नेपालले पहिलोपटक सगरमाथाको उचाइ आफैं नाप्दैछ। त्यसको लागि नापी विभागका दुईजना अधिकारी शिखरमा पुगेर आवश्यक तथ्यांक संकलन गरी शुक्रबार काठमाडौं फर्किएका छन्।
सगरमाथाको उचाइ नाप्न खर्च कति लाग्छ भन्ने जिज्ञासामा नापी विभागका प्रवक्ता दामोदर ढकालले सेतोपाटीसँग भने, ‘करिब १७ करोड खर्च हुने देखियो। तर यो हामीले अनुमानित गरेको भन्दा थोरै खर्च हो।’
नापी विभागले सगरमाथाको उचाइ नाप्न २५ करोड खर्च हुने अनुमान गरेको थियो। तर केही उपकरणहरु अन्तर्राष्ट्रिय स्तरबाट सहयोग आएकोले खर्चको रकम कम भएको ढकालले बताए।
सगरमाथाको उचाइ नाप्न प्रयोग भएका उपकरणमध्ये सबैभन्दा महंगो ‘ग्राभिमिटर’ हो। यसको साढे दुई करोड रूपैयाँ पर्छ। ढकालले भने, ‘हामीलाई नेशनल जियोग्राफिक सोसाइटीले तीन वटा यस्तो उपकरण सहयोग गरेको छ।’
उचाइलाई गुरूत्वाकर्षणले पनि फरक पार्छ। त्यसैले ग्राभिमिटरले सगरमाथा क्षेत्रमा राखिएको २८५ विन्दुको गुरुत्वाकर्षण तथ्यांक निकाल्छ।
यस्तै विभागले ९ वटा जीएनएसएस सिरिभर उपकरण खरिद गरेको छ। यो उपकरण एउटाकै ५० लाख पर्छ। विभाग एउटा जीएनएसएस उपकरण भने अमेरिकाको ट्रिम्बल कम्पनीले सहयोग गरेको छ।
जीएनएसएस सर्भे गर्नलाई सगरमाथा क्षेत्रको २८५ विन्दुमा रिसिभर यन्त्र राखिएको छ। जसले स्याटलाइट तथ्यांकका आधारमा उक्त विन्दुको अक्षांश, देशान्तर र उचाइ पत्ता लगाउँछ।
‘धेरै मूल्य पर्ने उपकरण यही दुई वटा हो,’ ढकालले सेतोपाटीसँग भने, ‘जीपीआर, लेबल मेसिन, थियोलाइडर जस्ता उपकरणमा पनि खर्च भएको छ।’
अहिलेसम्म सगरमाथाको उचाइ नाप्ने काममा १२ करोड खर्च भइसकेको छ। बाँकी खर्च आगामी आर्थिक वर्षमा गरिने ढकालले बताए।
ठ्याक्कै खर्च कति लाग्ने अहिले नै यकिन गर्न नसक्ने भन्दै ढकाले भने, ‘अझैं धेरै काम बाँकी छ। खर्च केही तलमाथि हुनसक्छ।’
सगरमाथाको उचाइ प्रकाशित हुन ६ महिना लाग्नेछ। ढकालले भने, ‘आउने मंसिर अथवा पुषभित्र उचाइ प्रकाशित गर्ने तयारीमा छौं।’
यो पनि,