तिमी अहिले
जीवनको अभिन्न
मोडमा उभिएको छौ
जहाँ नतिजा हातमा छ
तर मनमा प्रश्नहरूको भीड छ।
र तिमी...
सायद अलिक गुम्सिएको छौ
हर्षसँगै थोरै हिचकिचाहट पनि
एक चोटि म पनि त्यही ठाउँमा थिएँ
जहाँ म आफैँलाई सोधिरहेथेँ
‘के म साँच्चै केही गर्न सक्छु त?’
एसइईको नतिजाले मलाई बताएको थिएन
म सञ्चारकर्मी बन्ने थिएँ कि
मानिसहरूका जीवनका कथाहरू बटुल्दै
देशका दूर-दराजसम्म पुग्ने मानिस
तिमीले पनि बुझ्नुपर्छ
अंकले मात्र मान्छे नापिँदैन
र साँचो सपना भन्नु
अंकभन्दा धेरै परको कुरा हो।
तिमीलाई लेख्न मन लाग्छ भने लेख
चित्र बनाउन मन छ भने बनाऊ
संगीतमा रमाउन मन छ भने स्वर सम्हाल
रङ्गमञ्च वा नृत्यमा मन छ भने कला प्रस्तुत गर
विज्ञानको अन्वेषणमा रमाउँछौ भने हिँड त्यसैको पछि
नयाँ प्रविधिको आविष्कार गर्न मन छ भने अघि बढ
संस्कृति–परम्परा बचाउन मन छ भने त्यसमा हात हाल
खेलकुदमा मन छ भने मैदानमा निस्क
जहाँ तिमी समयलाई भुल्छौ
त्यो नै तिम्रो सही पथ हो।
यदि यो साल तिमी सफल भयौ भने
शुभकामना
तर भएनौ भने पनि
शिर नझुकाऊ
हजारौँ जीवनका रेखाहरू
पहिलो नतिजामा होइन
दोस्रो हिम्मतमा कोरिन्छन्।
र एउटा कुरा सम्झ
अझै धेरै समय छ तिमीसँग
तिमी फेरि पनि सुरु गर्न सक्छौ
र फेरि पनि उठ्न सक्छौ
आफूलाई बुझ्दै
आफ्नो जीवन आफैँ बनाउन सिक्नु नै
सबैभन्दा ठुलो सफलता हो।
हिम्मत गर
एक चोटि आफैँलाई सोध
‘म कुन बाटोमा रमाउँछु?’
र जब जवाफ पाउँछौ
त्यही बाटो समाऊ
अरूजस्तो होइन
आफ्नैजस्तो जीवन जिऊ।