सम्पत्ति विवादपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका सुधन गुरूङले धनकुटाको २० रोपनी जग्गा गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै किनेको तथ्य फेला परेको छ।
धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका-६ को कार्कीछाप भन्ने ठाउँमा १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत् सुधनको नाममा पास भएको हो।
उक्त जग्गा प्रतिरोपनी १७ हजार रूपैयाँ सरकारी मूल्यांकन गरेर किनबेच भएको मालपोत कार्यालयले जनाएको छ। त्यसबापत जग्गाको मूल्य ६ लाख ९० हजार रूपैयाँ उल्लेख छ। त्यही मूल्यांकन अनुसार राजस्व बुझाइएको मालपोतको भनाइ छ।
'१६७ कित्ता नम्बरको जग्गा उहाँको नाममा पास भएको देखिन्छ,' धनकुटा मालपोतका एक कर्मचारीले सेतोपाटीसँग भने, 'जुनू लिम्बू नामको जग्गाधनीबाट उहाँले किनेको अभिलेखमा छ।'
मालपोत कार्यालयका अनुसार साँघुरीगढीको ६ नम्बर वडा कार्यालयले गरेको सिफारिसका आधारमा जग्गाको सरकारी मूल्यांकन राखेर किनबेच भएको हो। वडा कार्यालयले उक्त जग्गामा बाटो नभएको र सडकबाट भित्र पर्ने भनेर सिफारिस गरेको छ।
साँघुरीगढी-६ का वडाध्यक्ष यमप्रसाद मगर (दीपक) ले जग्गा कसले किनेको आफूलाई थाहा नभएको तर जग्गाधनीले सिफारिस मागेपछि चैत ११ मा सिफारिस दिएको बताए।
सुधन गुरूङले जेनजी आन्दोलनपछि र गृहमन्त्री बन्नुभन्दा ५ दिनअघि करिब ५० दिनको अवधिमा पटक पटक गरेर एउटा कम्पनीको ५३ लाख रूपैयाँ बराबरको सेयर दोस्रो बजारबाट किनेको समचार यसअघि नै सेतोपाटीले लेखिसकेको छ।
जग्गाको मूल्यबारे वडाध्यक्ष र स्थानीय व्यवसायीको भनाइ
साँघुरीगढी-६ का वडाध्यक्ष मगरले ठाउँ अनुसार जग्गाको भाउ फरक पर्ने जानकारी दिँदै भने, 'हामीले सिफारिस गरेको जग्गा त्यही ३ लाख रूपैयाँ रोपनी जतिमा किनबेच हुन्छ होला।'
त्यही ठाउँमा केही महिनाअघि ७ रोपनी जग्गा किनेका इटहरीका एक जना होटल व्यवसायीले आफूले ६ लाख रूपैयाँ रोपनीमा किनेको जानकारी दिए।
यातायात व्यवसाय गर्दै आएका कार्कीछापकै एक जना स्थानीय बासिन्दाले पनि बाटोभन्दा भित्र रोपनीको ६–७ लाखसम्म पर्ने बताएका छन्।
वडाध्यक्षले भनेकै दाममा किनबेच भएको हो भने सुधनले लगभग ६० लाख रूपैयाँमा जग्गा किनेको देखिन्छ। स्थानीय व्यवसायीले भनेको मूल्यमा किनबेच भएको हो भने यो जग्गाको मूल्य एक करोड रूपैयाँभन्दा बढी पर्न जान्छ।
सुधनले जग्गा किनेको ठाउँ पूर्वको चर्चित पर्यटन स्थल भेडेटारबाट ३ किलोमिटर उत्तरमा पर्छ। स्थानीयका अनुसार यो ठाउँ धनकुटाका दुई चर्चित पर्यटन केन्द्र भेडेटार र नमस्ते झरनाको बीचमा पर्छ।
'मौसमी हिसाबले यो ठाउँ न भेडेटारजस्तो एकदमै चिसो छ, न अन्यत्रजस्तो गर्मी। बाह्रैमास न धेरै चिसो हुन्छ, न धेरै गर्मी। त्यही भएर यो ठाउँमा पछिल्लो समय होटल र रिसोर्टहरू खुल्ने क्रम चलेको छ,' एक स्थानीय होटल व्यवसायीले भने।
ती होटल व्यवसायीका अनुसार केही समय अघिदेखि नै सुधनले कार्कीछापमा जग्गा किनेको हल्ला चलेको थियो।
'केही महिनाअघि नै जग्गा किनेको भन्ने सुनेका थियौं,' उनले भने, 'तर कहिले पास गरेको र कतिमा गरेको भन्ने थाहा भएन।'
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २९ मा सार्वजनिक गरेको गुरूङको सम्पत्ति विवरण र त्यसको स्रोतबारे विवाद बढ्दै गएपछि गृहमन्त्री गुरूङ पदबाट राजीनामा दिन बाध्य भएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका व्यापारी दीपक भट्टसँगको सम्बन्ध र साझेदारी तथा विभिन्न कम्पनीमा रहेको ठूलो परिमाणको सेयर लगानीको स्रोत देखाउन नसकेपछि गुरूङको विवाद बढ्दै गएको थियो।
उनले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा यसअघि स्पष्टीकरण दिए पनि त्यसले झनै विवाद ल्याएको थियो।
अन्तत: बुधबार बिहान प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेले गुरूङलाई राजीनामा दिन भनेका थिए।