प्रतिपक्षी दल नेकपा (एमाले)ले मुलुकले बर्सेनि विपद भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिने भन्दै त्यसका लागि सात वटा प्रस्ताव गरेको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उक्त प्रस्ताव राखेका हुन्।
'प्रत्येक वर्ष बाढी पहिरोको विनाशलिला भोग्नै पर्ने हाम्रो नियती जस्तै भएको छ। प्रत्येक वर्ष बिपत्तीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो परम्परा जस्तै भएको छ।यो नियती र परम्परालाई गर्न सक्दैनौं? त्यसलाई बदल्न दृढ संकल्प गरौं,' उनले भने।
बादलले राखेको पहिलो प्रस्तावमा प्रधानमन्त्री बालेन शाहले आफ्नो शासन शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
'प्रधानमन्त्रीले आफ्नो एकांगी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्छ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ। र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ,' उनले भने।
यस्ता छन् एमालेका प्रस्तावहरू—
१. प्रधानमन्त्रीले आफ्नो एकांगी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्छ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ। र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
२. राष्ट्रिय सहमतिबाट नै विद्यमान संकटको सामना गर्न सकिन्छ। त्यसैले सरकारले राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरुको सर्वपक्षीय संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्छ। सामूहिक र संगठित प्रयासले मात्रै हामीले यो संकटको सामना गर्न सक्दछौं।
३. सभामुखज्यूले सरकारलाई सचेत तथा सहयोग गर्न विशेष संसदीय समिति गठन गर्नुपर्छ।
४. अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल स्पेसल टास्क फोर्स गठन गर्नुपर्छ।
५. सरकारले युद्धस्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्क फोर्स गठन गर्नुपर्दछ।
६. सरकारले पुनर्निर्माणका लागि अर्थ मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ।
७. जलवायु परिवर्तनबाट उत्पन्न परिस्थितिको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा आवश्यक रणनीति तय गर्न सगरमाथा संवादको दोस्रो संस्करणलाई सरकारले अगाडि बढाउन आवश्यक छ।