विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढी तथा बाढीका कारण मुलुकले अपूरणीय मानवीय र भौतिक क्षति व्यहोरेको भन्दै राष्ट्रिय संकट घोषणा गर्न माग गरेका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले मृतकको संख्या केवल तथ्याङ्क मात्र नभएर ती हजारौं परिवारका सपना र सहारा भएको बताएका हुन्।
सांसद राईले उद्धार कार्यमा सरकारको समन्वय फितलो भएको भन्दै आलोचना गरे।
उद्धार स्थलमा राजनीतिक प्रदर्शन भन्दा प्राविधिक दक्षता र मानवीय संवेदनशीलता आवश्यक रहेकोमा उनले जोड दिए।
घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचारको माग गर्दै उनले बेपत्ताको खोजीलाई तिब्रता दिन आग्रह गरे।
साथै, क्षतविक्षत अवस्थामा फेला परेका शवहरूको पहिचानका लागि आधुनिक प्रविधि र डीएनए परीक्षणको व्यवस्था गर्न तथा आवश्यक परे विदेशबाट दक्ष जनशक्ति ल्याउन समेत सरकारसँग माग गरे।
सांसद राईले यस विपत्तिलाई जलवायु परिवर्तनको असरको रूपमा व्याख्या गर्दै नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गरे।
अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई बलियोसँग उठाउनुपर्ने भन्दै उनले हानि तथा क्षति कोष’बाट आर्थिक र प्राविधिक सहयोग जुटाउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए।
उनले राहत वितरणको एकद्वार प्रणालीको नामम सामग्री थुपरेर राखिएको भन्दै त्यसमा आपत्ति प्रकट गरे।
'यो राहत रोक्ने होइन, ढोका खोल्ने बेला हो । जसलाई राहत चाहिएको छ, उसको हातसम्म पुग्ने व्यवस्था गरियोस् । हामी कति हजार श्रमदाता चाहिन्छ, उपलब्ध गराउन तयार छौं । सरकारले नेतृत्व लियोस्,' उनले भने।
संकटको यस घडीमा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ रहने स्पष्ट पार्दै उहाँले राज्यलाई कमजोर बनाउने पक्षमा आफूहरू नरहेको बताए। भविष्यमा हुनसक्ने यस्ता जोखिम न्युकिरणका लागि पूर्व सूचना प्रणालीको विस्तार र प्रकृतिमैत्री विकासको मोडेल अपनाउनु पर्नेमा समेत उनले सदनको ध्यानाकर्षण गराए। –न्युज एजेन्सी नेपाल