अमेरिका र इरानबीच एक सातादेखि हानाहान भइरहेको छ।
अन्तिम सम्झौताका लागि वार्ता भाँडिएपछि अघिल्लो साताको बुधबार अमेरिकाले इरानमा मिसाइल खसालेको थियो।
त्यसयता लगातार दुई देशबीच आक्रमण प्रत्याक्रमण भइरहेको छ। अमेरिकाले ठूलो शक्तिले प्रहार गर्दा इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर मिसाइल र ड्रोन हानिरहेका छन्।
छैटौं दिनको आक्रमण बिहीबार त उसले पुल र विद्युत गृहहरूलाई पनि निशाना बनाएको भनेर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरान वार्तामा नआए त्यहाँका पुल र विद्युत गृह ध्वस्त पार्ने चेतावनी दिएका थिए।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले बिहीबार राति पनि दक्षिणी इरानमा आक्रमण गरिएको भनेको छ तर पुल र विद्युत केन्द्रहरूलाई लक्ष्य बनाइएको विषयमा भने बोलेको छैन।
इरानले कुवेत, बहराइन, जोर्डन र कतारस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको छ।
कुवेती सेनाले ३२ वटा इरानी ड्रोन खसालेको दाबी गरेको छ भने कतारले पनि आफ्नो वायुसेनाले मिसाइलहरू रोकेको जनाएको छ।
युद्धविरामताका हर्मुजमा जहाजहरूको आवागमन केही खुला भएपछि कच्चा तेलको मूल्य घटेको थियो।
अहिले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले हर्मुज बन्द भएको घोषणा गरेको छ। अमेरिकाले भने त्यहाँ जहाजहरुको सुरक्षित आवागमन सुनिश्चित गर्ने काम भइरहेको बताएको छ।
अमेरिकाले बरू इरानी बन्दरगाहमा नाकाबन्दी गरेको छ। नाकाबन्दी सुनिश्चित गर्न मध्यपूर्व क्षेत्रमा २० वटा युद्धपोत र एक सय बढी लडाकू विमान परिचालन गरिएको दाबी सेन्टकमको छ।
यस्तो अवस्थामा हर्मुजमा जहाजहरुको आवागमन कस्तो छ, पछिल्लो तनावले विश्वको तेल आपूर्तिमा कस्तो प्रभाव परिरहेको छ भन्ने आम मानिसलाई चासो छ।
ब्लुमबर्गका अनुसार अहिले हर्मुजबाट तेल बोकेर बाहिरिने जहाजहरूको संख्या घटेको छ। एक साताअघि करिब ९४ लाख ब्यारेल तेल बाहिरिएकोमा अहिले ५५ लाख ब्यारेल मा झरेको छ। यसमा इरानबाट हुने आपूर्ति पनि समावेश छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। अघिल्लो साताको तुलनामा कच्चा तेलको मूल्य झन्डै १२ प्रतिशतले बढेर ८५ डलर प्रतिब्यारोल पुगेको भनेर ब्लुमबर्गले लेखेको छ।
आगामी साता कच्चा तेलको भाउ अझै बढ्न सक्ने आकलन पनि छ।
जहाज ट्र्याकिङ तथ्यांकले पनि हर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूको संख्या उल्लेख्य रूपमा घटेको देखाउँछ। खुला रूपमा हर्मुज आसपास देखिएको जहाजहरू इरानसँग सम्बन्धित रहेको पनि बताइएको छ।
ती जहाजहरू तेहरानले अनुमति दिएको उत्तरी समुद्री मार्ग प्रयोग गरेर आवतजावत गरिरहेका छन्।
केही तेलवाहक जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली (एआईएस) नै बन्द गरेर पनि हर्मुज पार गरिरहेको प्रमाण भेटिएको ब्लुमबर्गले जनाएको छ।
साउदी अरब र इराकको कच्चा तेल बोकेका दुईवटा सुपरट्यांकर केही दिन ट्र्याकिङ प्रणालीबाट हराएपछि बुधबार राति ओमानको समुद्री क्षेत्रमा पुनः देखिएका थिए। यसले ती जहाजहरूले ट्र्याकिङ बन्द गरेर हर्मुज पार गरेको अनुमान गरिएको छ।
अर्कोतर्फ केही इरानी तेल ट्यांकरले भने अमेरिका फेरि इरानी जहाजमाथि नाकाबन्दीमा उत्रिएपछि आफ्नो गन्तव्य नै परिवर्तन गरेका छन्।
अमेरिका र इरानबीचको तनाव नसुल्झिएका कारण हर्मुजमा जहाजहरूको सुरक्षित आवागमन तत्काल सुनिश्चित हुने देखिँदैन। विश्वको २० प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यास पैठारी जलमार्गमा अवरोध हुँदा तेलको भाउ फेरि बढ्न सक्ने खतरा उत्पन्न भएको छ।
इरानले हर्मुजमा तेल बोकेका जहाजहरूबाट पैसा उठाउने भनेको थियो। त्यसको काउन्टरमा ट्रम्प आफैले पनि बरू अमेरिकाले त्यहाँबाट पैसा उठाउन सक्ने बताएका थिए। पछि उनले त्यो भनाइ फिर्ता लिएका थिए।
अमेरिका र इरानबीच विशेष गरी आणविक कार्यक्रम र इरानसँग भएको उच्च समृद्ध युरेनियको व्यवस्थापनलाई लिएर मतैक्य छैन। त्यसमै सहमति नहुँदा पटक पटक वार्ता भए पनि सम्झौता हुन सकेको छैन।
अहिलेको अवस्था सुल्झाउन पाकिस्तानी र कतारी मध्यस्थताकर्ताहरुले पहल गरिरहेका छन् तर पनि कुनै प्रगती हुन सकेको छैन।
अमेरिकाले इरानमा प्रहार गरेर तर्साउन खोजिरहेको छ तर त्यसले पनि इरान पछि हटिरहेको छैन।
इरानको सैन्य प्रवक्ता अमेरिकाले ऊर्जा पूर्वाधार र पुलमा हमला गरे त्यसको बलियो जबाफ दिने बताएका छन्।
पूर्वाधारमाथि आक्रमण गर्यो भने अहिलेसम्म बाँकी रहेका क्षेत्रीय सबै पूर्वाधार ध्वस्त पारिनेछ,' 'इरानको केन्द्रीय सैन्य कमाण्डका प्रवक्तालाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था आइआरएनएले ती प्रवक्तालाई उद्धृत गरेर भनेको छ।
उनले जबसम्म अमेरिकाले इरानले बनाएको कानुनी व्यवस्था स्वीकार्दैन, तबसम्म हर्मुज नखुल्ने बताएका छन्।
हर्मुज बन्द भएको घोषणा गरेको आइआरजिसीले रेड सीको ढुवानी मार्ग पनि बन्द गर्न भनेको रोयटर्सले जनाएको छ। यसका लागि उसले यमनबाट सञ्चालन गर्ने सशस्त्र समूह हुथीलाई निर्देशन दिएको रोयटर्सले जनाएको छ।
युद्ध चर्किए पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताको ढोका अझै बन्द नभएको बताएका छन्।
'शासन परिवर्तनका लागि हामी डेढ लाख सैनिक पठाउने छैनौं, जबसम्म इरानी जनताले आफैं त्यस्तो परिवर्तन चाहँदैनन्,' उनले एक अन्तर्वार्तामा भनेका छन्।