भदौ १० गते लाङटाङमा विशाल हिम–चट्टानी पहाड भत्किएर विनाशकारी बाढी आएको एक साता बित्दा पनि त्यस क्षेत्रको खतरा पूरै टरेको छैन।
हिमाली जोखिममा काम गर्ने वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जाल 'हाइरिस्क' ले भदौ १० (अगस्ट २६) को पहिरोले स्रोत क्षेत्रमा रहेका सबै अस्थिर हिमनदी र त्यसमुनिको चट्टानी पहाड बगाएर नलगेको जनाएको छ।
हाइरिस्कले आफ्नो 'द्रुत जोखिम मूल्यांकन' मा हिमनदी आसपास अझै अस्थिर हुन सक्ने चट्टान र हिउँको ठूलो भाग बाँकी रहेको उल्लेख गरेको छ।
अर्थात्, भदौ १० गते खसेको पहिरोले त्यस क्षेत्रको सम्भावित अस्थिर हिम-चट्टानी पहाडलाई पूर्ण रूपमा भत्काएर लगेको छैन।
त्यसैले आगामी दिनमा थप हिम–चट्टानी पहाड खस्न सक्ने वा त्यससँग जोडिएका अर्को घटना हुन सक्ने हाइरिस्कको चेतावनी छ।
ती घटना भदौ १० कै जस्तो विशाल नहुन सक्छन्, तर त्यसले फेरि तलको नदी तथा खोँचमा नयाँ जोखिम सिर्जना गर्न सक्छ।
हाइरिस्कले अर्को महत्त्वपूर्ण खतरा पनि औंल्याएको छ।
भदौ १० को विशाल र तीव्र बहावले तलतिरका धेरै भिरालो पहाडी पाखा काटेर अस्थिर बनाएको छ। खोँच र नदी क्षेत्रमा ठूलो मात्रामा खुकुलो माटो, ढुंगा र गेग्रान थुप्रिएका छन्।
ठूलो वर्षा भयो वा माथिल्लो क्षेत्रका हिमताल तीव्र रूपमा बढ्यो वा अचानक निकास भयो भने ती पदार्थ फेरि बग्न सक्छन्।
त्यसैले आगामी दिनमा त्यस क्षेत्रमा अचानक बाढी आउँदा त्यो केही दिन मात्र होइन, केही महिना वा वर्षसम्म पनि सामान्यभन्दा बढी रहन सक्ने हाइरिस्कले चेतावनी दिएको छ।
हाइरिस्क कुनै सरकारी संस्था होइन।
यो उच्च हिमाली क्षेत्रको जोखिममा काम गर्ने एसिया र बाहिरका विज्ञहरूको सञ्जाल हो। भारतको आइआइटी रूड्की, युनिभर्सिटी अफ सेन्ट्रल एसिया र चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थान लगायतका संस्थासँग जोडिएका विज्ञ यसको सञ्जालमा छन्।
यसले उच्च हिमाली क्षेत्रमा जोखिमसम्बन्धी तथ्यांक, द्रुत जोखिम मूल्यांकन, प्राविधिक सामग्री र खुला तथ्यांक तयार गर्छ।
हाइरिस्कको यो चेतावनीसँगै चीनले गरेको पछिल्लो निगरानीले पनि पहिलो हिम-चट्टान खसेको ठाउँमा खतरा बाँकी रहेको देखाएको छ।
चीनको जलस्रोत मन्त्रालयले मंगलबार (सेप्टेम्बर १) बिहान ड्रोनबाट लिइएको तस्बिर विश्लेषण गर्दा नेपालतर्फको मूल प्रभाव क्षेत्र आसपासका हिम-चट्टान अझै खस्न सक्ने अवस्थामा रहेको र गम्भीर जोखिम बाँकी रहेको जनाएको छ।
त्यस्तै, सेप्टेम्बर १ दिउँसोको भूउपग्रह तस्बिरमा तल्लो नदीका दुवै किनारमा साना पहिरो देखिएको पनि चीनले जनाएको छ।
ती पहिरो नदीमा खसे भने फेरि नदी थुनिएर ताल बन्न सक्ने खतरा छ भन्ने चिनियाँ जलस्रोत मन्त्रालयको निष्कर्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
चिनियाँ मन्त्रालयले जोखिमको अर्को एउटा पाटो भने घटेको सकारात्मक सूचना पनि दिएको छ।
मन्त्रालयका अनुसार त्यस क्षेत्रको मुख्य खाडलमा जम्मा भएको पानी लगभग निस्किसकेको छ र तलको नदी अहिले सामान्य रूपमा बगिरहेको चिनियाँ जलस्रोत मन्त्रालयले उल्लेख गरेको छ।
यसबीच चीनतर्फ बनेको मुख्य तालको पानी भने पूर्ण रूपमा निकास भइसकेको र त्यसबाट तत्काल ठूलो बाढी आउने जोखिम नियन्त्रणमा आएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
बुधबारसम्मका पछिल्ला विवरणले पनि उक्त तालबाट तत्काल बाढीको जोखिम घटेको देखाउँछन्।
तर अस्थिर पहाडी पाखा र नयाँ पहिरोको जोखिम बाँकी छ। अहिलेको मुख्य चासो र चिन्ताको विषय यही हो।
यो चेतावनीको अर्थ भदौ १० गतेको जत्रो बाढी फेरि तुरून्त आउँदैछ भन्ने होइन।
त्यस्तो कुनै स्पष्ट प्रमाण अहिले छैन।
चेतावनीको अर्थ यति हो — भदौ १० मा हिम-चट्टान खसेको पहाडी पाखा र खोँच भदौ १० अघिको जस्तो स्थिर अवस्थामा फर्किसकेको छैन।
किन गम्भीर छन् यी चेतावनी?
हाइरिस्कको निष्कर्ष कुनै एक वैज्ञानिकको टिप्पणी मात्र होइन।
यो आठ जना अनुसन्धानकर्ताले संयुक्त रूपमा गरेको विश्लेषण हो।
उनीहरूले तयार पारेको 'लाङटाङ–ल्हेन्दे खोला विपत्तिको द्रुत जोखिम मूल्यांकन' अगस्ट २८ मा सार्वजनिक गरिएको थियो।
उनीहरू यो विषयमा काम गर्ने महत्त्वपूर्ण विज्ञहरू हुन्। यो समूहमा क्यू लिउ, ए. खत्री, ए. लर्ड, एम. घौली, एन. थापा, याकोब स्टाइनर, वाल्टर इमर्जिल र साइमन एलेन सामेल छन्।
उनीहरूले ल्यान्डस्याट–९ र प्लानेट भूउपग्रहका तस्बिर, हिम-चट्टान खसेको क्षेत्रका तस्बिर तथा नेपाल सरकारका प्राविधिक र वर्तमान वस्तुस्थिति सम्बन्धी प्रतिवेदन लगायत उपलब्ध तथ्यहरू अध्ययन गरेर यो चेतावनी जारी गरेका हुन्।
टोली सदस्य वाल्टर इमर्जिल नेदरल्यान्ड्सको उट्रेच विश्वविद्यालयमा पर्वतीय जलविज्ञानका प्राध्यापक हुन्।
उनी सन् २००२ देखि हिमाली क्षेत्रको जलविज्ञानमा अनुसन्धान गर्दै आएका छन्। भूउपग्रहबाट गरिने अध्ययन, जलवायु परिवर्तन र हिमाली जलविज्ञान उनका मुख्य विज्ञता क्षेत्र हुन्। उनले नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा पनि दुई वर्ष काम गरेका थिए।
साइमन एलेन स्विट्जरल्यान्डको ज्युरिक विश्वविद्यालयका भूगर्भ वैज्ञानिक हुन्। उनको अनुसन्धान जलवायु परिवर्तन, प्राकृतिक विपद, पर्वतीय जोखिम र विपद जोखिम न्यूनीकरणमा केन्द्रित छ।
याकोब स्टाइनर पर्वतीय जलविज्ञानका अनुसन्धानकर्ता हुन्। उनले लाङटाङ जलाधारमै वर्षौंको जलविज्ञान तथा हिमाली जलचक्र सम्बन्धी अनुसन्धान गरेका छन्।
तर उनीहरूको यो प्रतिवेदन सम्बन्धित विशेषज्ञहरूको समीक्षापछि वैज्ञानिक जर्नलमा प्रकाशित भएको अन्तिम अध्ययन होइन।
हाइरिस्क स्वयंले यस्ता प्रतिवेदनलाई घटनालगत्तै सम्बन्धित क्षेत्रीय विज्ञले छिटो तयार गर्ने 'द्रुत जोखिम मूल्यांकन' का रूपमा परिभाषित गरेको छ।
त्यसैले यसको निष्कर्षलाई अन्तिम वैज्ञानिक सत्यका रूपमा होइन, उपलब्ध पछिल्ला तथ्यका आधारमा गरिएको तत्कालीन प्राविधिक मूल्यांकनका रूपमा बुझ्नुपर्छ।
यति हुँदाहुँदै अहिले बाँकी खतरा के हो भन्ने बुझ्न यसले हामीलाई ठूलो सहयोग गर्छ।
चीनको चेतावनीलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ। किनभने, यो पुरानो तस्बिर हेरेर गरिएको सामान्य टिप्पणी होइन। चीनको जलस्रोत मन्त्रालयले सेप्टेम्बर १ कै नयाँ ड्रोन र भूउपग्रह तस्बिर हेरेर जोखिम मूल्यांकन गरेको हो।
मन्त्रालयले प्रभावित क्षेत्रमा ११ सदस्यीय जलविज्ञान सम्बन्धी आपतकालीन निगरानी टोलीलाई चार समूहमा परिचालन गरेको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ती समूहले विभिन्न खोलामा पानीको सतह र बहाव नापिरहेका छन्। ड्रोनबाट पानीको गति मापन गरिरहेका छन्। नदीको भू–आकृति अध्ययन गरिरहेका छन् र केही ठाउँमा भिडिओ निगरानी उपकरणसमेत जडान गरेको जनाएका छन्।
चीनले भदौ ११ देखि नै त्यस क्षेत्रमा बनेका ताल, नदीको बहाव, हिमनदी र सम्भावित दोस्रो विपत्तिको जोखिमलाई निरन्तर निगरानी गर्न आफ्ना जलविज्ञान टोली परिचालन गरेको थियो।
यसरी हाइरिस्कको द्रुत वैज्ञानिक मूल्यांकन र चीनको ताजा सरकारी निगरानी दुवैले लाङटाङको पहाडबाट उत्पन्न हुने खतरा सकिएको छैन भन्ने देखाएका छन्।
भदौ १० पछि बदलिएको भूगोल
किन जोखिम अझै बाँकी छ भन्ने बुझ्न भदौ १० को घटनाले त्यस भू-भागमा के परिवर्तन गर्यो भन्ने पनि बुझ्न जरूरी छ।
हाइरिस्कको प्रारम्भिक पुनर्निर्माण अनुसार करिब १ देखि १.३ किलोमिटर चौडा क्षेत्रमा हिमनदी र त्यसमुनिको आधार चट्टान भत्किएको थियो। यसअघि सेतोपाटीका स्टोरीमा विभिन्न वैज्ञानिक अध्ययन र अनुसन्धानलाई उद्धृत गर्दै पडाहको ६०० मिटरदेखि १ किलोमिटरसम्म भत्किएको लेखेका थियौं।
आधार चट्टान कति गहिरोसम्म भत्किएको थियो भन्ने अझै थाहा छैन। तर हाइरिस्कले त्यो गहिराइ उल्लेखनीय रहेको संकेत गरेको छ।
हिम–चट्टानको त्यो विशाल पिण्ड करिब ५,२०० मिटर उचाइबाट तल झर्यो। हाइरिस्कका अनुसार बाटोमा थप पदार्थ सोहोर्दै त्यो ३,००० मिटरभन्दा तलको उपत्यकाको पिँधसम्म पुग्यो।
त्यहाँ त्यो पिण्ड सन् २०२५ को पुरेपु हिमताल विस्फोटपछि आएको बाढीले थुपारेका ढुंगा, माटो लगायतका अवशेषहरू भएको क्षेत्रमा पुग्यो। हाइरिस्कको प्रारम्भिक पुनर्निर्माण अनुसार त्यसपछि ल्हेन्दे खोला केही समयका लागि थुनियो। त्यो सम्भवतः केही मिनेट मात्रै हुन सक्छ।
ल्हेन्दे खोलाको त्यो अस्थायी अवरोध भत्किएपछि चीन र नेपालका ठूलो तल्लो भूभागलाई प्रभावित गर्ने बाढी आएको उसको प्रारम्भिक निष्कर्ष छ।
अर्थात्, भदौ १० को विपत्तिले एउटा अस्थिर पहाडी भाग बगाएर मात्र छाडेन। त्यसले नदीको पिँध र खोँच परिवर्तन गर्यो। तल्लो भेगका धेरै भिरालो पाखा काटेर अस्थिर बनायो। ठूलो मात्रामा खुकुलो गेग्रान र अन्य सामग्रीहरू छाडेर गयो।
अहिले वैज्ञानिकहरूको चिन्ता त्यही बदलिएको भूगोलसँग जोडिएको छ।
माथिबाट अर्को हिम–चट्टानी भाग खस्यो भने त्यसले नयाँ समस्या सिर्जना गर्न सक्छ। नदी किनारको अर्को पहिरोले खोला थुनेर नयाँ ताल बनाउन सक्छ।
ठूलो वर्षाले अहिले थुप्रिएको खुकुलो माटो, ढुंगा र गेग्रान फेरि बगाउन सक्छ।
हाइरिस्कले विशेष गरी भारी वर्षा र माथिल्लो भेगका हिमतालको तीव्र विस्तार तथा निकासलाई आगामी जोखिमका रूपमा औंल्याएको छ।
त्यसैले त्यहाँ चलिरहेका खोजी तथा उद्धार, सडक पुनर्निर्माण, जलविद्युत आयोजनाका काम र नदी आसपासको आवतजावतमा अहिले देखिएका यी जोखिमलाई ध्यानमा राखेर थप सावधानी अपनाउनुपर्ने देखिन्छ।
***