फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना अझै जारी छ। अधिकांश ठाउँमा मतगणना सकेर परिणाम आइसकेका छन्।
यो निर्वाचनका लागि मतदाता पनि ९ लाख १५ हजार थपिएका थिए।
जेनजी आन्दोलन पछि भएको निर्वाचनका लागि अधिकांश युवाहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। राष्ट्रिय परिचय पत्रमार्फत नाम दर्ता गराउन मिल्ने भए पछि मतदाताको संख्या उत्तिकै बढेको थियो।
यसरी मतदाताको संख्या बढे पनि मतदान भने अहिलेसम्मकै कम खसेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरण अनुसार यसपालि ५८ प्रतिशत मात्रै मत खसेको हो।
कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६७८ छन्।
त्यसमध्ये एक करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। यो भनेको ५८ प्रतिशत हो।
| निर्वाचन मिति |
खसेको मत प्रतिशत |
| २०४८ |
६५% |
| २०५१ |
६१% |
| २०५६ |
६५% |
| २०६४ |
६१% |
| २०७० |
७८% |
| २०७४ |
६८% |
| २०७९ |
६१% |
| २०८२ |
५८% |
स्रोत: निर्वाचन आयोग
आयोगका सूचना अधिकारी सुमन घिमिरे मतगणना सकिसक्दा यो प्रतिशत बढ्न सक्ने बताउँछन्। उनले मत कम खसेको भन्न नमिल्ने पनि बताए।
‘हरेक निर्वाचनको ट्रेन्ड हेर्ने हो भने ६० प्रतिशतको हाराहारीमै खसेको छ। यसपालि पनि करिब ६० भनेका छौं। अन्तिमसम्ममा ५९ सम्म पुग्न सक्छ,’ उनले भने, ‘यसअघि २०७९ सालमा खसेको मत पनि ६१ प्रतिशतकै हाराहारीमा हो। अघिल्लो निर्वाचनमा भन्दा अलि कम खस्नुमा विभिन्न कारण हुनसक्छ।’
आयोगको तथ्यांक हेर्ने हो भने २०७९ सालमा ६१ प्रतिशत मत खसेको थियो।
त्यसअघि २०७४ सालमा ६८ प्रतिशत र २०७०मा भएको संविधान सभा निर्वाचनमा ७८ प्रतिशत मत खसेको थियो।
त्यसअघि संविधान सभा निर्वाचनमा २०६४ सालमा ६१ प्रतिशत, त्यसअघि २०५६ सालमा ६५ प्रतिशत, २०५१ सालमा भएको मध्यावधिमा ६१ प्रतिशत र २०४८ सालमा ६५ प्रतिशत मत खसेको देखिन्छ।
यो निर्वाचनमा मतदान कम हुनुको कारणबारे निर्वाचन आयोगले समीक्षा गर्ने सूचना अधिकारी घिमिरेले बताए।
प्रारम्भिक रूपमा उनले चार वटा कारण देखिएको बताए।
पहिलो, निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा नफर्किएकाले हुनसक्ने उनले बताए।
निर्वाचन क्षेत्र एक ठाउँमा हुने तर कर्मथलो वा अध्ययनका लागि मतदाताहरू अर्कै जिल्लामा बसोबास गर्ने गर्छन्। निर्वाचनमा आफ्नो क्षेत्रमा नफर्किँदा कम खसेको हुनसक्ने आयोगको प्रारम्भिक अनुमान छ।
यस्तै नयाँ मतदाताहरूले पनि आफ्नो निर्वाचन क्षेत्रमा नफर्किएको हुनसक्ने उनले बताए।
दोस्रो, ठूलो संख्यामा मतदाताहरू विदेशमा छन्।
यसपालि मतदाताको संख्या थपिनेहरू विदेशमा रहेकाहरू केही प्रतिशतमा रहेको आयोगका सूचना अधिकारी घिमिरेले बताए।
‘प्रमुख कारण ठूलो संख्यामा मतदाता विदेशमा हुनु हो। यसपालि राष्ट्रिय परिचयपत्र मार्फत पनि नामावलीमा नाम दर्ता गराउँदा विदेशबाट पनि दर्ता गराए। मतदाता नामावलीमा नाम दर्ता गराए पनि कतिपय मतदाता फर्किन नपाएको हुनसक्छ,’ उनले भने, ‘यसकारण पनि केही प्रतिशतमा मतदान कम भएको हुनसक्छ।’
यसरी मतदाताहरू अर्को जिल्लामा हुनसक्ने र विदेशमा हुनसक्ने भएकाले बेजिल्ला र विदेशबाटै मतदान गर्नेबारे बहस चलेको थियो।
निर्वाचन अगाडि अन्तरिम सरकारले यस विषयमा विभिन्न चरणमा छलफल समेत गरेको थियो। तर यसलाई निर्वाचन आयोग र सरकारले कार्यान्वयन भने गर्न सकेन।
तेस्रो कारण, नामावली मृतकको नाम नहटेको र कतिपयको नाम पनि दोहोरो हुनसक्ने प्रारम्भिक आकलन छ।
‘मतदाता नामावलीमा कतिपयको मृत्यु भएकाहरूको पनि पर्न सक्छ। कतिपयको दोहोरो नाम पनि परेको हुनसक्छ। अब यसको पनि शुद्धीकरण गर्नुपर्ने भएको छ,’ उनले भने।
चौथो कारण राजनीतिक दलहरूमा भएको नैरस्यता रहेको पनि उनले बताए।
जेनजी आन्दोलन भएपछि नेकपा एमाले र नेपाली कांग्रेसप्रति आफ्नै पार्टीका कार्यकर्ताहरू असन्तुष्ट देखिएका थिए।
कतिपय दलका कार्यकर्ताहरू समेत मतदान गर्न नगएको हुनसक्ने उनको भनाइ छ।
‘राजनीतिक दलहरूमा आन्तरिक व्यवस्थापन नभएकाले नैरस्यता भएकै कारणले पनि नगएको देखिन्छ। तर अब यसको रिसर्च गर्नुपर्ने हुन्छ,’ उनले भने।