प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले हिजो प्रतिपक्षमा हुँदा मर्यादित लाग्ने गतिविधि आज सत्तामा हुँदा अमर्यादित हुन नसक्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै पर्चा देखाएकोको विषयलाई सभामुख अर्यालले अमर्यादित भनेको विषयमा सचेतक राईले प्रश्न गरेका हुन्।
उनले सभामुख अर्याललाई आफू प्रतिपक्षी बेन्चमा हुँदाको घटना स्मरण गराए।
'आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जबाफदेहिता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न - आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लाकार्ड कसरी अमर्यादित?,' उनले भने।
यद्यपि त्यतिबेला र अहिले पनि गलत र अमर्यादित भइरहेको भन्ने कांग्रेसको निष्कर्ष रहेको उनले बताए।
उनले प्रतिपक्षी दलहरूले सरकारलाई जबाफदेही र उत्तरदायी बनाउन खोजिरहेको बताए। 'यसमा सम्मानीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन,' उनले भने।
उनले सदनको मर्यादा सभामुखले राख्नुपर्ने बताए।
'यो सदनको अभिभावक तपाईं हो, सदनको गरिमामा एक इन्च तलमाथी हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ । हजुरले जवबसम्म रूलिङ गरेर ' म सँग दुई तिहाई छ, म सदन मान्दिन भन्दै' केही सय मिटर दुरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेही बनाउन र यहाँ उपस्थित गराउन सक्नुहुन्न - हिजो निलो स्कार्फ बाधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न । बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस्,' उनले भने।