पार्टी सदस्यता समेत खोसिएकी विद्या भण्डारी आइतबार नेकपा एमालेको कार्यक्रममा प्रमुख अतिथि बनेपछि अध्यक्ष केपी शर्मा ओलीसँग उनको फाटो अन्त्य भएको हो भन्नेमा धेरैको चासो बढेको छ।
एमालेले बल्खुको पुरानो कार्यालय रहेको खण्डहर स्थानमा आयोजना गरेको ३३औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन्।
केही समययता पार्टी अध्यक्ष ओली र भण्डारीबीच राजनीतिक दुरी बढेको भए पनि भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको हो।
पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले आइतबारको कार्यक्रममा आफू उपस्थित नहुने बरू विद्या भण्डारीलाई प्रमुख अतिथि बनाउन उपयुक्त हुने सुझाव दिएको नेताहरू बताउँछन्।
'दुई दिनअघि कार्यालय सचिव डा. भीष्म अधिकारीले भण्डारीका स्वकीय सचिव राजकुमार राईलाई फोन गरेर पूर्वराष्ट्रपतिको अहिलेको निवास कहाँ हो? कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा कार्ड ल्याउनु थियो भन्नुभएको थियो। अध्यक्षले नभनी कार्यालय सचिवले नै कार्यक्रमको प्रमुख अतिथि कहाँ तय गर्न सक्नुहुन्छ?' भण्डारी निकट एक नेताले सेतोपाटीसँग भने।
ओली पछिल्लो समय सार्वजनिक कार्यक्रममा निस्किएका छैनन्। भक्तपुर गुन्डूस्थित निवासमै आराम गरिरहेका छन्। ओलीकै स्वास्थ्यलाई कारण देखाएर शनिबार दिउँसो २ बजेलाई तय भएको सचिवालय बैठक सोमबारलाई सारिएको छ।
उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले अध्यक्षता गरेको आइतबारको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरू मञ्चमा थिए। उनीहरू पनि यसअघि भण्डारीको सदस्यता खारेज गर्ने पक्षमै उभिएका नेता हुन्।
यसरी सदस्यता समेत खोसिएकी विद्या एकाएक एमाले कार्यक्रमको प्रमुख अतिथि बन्नुमा ओलीको स्वास्थ्य मात्र कारण छ कि राजनीतिक सन्देश पनि मिसिएको छ भनेर एमालेकै एक पदाधिकारीलाई हामीले जिज्ञासा राख्यौं।
ती नेताले यसमा स्वास्थ्यको कारण मात्र नभएको तर्क गरे। उनले अध्यक्ष ओली–भण्डारीबीचको सुलहका रूपमा बुझ्नुपर्ने उनले बताए।
'वास्तवमा यो हिजै देखिनुपर्ने दृश्य थियो। गत साउनको केन्द्रीय समिति बैठकले जसरी भण्डारीको नवीकृत पार्टी सदस्यता खोस्यो, त्यो ब्लन्डर थियो,' ती नेताले भने, 'पार्टीको पूर्वउपाध्यक्ष, हिजो आफूलाई पदमा पुर्याउन अहम् भूमिका खेलेको मानिसलाई त यसो गर्न सक्दा रहेछन् भनेर टीकाटिप्पणी गर्ने विषय बनेको थियो। आज उनैलाई प्रमुख अतिथि बनाएर कोर्स करेक्सन गर्ने काम भएको छ।'
ओली र भण्डारीको सम्बन्ध सुध्रिएकाले संस्थापन पक्षमा खुसियाली छाएको ती नेताले दाबी गरे।
'हिजै गर्नुपर्ने काम ढिला भए पनि आज भएको छ। हामी खुसी छौं,' ओली निकट मानिएका ती नेताले भने।
एमालेकै अर्का पदाधिकारी भने यो मान्न तयार छैनन्। ओलीले बाध्यतावश भण्डारीसँग नजिकिएर सम्बन्ध सुधारको प्रयास थालेको उनको भनाइ छ।
उनका अनुसार अहिले ओली संकटमा छन्। जेनजी आन्दोलनमा सत्ताच्यूत भएपछि एमाले कमजोर बनेको छ। गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट मात्र जित्न सक्यो। समानुपातिकतर्फ १६ सिट पाएकाले अहिले २५ सांसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्।
अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी आन्दोलन उठाउन नसकिने निष्कर्षमा पुगेका संस्थापन पक्षका नेताहरू ओलीको विकल्प खोज्न थालेका छन्।
उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, रघुजी पन्त, महासचिव शंकर पोखरेलहरू नै ओलीको विकल्प खोज्न लागेपछि ओली राजनीतिक र नैतिक संकटमा छन्। गत मंसिरमा भएको ११औं महाधिवेशनमा ओलीलाई नेतृत्वमा दोहोर्याउन लाग्नेहरूले नै आज उनले पद छाड्नुपर्छ, अभिभावकीय भूमिका स्वीकार गर्नुपर्छ भनेपछि ओली संकटमा पर्नु स्वाभाविक नै हो।
संकट मोचनका लागि उनले भण्डारीको सहारा खोजेको टिप्प्णी अहिले एमाले वृत्तमा भइरहेको छ। आज त्यसको पुष्टि भएको एमाले नेताहरू बताउँछन्।
जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पक्राउ परेका ओली गत चैत २६ गते रिहा भएका थिए। त्यसअघि नै एमालेमा नेतृत्व परिवर्तनको बहस उठेको थियो। चुनावलगत्तै उपाध्यक्ष विष्णु पौडेलले मार्गप्रशस्त गर्न सुझाव दिइसकेका थिए। ओलीको विकल्प खोज्ने पौडेलको मतमा महासचिवको सहमति थपिइसकेको थियो।
त्यसपछि दबाबमा परेका ओलीले भण्डारीसँग संवाद बढाएको ओली निकट नेताहरूको दाबी छ।
बिरामी अवस्थामा भेट्न त्रिवि शिक्षण अस्पताल पुगेकै बेला ओली–भण्डारी संवादले तीव्रता पाएको थियो। वैशाख ६ गते डिस्चार्ज भएपछि पनि ओली भेट्न भण्डारी गुन्डू पुगेकी थिइन्। त्यहाँ उनीहरूबीच लामै बातचित भयो।
'पार्टीभित्रको अन्तरसंघर्ष, ओली समूहबीच नै झाँगिदै गएको असन्तुष्टिबारे भण्डारी जानकार नहुने कुरा भएन,' एमाले नेता भन्छन्।
त्यसैले भण्डारीको 'टोन' पनि पछिल्लो समय फेरिँदै गएको आभास नेताहरूलाई भएको थियो। आफूलाई भेट्न जाने नेताहरूलाई भण्डारीले पार्टीमा संकट निम्तनु, चुनावमा पराजय व्यहोर्नुको एक्लो कारक ओली मात्र नभएको भन्ने गरेकी थिइन्। सामूहिक जबाफदेहिता अपरिहार्य रहेको उनको आसय थियो।
ओलीसँग सम्बन्ध सुध्रिएको संकेत भण्डारीले आइतबारको अभिव्यक्तिमा पनि दिएकी थिइन्। कार्यक्रममा सम्बोधन क्रममा उनले पार्टीभित्र उठिराखेको नेतृत्व र पार्टी आन्दोलन पुनर्गठनको विषयमा प्रवेश गरेकी थिइनन्। वैचारिक पुनर्जागरणको खाँचो मात्रै महसुस गरेकी थिइन्।
'स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन, वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म हार्दिक आग्रह गर्छु,' उनले भनेकी थिइन्।
त्यस्तै उनले अब एमालेले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखेकी थिइन्।
२०८२ साउन ५ र ६ गते बसेको बैठकले तीन आधार अघि सार्दै विद्या भण्डारीको नवीकृत सदस्यता खारेज गरेको थियो।
एमालेले अघि सारेका तीन आधार
स्वतः निस्क्रियताको सिद्धान्त– एमालेले पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपतिको सम्मानित र दलभन्दा माथिको संवैधानिक पदमा पुगिसकेकाले पदभार ग्रहण गरेसँगै उनको पार्टी सदस्यता स्वतः निस्क्रिय भएको बताएको थियो।
दलगत राजनीतिबाट अलग रहनुपर्ने मान्यता– पूर्वराष्ट्रपतिको गरिमा कायम राख्न र लोकतान्त्रिक प्रणाली मजबुत बनाउन उनले सक्रिय राजनीतिमा फर्किनु उपयुक्त नहुने तर्क गरेको थियो।
विधानको व्याख्या– पार्टी विधानको धारा ८ र ९ को व्याख्या गर्दै पार्टी नेतृत्वले भण्डारी पुनः सक्रिय राजनीतिमा आउँदा पूर्वराष्ट्रपति पदको मर्यादामा आँच आउन सक्ने तर्क गरेको थियो।
ओलीले नै अघि सारेको यो तर्कमा उनी दोस्रो विधान महाधिवेशन र ११औं महाधिवेशनमा अडिग थिए। ११औं महाधिवेशनमा भण्डारी ओलीसँग आमुन्नेसामुन्ने नै भइन्। उनैले समर्थन गरेका ईश्वर पोखरेलले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए।
महाधिवेशन सकिएको ६ महिना नबित्दै ओली पुरानो तिक्तता मेट्न लागेका हुन्।