नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको विपद् व्यवस्थापन तथा उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै चार विषयमा आलोचना गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै दल नेता प्रचण्डले बाढीपछिको सर्वदलीय बैठकबाट सरकारप्रति आशा जागेको तर पछिल्लो काम हेर्दा त्यस्तो नदेखिएको बताएका हुन्।
प्रचण्डले उद्धार कार्यमा सरकार सफल नभएको जनगुनासो रहेको बताए।
सरकारले संकटको सुरुवाती चरणमा देखाएको सक्रियता पछिल्लो चरणमा कायम राख्न नसकेको उनको भनाइ छ।
‘सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सुनिएको छ। हामी कसैले पनि ढाँटेर, लुकाएर हुँदैन। जनपरिचालनको क्रममा र उद्धारमा सरकार असफल सिद्ध भयो,’ प्रचण्डले भने।
उनले विशेषगरी सुरुङमा भएको उद्धार कार्यमा सरकारले आवश्यक पहलकदमी लिन ढिलाइ गरेको बताए। तत्कालै लिनुपर्ने निर्णय दुई दिनसम्म नगरी आफैंले गर्न खोजेजस्तो देखिएको भन्दै उनले सरकारमा केही हदसम्म महत्त्वाकांक्षा र अहंकार देखिएको जनगुनासो रहेको बताए।
‘उद्धारमा तुरुन्तै लिनुपर्ने पहलकदमी लिइएन, ढिलो गरी लिइयो। बरु दुई दिनसम्म त हामी आफैं गर्छौं भनेजस्तो कतै न कतै अलि महत्त्वाकांक्षा र अहंकार प्रदर्शन भयो भन्ने कुरा जनताको तहबाट आएको छ,’ उनले भने।
प्रचण्डले सरकार सेना परिचालन गर्न सफल भए पनि जनपरिचालन गर्न चुकेको बताए।
विपद् सामना गर्न सेना मात्रै नभई सबै तहका सरकार, राजनीतिक दल र जनतालाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
‘सेना परिचालन भयो। जनपरिचालन भएन। जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ,’ उनले भने।
सेनाले उद्धार र राहतमा जोखिम मोलेर काम गरेको भन्दै उनले त्यसको प्रशंसा पनि गरे। तर विपद्को सामना गर्न राज्यका सबै संयन्त्र र जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले सरकारको अर्को कमजोरी संसद्लाई विश्वासमा लिन नसक्नु भएको बताए। प्रधानमन्त्री संसद्मा आएर ब्रिफिङ गरे पनि सबैलाई विश्वासमा लिने र अरूका अनुभव सुन्ने प्रयास नदेखिएको उनको टिप्पणी थियो।
‘संसद्लाई विश्वासमा लिने भनेको खाली प्रतिपक्षका सांसदलाई मात्रै होइन, आफ्नै दलका सांसदलाई विश्वासमा लिने मिहिनेत पनि गरेको मैले चाहिँ देख्दिनँ,’ उनले भने।
उनले प्रधानमन्त्री सबैको प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्रीले संसद् र राजनीतिक दलहरूसँग सहकार्य गर्नुपर्ने बताए। ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि!’ प्रचण्डले भने।
प्रचण्डले विदेशी विज्ञ तथा अन्तर्राष्ट्रिय सहयोगका प्रस्तावलाई पनि सरकारले पर्याप्त तत्परताका साथ अघि बढाउन नसकेको बताए। विपद् राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय प्रकृतिको घटना भएकाले अन्तर्राष्ट्रिय अनुभव र विज्ञताको समेत उपयोग गर्नुपर्ने उनको सुझाव थियो।
उनले जापान र न्युजिल्यान्डलगायतका देशले विपद् व्यवस्थापनमा अपनाएका अभ्यासबाट सिक्नुपर्ने बताए। जापानमा केन्द्रदेखि स्थानीय तहसम्म सरकार, विज्ञ र अन्य सरोकारवालालाई समेटेर स्थायी संयन्त्र बनाइएको र संकटका बेला त्यही संयन्त्रमार्फत व्यापक परिचालन हुने गरेको उनले उदाहरण दिए।
प्रचण्डले प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै संकट समाधान नहुने पनि बताए। अहिले जनताले लामो भाषण वा आश्वासनभन्दा संकटमा राज्य र दुःखमा सरकारको उपस्थिति खोजिरहेको उनको भनाइ थियो।
‘पीडित नागरिकले पोस्ट होइन—सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो, यो संकट समाधान हुँदैन,’ उनले भने, ‘आज नेपाललाई चाहिएको कुरा संकटमा राज्य देखियोस्, दुःखमा सरकार देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्।’
प्रचण्डले सरकारलाई अझै आफ्नो औचित्य पुष्टि गर्ने अवसर रहेको भन्दै चार सुझावसमेत दिएका छन्। उनले सरकारलाई अहिलेको अवसर गुम्न नदिन, भएका गल्तीबाट पाठ सिक्न, राहत तथा पुनर्निर्माणमा गम्भीर बन्न र सबैको विश्वास जितेर अघि बढ्न आग्रह गरे।
‘सरकारको लागि एउटा राम्रो आफ्नो औचित्य सिद्ध गर्ने, यो राष्ट्रको एकता, समन्वय, सहकार्यका निम्ति नेतृत्व गर्ने अवसर प्राप्त छ अझै पनि सरकारलाई। यो अवसर गुम्न नपाओस्,’ उनले भने।
उनले सुरुङ उद्धारमा भएको ढिलाइबाट गम्भीर शिक्षा लिनुपर्ने बताए। ‘अन्तिममा हात उठाउनुपर्ने—हामीले सकेनौँ भन्नुपर्ने ठाउँमा हाम्रो सुरक्षा निकाय पुग्नुपर्ने अवस्था जो बन्न गएको छ, यो गम्भीर शिक्षा यसबाट लिन जरुरी छ,’ उनले भने।
प्रचण्डले २०७२ सालको भूकम्पपछि आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग प्रतिपक्षी दलका नेताका रूपमा सहकार्य गरेको प्रसंगसमेत स्मरण गरे। राष्ट्रिय संकटका बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
उनले अहिले पनि सर्वदलीय बैठकमा आफूहरूले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए।
‘उहाँलाई यत्रो ठूलो अवसर प्राप्त छ, यो अवसर गुम्न दिन हुँदैन,’ प्रचण्डले भने, ‘उहाँले गम्भीर भएर सबैको विश्वास जित्न खोज्नुभएन भने समयले नपर्खिन सक्छ उहाँलाई पनि।’