धवल शम्शेर राणा सभापति रहेको जय नेपाल पार्टीले ६ लाख ५१ हजार ६ सय ७६ रूपैयाँ सहयोग गरेको छ।
भोटेकोशी, त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज उक्त रकम जम्मा गरिएको पार्टीले जनाएको छ।
साथै निर्वाचन आयोगमा दर्ता कायम रहेको राजनीतिक दल राष्ट्रिय एकता मञ्च आज जय नेपाल पार्टीमा विधिवत समायोजन भएको छ। जय नेपाल पार्टीका सभापति राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्र लाल जोशी लगायत पदाधिकारीहरूलाई स्वागत गरेका थिए।
साथै, केन्द्रीय सदस्य तथा सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीको अध्यक्षता र सभापति राणाको प्रमुख आथित्यमा आज सम्पन्न केन्द्रीय विभाग तथा समितिका संयोजकहरूको बैठकले आगामी १५ दिनभित्र विभाग तथा समितिलाई पूर्णता दिने र २५ दिनभित्र कार्ययोजना पेस गर्ने निर्णय गरेको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए।