फागुन २१ को निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर गोरखा–१ बाट उम्मेदवारी दिएका सुधन गुरूङले सुरूदेखि नै गृहमन्त्री हुने तयारी गरेका थिए।
उनको त्यो तयारी चुनावी भाषणहरूबाट पनि पुष्टि हुन्छ। उनले चुनावी प्रचार क्रममै आफू गृहमन्त्री बन्न चाहेको आसय प्रकट गरेका थिए।
नभन्दै चुनावपछि करिब दुई–तिहाइ बहुमतसहित बनेको प्रधानमन्त्री बालेन शाहको सरकारमा उनी गृहमन्त्री भइछाडे।
पार्टी सभापति रवि लामिछानेले तत्कालीन उपसभापति (हाल प्रतिनिधिसभाका सभामुख) डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहँदा चाहँदै प्रधानमन्त्री बालेनकै प्रस्तावमा 'लास्ट आवर' मा गृहमन्त्री बनेका सुधन गुरूङको कार्यकाल भने ऐतिहासिक रूपले छोटो रह्यो।
चैत १३ गते शपथ लिएका सुधनले २७ दिनपछि बुधबार प्रधानमन्त्रीलाई राजीनामा बुझाए।
भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा 'पानी बाँड्न आएको' भनी चर्चामा आएका सुधन गुरूङको राजनीतिमा प्रवेश, गृहमन्त्रीमा नियुक्ति र छोटो अवधिमै बहिर्गमनको यात्रा नाटकीय छ।
उनी आकाशमा झिलिक्क चम्किएर मिलिक्कै झर्ने उल्कापिण्डझैं २७ दिन गृहमन्त्री पदमा रहेर बाहिरिन बाध्य भए।
फर्केर हेर्ने हो भने नेपाली राजनीतिमा सुधनको प्रवेश आकस्मिक रूपमा भएको थियो।
२०७२ सालको भुइँचालोदेखि 'हामी नेपाली' नामक संस्था खोलेर समाजसेवा गर्दै आएको बताउने र त्यही समाजसेवा क्रममा जेनजी आन्दोलनमा पानी बाँड्न आएको भन्ने सुधन त्यसपछिका दिनमा जेनजी समूहका 'अगुवा' बने।
कतिपय जेनजी अभियानीले उनलाई आन्दोलन 'हाइज्याक' गरेको आरोप नलगाएका होइनन्। तर त्यसले जेनजी समूहको प्रतिनिधिका रूपमा उनको उपस्थिति कम गरेन। उल्टै उनी कसलाई प्रधानमन्त्री बनाउने र कसलाई गृहमन्त्री बनाउने भन्नेसम्मका महत्त्वपूर्ण राजनीतिक निर्णयहरूमा संलग्न हुन थालेको देखियो।
उनको चर्चा त्यति बेला चुलियो, जब तत्कालीन अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई 'जेठो छोरा' भने। सुधन आफै पनि सुशीला कार्कीको शपथ ग्रहणपछि बालुवाटार निवासमै पुगेर उनको खुट्टा ढोगे, उनीसँग सामूहिक तस्बिर खिचाए।
पछि एक समय यस्तो आयो, जब उनी सुशीला कार्कीको राजीनामा माग्दै हिँडे।
अन्तरिम सरकारको कार्यकालभरि विभिन्न मन्त्रालयमा गएर काम–कारबाहीमा दख्खल दिएको र विभिन्न जिल्लाका सिडिओ र स्थानीय प्रतिनिधिहरूलाई फोन गरेर निर्देशन दिएको भन्दै उनी विवादमा पनि आइरहे।
यसबीच रवि लामिछाने र बालेन शाहबीच एकता गराउन होस् वा कुलमान घिसिङलाई समेत एकतामा तानेर ल्याउन होस्, सुधन गुरूङ सानो–ठूलो भूमिकामा देखापरिरहे।
त्यही भूमिकाको बलमा बालेन शाह वरिष्ठ नेताका रूपमा रास्वपा प्रवेश गरेपछि उनी पनि सँगसँगै रास्वपा छिरेका थिए।
चुनावपछि पार्टीभित्रको कचमचबीच प्रधानमन्त्रीकै प्रस्ताव र जोडबलमा गृहमन्त्री बनेका सुधनले कार्यकालको 'ओपनिङ' शानदार ढंगले गरेका थिए।
मन्त्री बनेको भोलिपल्टै उनले पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरे। त्यस क्रममा फेसबुकमा '७, ८, ९' लेख्दै हरेक दिनजसो कसै न कसैलाई पक्राउ गर्ने उनको शैलीको विरोध नभएको होइन। तर आमजनताको नजरमा उनी 'हक्की' गृहमन्त्रीका रूपमा दरिँदै गएका थिए।
पछिल्लो २७ दिनमा उनी कहिले प्रहरी कार्यालय निरीक्षणमा गए, कहिले रोशी नदीमा गएर क्रसर उद्योगहरू निरीक्षण गरे। निर्माणाधीन अवस्थामा रहेका राजमार्ग निरीक्षण गर्दै छिटो काम सक्न निर्देशन पनि दिए। आफ्नो मन्त्रालय मातहत नपर्ने ठाउँमा हस्तक्षेप गरेको भन्दै सरकारभित्रै उनको आलोचना भयो।
यहाँसम्म त सब ठिकठाक चल्दै थियो। कतिपयले आलोचना गरे पनि उनी त्यति ठूलो विवादमा परेका थिएनन्।
स्थिति त्यति बेला बिग्रियो, जब प्रधानमन्त्री बालेनसहित मन्त्रिपरिषदका सबै सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २९ गते सार्वजनिक गरेको उक्त विवरणमा अन्य मन्त्रीहरूको सम्पत्तिलाई लिएर पनि प्रश्न नउठेको होइन। तोलाका तोला सुन जम्मा गरेको भनी थुप्रै मन्त्रीका 'मिम' बने। तर सुधन गुरूङको सम्पत्तिले जिब्रो नै टोक्न बाध्य हुनुपर्ने स्थिति ल्यायो।
गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका थिए। बुबा दिलबहादुर गुरूङका नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारका नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका थिए।
यसबाहेक ८९ तोला सुन र ६ किलो चाँदी पैतृक सम्पत्ति देखाएका थिए। त्यस दिनको मूल्य अनुसार उनको स्वामित्वमा रहेको सुन २ करोड ६४ लाख ३३ हजार रूपैयाँ बराबरको थियो।
यति मात्र होइन, गुरूङसँग विभिन्न बैंकमा ६१ लाख रूपैयाँभन्दा बढी नगद जम्मा रहेको देखियो। विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँको सेयर रहेको पनि सम्पत्ति विवरणबाट थाहा भयो।
यति सम्पत्ति हुनु आफैमा ठूलो कुरा हुन्थेन होला, यदि सुधन गुरूङको आर्थिक पृष्ठभूमि बलियो भइदिएको भए।
तर सुधन आफैले विभिन्न अन्तर्वार्तामा आफ्नो आर्थिक पृष्ठभूमि बलियो नभएको बताउँदै आएका थिए। २०७२ सालपछि समाजसेवामा मात्र संलग्न रहेको उनको दाबी थियो।
हामीले विभिन्न मिडियामा सुधनले दिएका पुराना अन्तर्वार्ता सुनेका छौं। ती अन्तर्वार्तामा उनले आफ्नो संघर्ष र 'हामी नेपाली' सञ्चालनसँग जोडिएका थुप्रै विषय खुलाएका छन्। ठमेलमा डिस्को चलाएको चर्चा पनि गरेका छन्।
उनकै दाबी अनुसार व्यवसायका नाममा २०७२ सालअघि डिस्को चलाएको र त्यसपछि सारा समय समाजसेवामा व्यतीत गरेको व्यक्तिले करोडौं मूल्यको सेयर, सुन लगायत अथाह सम्पत्ति कसरी जोड्न सक्यो भन्ने प्रश्न उठेको हो।
उनले एक अन्तर्वार्तामा भनेका छन्, 'एक समय थियो, जब म निकै संघर्ष गर्दै थिएँ। म केही गर्न खोज्दै थिएँ। तर केही काम बनिरहेको थिएन। त्यो बेला क्लब भनेको के हो भन्ने पनि मलाई थाहा थिएन। क्लब भनेको बिग्रेका बच्चाहरू जाने ठाउँ हो भन्ने थियो। त्यस्तै क्लबमा एकदिन मेरा साथीहरूले लगे।'
'म त्यहाँ भक्कु नाचेँ, तीन घन्टा नाचेँ। म रक्सी खान्नँ, त्यो बेला त स्मोक (धूमपान) पनि गर्दिन थिएँ। त्यहाँ मेरो टेन्सन रिलिज भयो,' उनले भनेका छन्, 'त्यहाँ कोही पनि दु:खी नदेखेको र डिजेका कारण सबै जना रमाइरहेकाले मैले पनि सिक्नुपर्छ भनेर 'इन्स्पायर' (प्रेरित) भएँ।'
त्यही प्रेरणाले आफूले डिजे सिकेको र कर्म दाइ भन्ने व्यक्तिसँग मिलेर 'ओएमजी क्लब' खोलेको उनले बताएका छन्।
'हामीले दु:ख गर्यौं। सन् २०१२ मा खोलेको हुनपर्छ। २०१५ सम्म चलाएको हुँ,' उनले भनेका छन्।
२०७२ सालको भुइँचालोपछि भने आफ्नो जिन्दगीमा 'टर्निङ प्वाइन्ट' आएको उनको भनाइ छ।
'मान्छे मरेको देखेपछि म सिफ्ट भएँ। अहिलेसम्म त कमाइयो, पछि पनि कमाउन सकिन्छ भन्ने सोचेर भएभरको पैसा खर्च गरेर मान्छे बचाउनतिर लागेँ,' उनले भने।
त्यही बेला भुइँचालो प्रभावितहरूको पुनर्स्थापनामा सहयोग गर्न 'हामी नेपाली' संस्था खोलेको र समाजसेवामा संलग्न रहँदै आएको उनको भनाइ छ।
'हामी नेपालीमा सबैले आ–आफ्नो खल्तीबाट पेट्रोलको पैसा हालेका थियौं। कोही पनि स्वयंसेवकले एक रूपैयाँ पाउँदैन थिए, कसैको तलब थिएन। सबै आफैले खर्च गर्ने हो,' उनले भनेका छन्।
काम बढ्दै गएपछि साथीहरूसँग चार–पाँच हजार रूपैयाँ उठाउँदै संस्था चलाउन थालेको पनि उनले बताएका छन्।
त्यस्तै, विभिन्न कामका लागि विभिन्न व्यक्तिबाट चन्दा उठाएको पनि उनले अन्तर्वार्ताहरूमा भनेका छन्।
ती अन्तर्वार्तामा उनले कतै पनि आफूसँग यति ठूलो परिमाणको सम्पत्ति छ भन्ने खुलाएका थिएनन्। मन्त्री भइसकेपछि जब उनको सम्पत्तिको लामो फेहरिस्त सार्वजनिक भयो, त्यसपछि उनकै पुरानो दाबीका आधारमा त्यो सम्पत्तिको स्रोत के हो भनेर प्रश्न उठ्न थाल्यो।
यस्तो प्रश्न उठेपछि उनले 'मेरो बाजेका सन्तानहरूबीच अंशबन्डा नभएको' जबाफ पनि दिए। तर प्रश्न उनको पैतृक जग्गामा मात्र उठेको थिएन।
मूल प्रश्न थियो — उनले ४ करोड ३१ लाख रूपैयाँ बराबरको सेयर कसरी किने? झन्डै पौने ३ करोडको सुन कसरी जोडे? त्यसको स्रोत के हो?
सुरूआत यिनै प्रश्नबाट भएको थियो। बिस्तारै उनको सम्पत्ति विवरण थप जेलिँदै गयो।
सेयर लगानीको स्रोत मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग उनको व्यवासायिक साझेदारी रहेको तथ्य पनि खुल्यो।
विवाद बढ्दै गएपछि उनले गत सोमबार आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा स्पष्टीकरण दिए। त्यो स्पष्टीकरणमा पनि धेरै प्रश्न अनुत्तरित थिए।
गुरूङले आफ्नो स्पष्टीकरणमा 'ऋण लिएर सेयर किनेको' दाबी गरेका थिए। त्यसलाई पुष्टि गर्न मिडियामा सार्वजनिक भइसकेका दुईवटा कम्पनी 'स्टार माइक्रो इन्स्योरेन्स' र 'लिबर्टी माइक्रो इन्स्योरेन्स' को नाम पनि उल्लेख गरेका थिए।
तर प्रश्न यी दुई कम्पनीको सेयरसँग मात्र जोडिएको थिएन। प्रश्न उनले आफ्नो सम्पत्ति विवरणमा चार शीर्षकअन्तर्गत सार्वजनिक गरेको समग्र सेयर स्वामित्वसँग जोडिएको थियो।
गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्ने हो भने उनले चार शीर्षकमा कुल ४ करोड ३१ लाख ५६ हजार रूपैयाँ बराबरको सेयर आफ्नो स्वामित्वमा रहेको खुलाएका थिए।
त्यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन्। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन्।
उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० रूपैयाँ बराबरको सेयर रहेको विवरण गुरूङले दिएका थिए। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका वा आगामी दिन सूचीकृत हुने कम्पनीहरूको सेयर मूल्य हो।
गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन–कुन हुन् भनेर सम्पत्ति विवरणमा खुलाएका थिएनन्। यसमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर विभिन्न कम्पनीको संस्थापक सेयर हो।
गुरूङले आफ्नो स्पष्टीकरणमा भनेझैं स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको सेयर मात्र ऋण लिएर किनेका हुन् कि सम्पत्ति विवरणमा देखाएको कुल ४ करोड ३१ लाख ५६ हजार रूपैयाँको सबै सेयर ऋण लिएर किनेका हुन् भन्ने प्रश्न अनुत्तरित छ।
अर्को महत्त्वपूर्ण कुरा, उनको नाममा ४ करोडभन्दा बढीको सेयर भए पनि उनी सेयर बजारका खेलाडी होइनन्। उनले दोस्रो बजारमा सेयर किन्न थालेको भर्खरै हो। उनले २०८२ माघ १५ देखि चैत ८ गतेसम्म करिब ५० दिनको बीचमा ५३ लाख रूपैयाँको सेयर किनेको विवरण हामीलाई प्राप्त भएको छ। त्यसबाहेक उनले दोस्रो बजारमा सेयर किनबेच गरेको कुनै रेकर्ड छैन।
रोचक कुरा त, उनले सेयर किनेको यो अवधि जेनजी आन्दोलनपछि मन्त्री हुनुभन्दा पाँच दिन अघिसम्मको हो।
त्यस्तै, सुधनले आफ्नो सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत 'व्यवसाय/पैतृक सम्पत्ति/लगानी' भनेका छन्। यसमा ऋण लिएर सेयर किनेको भनिएको छैन। तर गत सोमबारको स्पष्टीकरणमा उनले ऋण लिएर सेयर किनेको दाबी गरेका थिए।
ऋण लिएर सेयर किनेका हुन् भने त्यही कुरा सम्पत्ति विवरणमा किन खुलस्त पारेनन्? यसले पनि उनको सेयर खरिदको स्रोतमा शंका जन्माएको थियो।
उनले गृहमन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा 'ऋण लिए/दिए/तिरेको विवरण' भर्ने ठाउँ पनि छ। तर यो ठाउँ उनले खाली छाडेका थिए। हामीले अन्य मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा कतिपयले ऋण तिर्नुपर्ने रकम खुलाएका छन्। कतिपय मन्त्रीले त गाडी किन्दा लिएको ऋण पनि सम्पत्ति विवरणमा भरेका छन्।
यति मात्र होइन, सुधन गुरूङले आफ्नो स्पष्टीकरणमा दीपक भट्टसँगको व्यापारिक सम्बन्धबारे केही बोलेका थिएनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका भट्टसँगको उनको व्यावसायिक साझेदारीले नै धेरै शंका जन्माएको थियो, जसलाई उनको स्पष्टीकरणले सम्बोधन गरेन।
यसरी 'हक्की' गृहमन्त्रीका रूपमा मन्त्रालय प्रवेश गरेर एकपछि अर्को निर्णय गर्दै शानदार ओपनिङ गरेका सुधन गुरूङको आर्थिक जीवनलाई लिएर अनेक प्रश्न उठे।
हुँदाहुँदा उनले सम्पत्ति विवरणमा देखाएको धनकुटाको झन्डै २० रोपनी जग्गा त मन्त्री हुनुभन्दा दुई दिनअघि मात्र किनेको तथ्य फेला परेको छ।
यी सबका बीच रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले बुधबार बिहानै सुधन गुरूङलाई पदबाट राजीनामा दिन भनेपछि दिउँसो फेसबुकबाट राजीनामा घोषणा गर्न उनी बाध्य भए।
'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' (स्वार्थको द्वन्द्व) नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,' उनले लेखेका छन्।
छानबिन क्रममा सुधन गुरूङले आफ्नो सबै सम्पत्तिको स्रोत खुलाउन सक्छन् कि सक्दैन र आफूमाथि उठेका आर्थिक प्रश्नमा 'क्लिन चिट' पाउँछन् कि पाउँदैनन्, त्यो हेर्न बाँकी छ।
अहिलेलाई भने उनी आकाशमा झिलिक्क चम्केर मिलिक्कै झरेको उल्कापिण्डझैं नेपाली राजनीतिमा एकदमै तीव्र गतिमा उचाइमा पुगेर त्यति नै तीव्र गतिमा तल झरेका नेता बनेका छन्।
***