण्टीको लहर’ उनका लागि फलदायी बन्यो। ४१ हजार २०० मत ल्याएर निर्वाचित हुँदै उनले संघीय संसदको यात्रा तय गरेका छन्।
उनले नेकपा एमालेका ५८ वर्षीय कृष्णकुमार श्रेष्ठ (किसान)लाई २९ हजार ५ सय ६१ मतान्तरले पराजित गरे। दोस्रो स्थानमा रहेका किसानको ११ हजार ६३९ मत छ। ७ हजार ५९३ मतसहित जनता समाजवादी पार्टी (जसपा) नेपालका ४१ वर्षीय सञ्जु साह कानु चौथो बने। नेपाली कांग्रेसका उम्मेदवार ४१ वर्षीय श्यामबाबु गुप्ताले ७ हजार ११३ मत पाए।
०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट किसान यो क्षेत्रमा २९ हजार ५०५ मत ल्याएर निर्वाचित भएका थिए।
को हुन रहबर?
रहबर २०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका हुन्। उनी वीरगन्ज महानगरपालिका बहुअरीका स्थायी बासिन्दा हुन्। उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।
वीरगन्जस्थित गण्डक हस्पिटल प्रा.लि. उनकै परिवारको हो। सन् २००९ देखि २०१६ सम्म गण्डक हस्पिटल प्रालि, वीरगन्जको प्रमुख भएर कामसमेत गरेका थिए।
मधेसमा राजनीतिक संगठन, सरकारी जिम्मेवारी, स्वास्थ्य प्रशासन र अन्तर्राष्ट्रिय विकास कार्यक्रममा संलग्न रहबर तर्क गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। उनले मधेस प्रदेशको समकालीन राजनीतिमा सार्वजनिक नीति, शासन र संस्थागत नेतृत्वमा अनुभव बटुलेका छन्।
विदेशमा अध्ययन गरेर फर्केपछि रहबरले तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीतिक यात्रा सुरु गरे। नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य, वीरगन्ज नगर कमिटी अध्यक्षका रूपमा पार्टी संगठन सुदृढीकरणमा भूमिका निर्वाह गरे।
माओवादीमा प्रचण्डको विश्वासपात्र बने। त्यसको लाभ पनि उठाए।
उनी २०७९ सालमा पर्सा क्षेत्र नम्बर १ (क) बाट ७ हजार ८१७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। मधेस आन्दोलनपछि ०७४ मा भएको पहिलो प्रदेश सभा निर्वाचनमा यो क्षेत्रबाट संघीय समाजवादी फोरमबाट जनत अन्सारी निर्वाचित भएका थिए। माओवादीबाटै उठेका रहबर ६ हजार ७९४ मत ल्याएर तेस्रो स्थानमा थिए।
०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले उनलाई वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा उठाएको थियो। नगर प्रमुखमा उनले ८ हजार ३०५ मत पाए। उनले त्यतिबेलादेखि नै चुनावी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्न थालेका थिए।
माओवादीबाट मधेस प्रदेश सभामा रहँदा रहबर उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीसमेत बने। राज्यमन्त्री हुँदा औद्योगिक विकास, पर्यटन प्रवद्र्धन र वन क्षेत्रको व्यवस्थापनसम्बन्धी नीतिगत काममा उनी संलग्न भए। संसदभित्र होस् वा सडकमा उनी अन्यायको विरुद्धमा, सुशासनको पक्षमा उभिए।
संसदमा तार्किक ढंगले प्रस्तुति दिने र सडकमा अपनाउने फरक खालको विरोधको शैली उनको पहिचान बनेको थियो। सिमेन्ट उद्योगले मूल्यमा ‘कार्टेलिङ’ गरेपछि त्यसविरुद्ध रहबरले सर्वोच्च अदालतसँगैं र सडक आन्दोलन पनि गरे। ०८१ फागुन १५ मा रहबरले आफ्नो नेतृत्वमा केही युवाहरू जम्मा गरेर बोराको कपडा लगाएर प्रदर्शन गरेका थिए। प्रदर्शनमा ‘मूल्य बढेको बढ्यै, हामी हेरेको हेर्यै’ भन्ने नारा दिइएको थियो।
बजारमा कृत्रिम अभाव सिर्जना गरी उद्योग तथा सरकारले मूल्य बढाएको उनको आरोप थियो।
कोभिड–१९ महामारीका बेला बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र सरकारको कर असुलीविरुद्ध अर्धनग्न भएर वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका थिए।
उनीसँग मतदाताले आफ्नो क्षेत्रको विकास र समृद्धिको आशा राखेका छन्। चुनावी अभियानका क्रममा एक किशोरीले रहबरलाई ५० रुपैयाँ दिँदै चुनाव जितेपछि तपाईंले ५० करोडको काम गर्नुपर्छ भनेकी थिइन्।
चुनावी अभियानका क्रममा उनले इमानको राजनीति गर्ने प्रतिबद्धता जनाएका छन्। राजनीतिमा जमेको, गढेको, अडेको भ्रष्टाचार, अन्याय र कुशासनको सफाइ गर्ने उनको भनाइ छ।
‘तपाईंहरू सोच बदल्नुस, मत बदल्नुस’ उनले भनेका थिए, ‘हामी देश बदल्छौं।’ राजनीतिमा विद्यमान गुलामी प्रथाको अन्त्य गर्ने अठोट उनले लिएका छन्।