प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको पछिल्लो १०० दिनको कार्यशैली समीक्षा गर्दै बालुवाटारभन्दा सिंहदरबारमा बसेर शासकीय जिम्मेवारीका काममा बढी ध्यान दिनु सकारात्मक भएको बताएका छन्।
विगतको राजनीतिक अभ्यास र हालको परिवर्तनलाई तुलना गर्दै सभापति थापाले प्रधानमन्त्रीको यो कार्यशैलीले प्रशंसा गर्नुका साथै यसले निरन्तरता पाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको १०० दिने कार्यकालको समीक्षा कार्यक्रममा सभापति थापाले विगतमा आफ्नै पार्टीको नेतृत्व वा आफ्नै पार्टी सामेल भएर बनेका सरकारहरू प्रधानमन्त्रीको मुख्य भूमिकाबाट चुकेको स्वीकार पनि गरेका छन्।
'योभन्दा अगाडि हाम्रै पार्टीका आदरणीय सभापति प्रधानमन्त्री हुँदा होस् वा हाम्रो समर्थनमा फरक राजनीतिक दलका प्रधानमन्त्री हुँदा होस्, उहाँहरूको ध्यान सिंहदरबारबाट निर्वाह गर्नुपर्ने भूमिकामा कम र बालुवाटारबाट गरिने राजनीतिक व्यवस्थापनमा बढी हुन्थ्यो,' थापाले भने, 'प्रधानमन्त्रीको काम देशको कार्यकारी प्रमुखभन्दा पनि दलको नेताका रूपमा बढी केन्द्रित हुने गरेको थियो। प्रधानमन्त्रीको धेरै समय गठबन्धन राजनीतिको व्यवस्थापन, भागबन्डाको व्यवस्थापन र पार्टीभित्रको आन्तरिक व्यवस्थापनमै बित्ने गरेको थियो। यो विषय हामीले निजी संवाद, पार्टी बैठक र संसदमा समेत निरन्तर उठाउँदै आएका थियौं।'
यस पटक प्रधानमन्त्री बालेन शाहको काम गर्ने तरिका भने फरक देखिएको उल्लेख गर्दै उनले भने, 'प्रधानमन्त्रीको काम गर्ने तरिका सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर गरिने शासकीय जिम्मेवारी नै प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ।'
यो हेर्दा सामान्य देखिए पनि निकै सकारात्मक कुरा भएको कांग्रेस सभापति थापाले बताएका छन्।
'यो कार्यशैलीले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने शुभेच्छा प्रकट गर्छु,' उनले भने।