नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र विधिको शासनविपरीत उन्मुख भएको बताएका छन्।
स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको लोकतन्त्रमा विधिको शासन विषयक विमर्शमा महरले सरकारद्वारा गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यादेश नै पूर्वाग्रही र चयनात्मक प्रकृतिको देखिएको बताए।
आयोगलाई निष्पक्ष अनुसन्धानको माध्यमभन्दा पनि सरकारसँग असहमति राख्न सक्ने व्यक्ति, राजनीतिक शक्ति वा आलोचकलाई लक्षित गर्दै ‘ठेगान लगाउने’ उपकरणका रूपमा प्रयोग गर्न खोजिएको उनले आशंका व्यक्त गरेका छन्।
‘लोकतन्त्रमा कानुन कसैको पक्ष वा विपक्षमा उभिनु हुँदैन। राज्य संयन्त्र प्रतिशोध साँध्ने माध्यम बन्न थाल्यो भने त्यो विधिको शासन होइन, व्यक्तिको शासनतर्फको खतरनाक संकेत हो,’ उनले भने।
भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका नाममा गरिने हरेक कदम निष्पक्ष, विश्वसनीय र समान हुनुपर्ने उल्लेख गर्दै सम्पत्ति छानबिनको दायरा सत्ता, प्रतिपक्ष, कर्मचारीतन्त्र तथा सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू हुनुपर्ने उनले बताए।
‘लोकतन्त्रमा कसैलाई बचाउने र कसैलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन। कानुनको समान प्रयोग नै लोकतन्त्रको आधार हो। यदि राज्यका निर्णयहरू आग्रह, पूर्वाग्रह र राजनीतिक प्रतिशोधबाट निर्देशित हुन्छन् भने त्यसले लोकतन्त्रप्रति जनविश्वास कमजोर बनाउँछ,’ उनले भने।