बाटोमा बजेट विनियोजन गर्न माग गर्दै सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल शुक्रबारदेखि धर्नामा बसेका छन्।
नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष रिजाल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेतस्थित कार्यालय बाहिर धर्नामा बसेका हुन्।
कार्यालयको पर्खाल बाहिर ब्यानर टाँगेर धर्ना सुरु गरेका रिजालले गएराति सोही स्थानमा म्याट बिछ्याएर झुल टाँगी बसेका थिए।
उनको अभियानमा वडा सदस्य तीर्थबहादुर राना, वडा प्राविधिक मनोज बास्कोटा र सामाजिक अभियानी हिमाल पुन मगर पनि सहभागी छन्।
वडाध्यक्ष रिजालले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।
'हाम्रो माग पूरा नभएसम्म धर्ना जारी रहन्छ। असार १ गतेसम्म पनि जान सक्छ, किनकि त्यही दिन नयाँ आर्थिक वर्षको बजेट आउँछ,' उनले भने।
उनले सुर्खेत–बबई हुँदै घुइयाँबारीसम्मको रत्न राजमार्गअन्तर्गत पर्ने १८ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे आफ्नो मुख्य माग रहेको बताए।
'म आएको चार वर्ष हुन लाग्यो। हरेक आर्थिक वर्षमा सुर्खेत–घुइयाँबारी सडकका लागि बजेट माग गर्दै फाइल पेस गर्दै आएको छु,' उनले भने, 'तर त्यसमा केही भएन।'
सुर्खेत क्षेत्रमा पर्ने गिद्देखोला, सल्यान खण्डका कुइनेखोला, अम्लिसेवा खोलालगायत दर्जनौं खोलामा पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुने उनी बताउँछन्।
'बर्खामा गाडी चल्दैनन् र जनताले निकै दुःख पाउँछन्,' उनले भने, 'भारी बोकेर हिँड्दै जीवनसँग पौँठेजोरी खेल्नु सर्वसाधारणको नियति बनाइएको छ।'
रिजालका अनुसार सुर्खेत–घुइयाँबारी सडक खण्डमा २०६४/६५ मा नयाँ ट्र्याक खोलिएको हो। कालीमाटी गाउँपालिकाले आफ्नो क्षमता अनुसार प्रत्येक वर्ष ग्राभेल, ग्याबिन वाल र तारजालीको काम गर्दै आए पनि स्तरोन्नति वा कालोपत्रेका लागि गाउँपालिकाको स्रोत पर्याप्त नभएको उनको भनाइ छ।
'यो सडकका लागि धेरै पटक माननीयदेखि मन्त्रीसम्म हारगुहार गर्यौं, तर कसैले सुनेनन्,' उनले भने, 'पहुँच भएकालाई मात्रै बजेट दिने प्रवृत्ति अन्त्य हुनुपर्छ। आवश्यकताका आधारमा विकास निर्माणको काम हुनुपर्छ।'
संघीय सरकारको बजेटबाट बबई नदीमा करिब २०० मिटर लामो पक्की पुल गत वर्ष नै निर्माण सम्पन्न भए पनि आसपासका खोलामा पुल वा कल्भर्ट नहुँदा हालसम्म उपयोगमा आउन नसकेको उनले बताए। उक्त पुल सञ्चालनमा आएको भए सल्यानको हात्तीढुंगा जोड्ने सडकमा यातायात सहज हुने उनको भनाइ छ।

बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको कालीमाटी–७ का करिब चार हजार स्थानीय राम्रो सडक अभावमा उत्पादित वस्तु बजारसम्म पुर्याउन नसकेको उनले बताए। वर्षायाममा विद्यार्थीहरू खोला–नदी तरेर विद्यालय जान बाध्य हुने अवस्था रहेको भन्दै तत्काल सडक निर्माण आवश्यक रहेको उनको भनाइ छ।
उनले भनसुनका आधारमा बबई नदीमा झोलुंगे पुल निर्माण भइरहेको र असारसम्म सम्पन्न भए विद्यार्थीलाई केही राहत पुग्ने बताए।
रिजालले सडकसँगै आफ्नो वडामा हालसम्म विद्युत् नपुगेको तथा मोबाइल नेटवर्कका लागि डाँडाकाँडा उक्लिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै घुइयाँबारीमा नेपाल टेलिकमको टावर स्थापना गर्न माग गरे।
'अहिलेसम्म हाम्रो वडा विद्युतीकरणबाट वञ्चित छ,' उनले भने, 'फोन गर्नसमेत राति डाँडाकाँडा चढ्नुपर्ने बाध्यता छ। यी समस्या अन्त्य हुनुपर्छ।'
धर्ना बस्नुअघि रिजालसहित चार जनाको टोलीले मुख्यमन्त्री यामलाल कडेल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढालाई भेटेर मागपत्र बुझाएको थियो। उनीहरूले एकैपटक ठूलो बजेट दिन नसके बहुवर्षीय योजनामा सडक स्तरोन्नतिको कार्यक्रम समावेश गर्न आग्रह गरेका थिए।
साथै, सडकका लागि बजेट छुट्याइनेबारे लिखित प्रतिबद्धता पनि माग गरिएको थियो। तर त्यो प्राप्त नभएपछि धर्ना बस्न बाध्य भएको रिजालको भनाइ छ।
मुख्यमन्त्री कँडेलले योजना बैंकमार्फत आएको योजना भएकाले सल्यान जिल्ला पूर्वाधार कार्यालयमार्फत प्राथमिकतामा राख्न आग्रह गरेको र भौतिक मन्त्री बुढाले माग जायज भए पनि बजेट बचत भए मात्रै केही रकम उपलब्ध गराउन सकिने आश्वासन दिएको बताइएको छ।
'फेरि पनि सुर्खेत–घुइयाँबारी सडक नबन्ने र वर्षामा जनताले दुःख पाउने निश्चित भएपछि माग पूरा नभएसम्म धर्नामा बस्ने निर्णय गरेका हौं,' रिजालले भने, 'जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि शान्तिपूर्ण धर्नाबारे जानकारी गराएका छौं।'